जापानमा नेपालीको नाममा रहेको डुंगामा अपरिचित व्यक्तिको शव

जापानमा नेपालीको नाममा रहेको डुंगामा अपरिचित व्यक्तिको शव


■ श्याम क्षेत्री, (चिबा) जापा

जापानको चिबामा नेपालीको नाममा दर्ता भएको एक बोट (डुंगा)मा पहिचान खुल्न नसकेका व्यक्तिको शव भेटिएको छ ।

करिव दुई वर्षदेखि सञ्चालनमा नरहेको उक्त डुंगा समुन्द्र किनारमा राखिएको अवस्थामा खानतलासी गर्दा शव भेटिएको जापानी समाचार संस्था टिबिएस टेलिभिजनलाई उद्धृत गर्दै याहु न्युजले उल्लेख गरेको छ ।

डुंगाको पछिल्लो भागको भित्री बक्समा प्लास्टिक टाटले बेरेको अवस्थामा लिंग समेत पहिचान हुन नसक्ने र सडेको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ ।

प्रहरीले धेरै अघिदेखि उक्त डुंगाबारे सोधखोज गरे पनि भर्खर मात्र नेपाली पुरुषले भाडामा लिएर सञ्चालन गरेको पत्ता लगाएको थियो ।

डुंगा नेपालीको नाममा दर्ता रहेको भएपनि ती नेपालीको जापान बस्ने भिषा अवधि सकिएपछि पनि अवैध रुपमा जापान बसेको कारण गत महिना मात्र उनलाई अध्यागमन अधिकारीहरुले नियन्त्रणमा लिएको खुलेको छ ।

अध्यागमन कार्यालयको नियन्त्रणमा रहेका नेपालीको परिचय बारे समाचारमा केही खुलाइएको छैन ।

अध्यागमन अधिकारीहरुको नियन्त्रणमा रहेका नेपालीसँग डुंगा र शवबारे जानकारी लिएर अनुसन्धानको काम अघि बढाएको प्रहरीले बताएको छ ।

घटना जापानको चिबाकेनको च्योसी शहरस्थित च्योसी मारिनामा भएको हो ।