दौडिएर नै नेपाल चिनाउने दीनानाथ

दौडिएर नै नेपाल चिनाउने दीनानाथ


■ रमेश बस्ताकोटी

कुनै नेपाली विदेश गएर उतै सेटल भयो भने हामी सोच्छौँ उ आफ्नो जिन्दगी सुधार्न र धन कमाउनमा नै तल्लीन हुन्छ । तर, सबै त्यस्ता हुँदैनन् । केही यस्ता अपवाद हुन्छन् जो विदेशी भूमिमा बसेर पनि आफ्नो देशलाई कुनै न कुनै तवरले चिनाउनका लागि मरिमेट्छन् ।

तिनै अपवादमध्येका एक हुन् गोर्खाका दीनानाथ बगाले, जो अहिले हङकङ बस्छन् र आफ्नो देशलाई चिनाउन लागिरहेका छन्, त्यो पनि दौडमार्फत् ।

गोर्खाको उत्तरी भेग साविकको मसेल गाविस हालको भिमसेन गाँउपालिका वडा नम्बर १ मा पर्ने खागिथोकमा २०३६ सालमा जन्मिएका हुन् दीनानाथ बगाले । उनी अहिले नेपालको झन्डा बोकेर विदेशी भूमिमा दैडिरहेका भेटिन्छन् । दौडिनका लागि उनी कहिले जापान पुग्छन्, कहिले चीन त कहिले हङकङकै विभिन्न ठाउँमा पुगिरहेका हुन्छन् । युरोपका फ्रान्स, इटली र स्विजरल्याण्ड जस्ता देशमा पुगेर पनि उनले दौडमार्फत नेपाल चिनाइरहेका छन् । पछिल्लो पटक फ्रान्समा दौडिएका थिए, यसपछि हङकङमा हुने प्रतियोगितामा सहभागी हुँदैछन् भने सन् २०२० को मार्चमा चीनमा हुने प्रतियोगितामा सहभागी हुने निश्चित भएको बगालेले बताए ।

दीनानाथ २००४ मा हङकङ पुगेका थिए । हङकङ पुगेपछि नै उनी नेपालको प्रतिनिधित्व गर्दै निरन्तर दौडिरहेका छन् । नेपालमा हुँदा उनी ट्रेकिङ कम्पनीमा टुर गाइड थिए । टुर गाइड हुँदा नै उनी प्रायः नेपाली हिमश्रृंखला र डाँडाकाँडाहरुमा पुगिसकेका थिए । त्यसैले हिमश्रृंखला र डाँडाकाँडामा दौडनु उनका लागि नौलो थिएन । प्रायः घुम्न र नयाँ काम गर्न रुचाउने दिनानाथ हङकङ पुगेपछि के गर्ने भन्ने योजना बनाउँदै गर्दा उनैले काम गर्ने कम्पनीले अक्स्फाम रेसको आयोजना गऱ्यो, उनले यसमा सहभागी हुने निधो गरे ।

दीनानाथ भन्छन्, ‘आफ्नो अनुभव, विभिन्न ब्यक्तिहरुको हौसला र आफ्नो दृढ विश्वासकै कारण सहभागी भएँ ।’ पहिलोपटक सहभागी रेशमा कुशलतापूर्वक १०० किलोमिटर दौडिसकेपछि उनलाई आफ्नो क्षमतामाथि विश्वास लाग्न थाल्यो ।

लगभग १०० भन्दा बढि ट्रेल रेसमा सहभागी भइसकेका दीनानाथ हरेक रेसमा नेपालको झन्डा बोकेर दौडन्छन् । उनी भन्छन्, ‘संसारमा नेपाली भनेर आफ्नो परिचय दिँदा गौरव महशुस हुन्छ । दौडमा प्रायः नेपालीहरु भेट्टिनुहुन्न, विदेशीहरुले हाम्रो देशको बारेमा जिज्ञासा राख्नुहुन्छ र म पनि गर्वका साथ हाम्रो सगरमाथा, बुद्ध अनि प्राकृतिक मनोरमता र सांस्कृतिक विविधताको बारेमा खुलेर जानकारी दिन्छु।’

दीनानाथले भाग लिने प्रतियोगितालाई ट्रेल रेस भनिन्छ । जुन डाँडापाखा, हिमाली भेगहरुमा आयोजना हुने गर्छ । दिनानाथ सन् २०१७, १८ र २०१९ मा चाइनाको मेली माउन्टेनमासय किलोमिटरको दौड, जापानको फुजी माउन्टेनमा १६८ किलोमिटरको दौड, खम्मीङ कन्ट्रिपार्क चाइनामा ११० किलोमिटरको दौड लगायतमा सहभागी भइसकेका छन् । हरेक दौडमा दोश्रो, तेश्रो पोजिसनसँगै उनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

पछिल्लो समय फ्रान्समा आयोजित विश्वकै सवैभन्दा ठुलो अल्ट्रा रेस (युटिएमबी) अल्ट्रा ट्रेल माउन्टेन ब्लाङ्गमा सहभागी भएका थिए उनी । उनले १७१ किलोमिटर लामो रेस ३६ घण्टा १० मिनेटमा पुरा गरे । दीनानाथ भन्छन्- ‘यो साहसिक रेस हो, यसमा धैर्य चाहिन्छ, आत्मविश्वाश चाहिन्छ । ट्रेल रनर हुन पाउँदा म आफू निकै खुशी छु ।’

वर्षमा ३ देखि ५ वटासम्म अन्तर्राष्ट्रिय दौडमा सहभागी हुने दीनानाथ सम्पुर्ण लागत खर्च आफैले ब्यहोर्छन् । उनी भन्छन्, ‘प्रायोजकहरु भेटिन्छन् तर मैले अहिलेसम्म कसैको प्रायोजनमा काम गरेको छैन, अन्य कम्पनीहरुको प्रायोजनमा प्रतियोगितामा सहभागी हुँदा सम्बन्धित कम्पनीको प्रचारको लागि काम गर्नुपर्ने हुन्छ तर म मेरो देशको लागि दौडिँदैछु । मलाई मेरो देशको पहिचान हुने सामाग्रीहरुको प्रचार गर्नुछ ।’

हरेक प्रतियोगितामा सहभागी हुँदा २५० देखि २२०० डलरसम्म तिर्नुेपर्ने दीनानाथको भनाई छ ।

अहिले उनले नेपालमा जिओग्राफी एक्स्पेडिसन एडभेन्चर ट्रेकिङ कम्पनी शुरुवात गरेका छन् । ‘कम्पनीमार्फत पर्यटकीय सम्भावनाहरुको खोजीसँगै पर्यटकहरुलाई नेपाल घुम्नका लागि अभिप्रेरित गरिरहेका छौँ,’ दीनानाथले जानकारी दिए । उनले अबको प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्ने आफ्नो योजना रहेको सुनाए । ‘विदेश बसेर पनि नेपालको प्रचार गर्न सकिन्छ । जसले जे सकिन्छ त्यो गर्ने हो’, उनी तर्क गर्छन् ।

हङकङ उनको कर्मथलो हो तर पनि उनी सधै नेपालको प्रचार गरिरहेका हुन्छन् । भन्छन्- ‘शरीरले साथ दिएसम्म दौडन्छु, मातृभुमिको प्रचार गरिरहन्छु ।’