वाणगंगामा ‘समुदाय प्रहरी साझेदारी अभियान’ सुरु

वाणगंगामा ‘समुदाय प्रहरी साझेदारी अभियान’ सुरु


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिकामा सोमबार (३० भदौ) बाट ‘समुदाय प्रहरी साझेदारी अभियान’ सुरु भएको छ । इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा वडा नम्बर ७ मोतिपुरमा रहेको जनज्योति माविबाट अभियान सुरु भएको हो ।

मुलुकको प्रमुख सामाजिक समस्याको रुपमा रहेको लागु पदार्थ दुर्व्यसनलाई नियन्त्रण गर्ने प्रमुख उद्देश्यका साथ सुरु भएको अभियान नगरका अरु १० वटा वडामा पनि पुग्ने बताइएको छ ।

विद्यालयको प्राङ्गणबाट सुरु भएको ऱ्यालीले बनगाई चोक परिक्रमा गरी थारु गाउँ हुँदै पुनः विद्यालयमा गएर सभामा परिणत भएको थियो । स्थानीय जनप्रतिनिधि, प्रहरी, स्थानीय नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, संचारकर्मी लगायतको सहभागिता भएको र्यालीमा विद्यार्थीहरुले ‘लागु औषध नखाऔँ, ज्यान पैसा जोगाऔँ’, ‘सभ्य समाज हाईहाई लागुऔषध बाईबाई’, लागु औषधको ब्यापार, घरघरबाट तिरस्कार, मेरो यही अठोट त्याग्छु गाँजा चुरोट, दुर्व्यसन नगरे मिल्छ सम्मान, रोकथाम गर्न नगरको अभियानु लगायतका नाराहरु घन्काएका थिए ।

ऱ्यालीपछि आयोजना भएको सभामा बोल्दै प्रमुख अतिथि बाणगंगा नगरका उपमेयर चक्रपाणी अर्यालले नगरलाई सन् २०२३ सम्म लागु औषधरहित नगर बनाउन लागिएको बताउँदै यो अभियान त्यसको लागि महत्वपूर्ण कोसेढुंगा सावित हुने बताउनुभयो । नगरका विभिन्न स्थानमा लागुऔषध प्रयोगकर्ताको संख्या बढेकाले हरेक क्षेत्रमा यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै प्रहरीको सक्रियतालाई उहाँले विशेष धन्यबाद दिनुभयो । मुख्य गरी युवायुवती र कक्षा ७ देखि माथिका विद्यार्थीहरु यसको सिकार भइरहेकोले विद्यालय स्तरबाट सुरु गरिएको यो कार्यक्रम धेरै प्रभावकारी हुने बताउनु भयो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक आयुश प्रसाद जोशीले प्रहरी समुदायको अभिन्न अंग भएकाले प्रहरीले यो अभियान सुरु गरेको बताउनुभयो । समुदाय प्रहरी सम्पर्क कार्यक्रम अपराधिक गतिविधि नियन्त्रण, लागु औषध नियन्त्रण, घरेलु हिंसा, महिला हिंसा, लैङ्गिक तथा बाल विवाह, मानव बेचबिखन, हत्या चोरी, निकासी तथा जघन्य अपराध आदिको न्यूनिकरणको लागि केन्द्रित हुने उहाँले बताउनुभयो ।

विशेषगरी आजका विद्यार्थी भोलिका कर्णधार भएकाले विद्यार्थीहरुको लागि लागु औषधसम्बन्धी जनचेतना अति आवश्यक भएकोमा जोड दिँदै उहाँले भन्नुभयो– ‘पछिल्लो समय युवा पिँढी यसको शिकार बन्दै गइरहेका छन् । प्रत्येक घरघरमा यसबारे ज्ञान हुन आवश्यक छ । प्रहरीको काम शान्ति सुरक्षा कायम संगै यस्ता अभियान पनि चलाउनु हो । त्यसैले हामीले यो अभियान सुरु गरेका छौँ ।’

प्रहरी निरीक्षक जोशीले अब नगरका हरेक वडामा यसैगरी अभियान लिएर आफूहरु जाने र त्यसमा सबैले साथ दिनुपर्ने बताउनु भयो । मोतिपुरमा देखिएको ब्यापक सहभागिताले आफूहरुलाई थप हौसला मिलेको भन्दै सबैलाई धन्यबाद दिनुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बाल कुमारी पन्त, वडा नं। २ का वडाध्यक्ष विष्णु पौडेल, वडा नं. ७ का वडाध्यक्ष विष्णु गिरी, वडा नं. ९ का वडाध्यक्ष ध्रुव बेल्बासे, वडा सदस्यहरु, जनज्योती माविका प्रधानाध्यापक विष्णु भण्डारी, रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासी लगायतको ब्यापक सहभागिता रहेको थियो ।