कांग्रेसको नाराबाजी र रोष्ट्रम घेराउपछि संसद् २ दिनका लागि स्थगित

कांग्रेसको नाराबाजी र रोष्ट्रम घेराउपछि संसद् २ दिनका लागि स्थगित


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबार बसेको प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसकी सचेतक पुष्पा भुसालले बाँके घटनाबारे आफ्नो धारणा राखेपछि नेकपाका सांसद नन्द रोकायले सो घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको भनेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।

सांसद रोकायको भनाइको प्रतिवादका लागि बोल्न खोज्दा कांग्रेसका सांसदहरूलाई बोल्न सभामुख कृष्णबहादुर महराले समय नदिएपछि सांसदहरूले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।

कांग्रेसले आधा घण्टासम्म रोष्ट्रम घेराउ र नाराबाजी जारी गरेपछि सभामुख महराले असोज १ गते बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसले गरेको दोस्रो राष्ट्रिय जागरण कार्यक्रमअन्तर्गत भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–१ मा रहेको सीतापुरमा भएको सभामा सत्तारुढ दलका कार्यकर्ताले कार्यक्रम बिथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।