भिसा र तलबविना पन्ध्र महिना काममा जोतिएपछि…

भिसा र तलबविना पन्ध्र महिना काममा जोतिएपछि…


आरके श्रीवास्तव, ओमान

विगत १५ महिनादेखि ओमान बसाई अवैध बन्न पुगेपछि दुई नेपाली युवालाई स्वदेश फर्काइएको छ । गुल्मीको वामी टक्सार-९ निवासी प्रेमबहादुर कुमाल र कृष्ण कुमाललाई आज (३० भदौ) विहानै स्वदेश फर्काइएको हो ।

प्रेम र कृष्णलाई विगत १५ महिनादेखि विनाभिसा र विनातलबमा काम गर्न बाध्य बनाइएको थियो । सन् २०१६ जुन १७ का दिन ओमान आएका कुमालद्वय कार्यरत कम्पनी अल सादा रेष्टुरेन्टले भिसा सकिएको १५ महिनासम्म पनि पुनः भिसा नथपिदिएकोले स्वदेश फर्कन सकिरहेका थिएनन् र विना तलब नै काम गर्न बाध्य तुल्याइएका थिए ।

शुरु–शुरुमा उनीहरूलाई ‘अर्को महिनापछि भिसा थपेर घरमा पठाउने’ भन्ने आश्वासन दिइएको थियो, तर त्यो उनीहरूलाई अल्झाइराख्ने बहाना मात्र रहेछ । आश्वासनको भर परी कुरेर बस्दा उनीहरू लामो समयसम्म भिसाविहीन भई बस्नु परेको थियोे । पछिल्लो समय काम गरेको पारिश्रमिक रोकेकोले उनीहरूले ओमान नेपाली एकता समाजसमक्ष उद्धारको लागि अनुरोध गरेका थिए ।

अनुरोधपश्चात ओमान नेपाली एकता समाजका प्रतिनिधिले अलसाधा रेस्टुरेन्टका मालिकलाई फोन गरी पीडितहरूको बाँकी पारिश्रमिक दिन र आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्काउन अनुरोध गरेका थिए । एक महिनाको समय मागेर पीडितलाई पारिश्रमिक दिई स्वदेश फर्काउने आश्वासन दिएपनि उनले मागेको समयमा पीडितहरूलाई स्वदेश फिर्ता पठाउनुको साटो उल्टै डर-धम्की दिइएको थियो ।

(पीडित प्रेम र कृष्ण कुमाल)

त्यसरी पीडितहरूलाई स्वदेश नफर्काइएकाले ओमान नेपाली एकता समाजले नेपाली राजदूतावाससँग समन्वय गरी पीडितहरूद्वारा स्थानीय श्रम अदालतमा मुद्दा दर्ता गराइएको थियो । मुद्दा दर्ता गरेलगत्तै फेरि आश्वासन दिँदै मुद्दा फिर्ता लिन अनुरोध गरियो । अन्त्यमा पीडितहरूले पाउनुपर्ने पारिश्रमिक र घरफिर्ती टिकट दिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरेर घर पठाउन ग्यारेन्टी गरेपछि मात्रै मुद्दा फिर्ता लिने अडान राखेका थिए । यसअनुसार पाउनुपर्ने बाँकी पारिश्रमिक र घरफिर्ती टिकट दिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्वदेश पठाइएको एकता समाज ओमानका अध्यक्ष छविलाल बस्नेतले जानकारी दिए ।

यी दुई युवा प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता कयौँ युवा ओमानमा अझै समस्यामा परेका हुन सक्छन् । ४–५ पाँच महिनासम्म तलब विहीन बनाएर समस्यामा पार्ने यस्ता धेरै उदाहरण छन् । तर पनि नेपालीहरू काम गर्न बाध्य छन् ।

दुई वर्षको भिसा सकेपनि रोजगारदाता कम्पनीले सेटलमेन्ट नदिने, उपचार खर्च नदिने गरेका छन् । यस्तो समस्या आइपर्दा कहाँ जाने के गर्ने भन्ने विषयमा नेपाली कामदारहरू अनभिज्ञ छन् ।

ओमानको सोहार शहरमा पनि धेरै नेपालीहरू काम गर्छन् । त्यहाँको एक टेलर कम्पनीमा काम गर्नेे कामदार शेख हिजातुल्ला भन्छन्– ‘मैले ओमानमा काम गरेको १२ वर्ष हुन थाल्यो, पहिला कम्पनीले सबै सामान्य सुविधा दिन्थ्यो तर अहिले बिरामी पर्दा उपचार खर्च नै दिँदैन । सानोतिनो रोगको उपचार यहीँ गराइन्छ तर ठूलो रोग लागे नेपाल गएर उपचार गराउनुपर्ने बाध्यता छ । हेल्थ इन्स्योरेन्स कार्ड उपलब्ध गराइएको छैन । यससम्बन्धी कानुन कस्तो छ, मैले निकै प्रयास गरेँ तर बुझ्न–जान्न सकिनँ । दूतावासमा रिपोर्ट गर्दा पनि अहिलेसम्म जवाफ आएको छैन ।’

ओमानमा यस्ता धेरै समस्यामा परेका नेपालीहरू प्रशस्तै रहेकाले यसप्रति दूतावासको ध्यान पुग्नु र आवश्यक पहलकदमी लिनु जरुरी देखिएको छ ।