बाँके घटनाबाट आक्रोशित अमरेश भन्छन्- नेपाल प्रहरीको नाम ‘नेकपा प्रहरी’ राखौँ

बाँके घटनाबाट आक्रोशित अमरेश भन्छन्- नेपाल प्रहरीको नाम ‘नेकपा प्रहरी’ राखौँ


नेपाली काङ्ग्रेस बाँके जिल्ला सभापति किरण कोइरालालगायतका पार्टी कार्यकर्तामाथि गरिएको आक्रमणमा प्रहरी मूकदर्शक बसेको भन्दै नेका सांसद डा. अमरेश कुमार सिंहले आक्रोश व्यक्त गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन् ।

सांसद डा. अमरेश सिंहले सत्तारुढ नेकपाका कार्यकर्ताबाट प्रमुख प्रतिपक्षी दलका नेता–कार्यकर्ता कुटिँदा प्रहरी रमिते बनेर बसेको को आरोप लगाए । उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे । ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’ भन्दै उनले ब्ङ्ग्यसहित आक्रोश पोखे ।

ज्ञातव्य छ, यसअघि शनिबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायतका कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारवाही नभए संसद् अवरुद्ध गर्ने चेतावनी दिएका थिए । बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्नेहरू लोकतान्त्रिक व्यवस्थाका हिमायती हुनै नसक्ने भन्दै सभापति देउवाले त्यस्ता व्यक्तिलाई कसैले काखी च्याप्छ भने त्यसका विरुद्ध काङ्ग्रेस देशव्यापी विरोधमा उत्रने चेतावनी दिएका थिए ।

जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको भन्दै उनले भ्रष्टाचारविरुद्ध बोल्दा काङ्ग्रेसका नेता, कार्यकर्ता कुटिनु लज्जाको विषय भएको तर्क गरे ।

नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुँदै गर्दा बाँके सभापति कोइरालालगायत काङ्ग्रेस कार्यकर्तामाथि नेकपा समर्थितहरूको समूहले मञ्चमै पुगेर आक्रमण गरेका थिए । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाच्चिएको छ ।

काङ्ग्रेसले घटनामा संलग्न भनि १० जनाको नामसहितको जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले अहिलेसम्म तीन जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिएका छन् ।