घरभेटीलाई घिसिङको चेतावनी : ‘मनलाग्दी विद्युत् महसुल असुल नगर !’

घरभेटीलाई घिसिङको चेतावनी : ‘मनलाग्दी विद्युत् महसुल असुल नगर !’


काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणसँग विद्युुत् लिएर मनलाग्दी तवरले व्यापार नगर्न चेतावनी दिँदै जति महसुल उठेको हो, सोहीअनुसार मात्रै घर बहालमा बस्नेसँग महसुल लिन आग्रह गरे ।

प्राधिकरणले २० युनिटसम्मको विद्युतमा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै, २१ देखि ३० युनिटसम्म सेवा शुल्क रु ५० र प्रतियुनिट रु सातका दरले लिने गरेको छ । यस आधारमा रु १२० महसुल तिर्नुपर्छ । यसैगरी ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क रु ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क रु १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।

सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युतमा अनावश्यक व्यापार नगर्न भनेको हो ।

घिसिङलाई उद्धृत गर्दै राससले जनाएअनुसार प्राधिकरणले तोकेकाभन्दा बढी दरमा महसुल असुल्नु गैरकानूनी हो, प्राधिकरणसँग तोकिएको दरमा किनेको विद्युत् त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।