अमेरिकाको इन्डियाना राज्यका पूर्वचिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा. उर्लिच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ ।
विल काउन्टी सेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा. क्लोपफर संलग्न रहेको जनाएको छ । डा. उर्लिचको परिवारले भ्रुणबारे प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो ।
प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ । तर, मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ । प्रहरीले उक्त घटनाबारे अनुसन्धान शुरु गरिसकेको जनाएको छ ।
डा. क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो । इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतनसम्बन्धी सेवा प्रदान गरिरहेका थिए । तर, सन् २०१५ देखि इन्डियाना राज्यले डा. क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो । इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरबाही गरेको भन्दै सचेत गराएको थियो ।
स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीतिहरू अनुशरण नगर्ने जनाएको थियो । गर्भपतनबारे कम्तीमा १८ घन्टा अघि जनचेतनामूलक तालिम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाइ छ । तालिम लिएको विषयलाई पनि क्लिनिकले राम्रोसँग दस्तावेजीकरण नगरेको र लापरबाही गरेको थियो ।
क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे । साउथ बेन्ड ट्रिब्युन अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौँलाई सेवा दिएका थिए ।
इन्डियानाका जीवनको अधिकार भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी भनेका छन्, ‘डा. क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौँ भ्रुणको अवशेष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ ।’ उनले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे–नरहेको खोजी गर्नुपर्ने बताए ।
फिच्टरले गर्भपतनले अमेरिकामा उद्योगको रूप लिएकाले यसलाई गम्भीर छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए । यस घटनाबारे इन्डियाना राज्यका गभर्नर एरिक होल्कोम्बको प्रतिक्रिया लिन खोजिए पनि सम्भव नभएको समाचारमा उल्लेख छ ।
गर्भपतनसम्बन्धी सरकारी नियमहरूको पूर्ण पालना नगरेको, कर्मचारी नराखेको तथा गर्भपतन अघि–पछि सेवा नदिएको भन्दै सन् २०१६ को नोभेम्बरमा इन्डियानाको मेडिकल लाइसेन्सिङ बोर्डले क्लोपफरको लाइसेन्स (अनुमतिपत्र) निलम्बन गरेको थियो ।
डा. क्लोपफरले त्यसयता गर्भपतन सेवा बन्द गरेका थिए, तर उनले बोर्डसमक्ष आफ्नो ४३ वर्षको सेवा अवधिमा एकजना बिरामीको पनि ज्यान नगएको बताएका थिए । इन्डियाना राज्यमा रिपब्लिकन पार्टीकी सांसद ज्याकी वालोस्र्कीले पछिल्लो घटनाको पटाक्षेपले आफूलाई अत्यन्त दुःखित बनाएको बताएकी छिन् ।
गत मे महिनामा अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी इन्डियाना राज्यको कानुनलाई सदर गरेको थियो जसमा गर्भपात गरिएको भ्रुणका अवशेष संग्रह गर्न नपाइने र त्यसलाई विसर्जन गर्नुपर्ने व्यवस्था छ । उक्त कानुनमा सन् २०१६ मा उपराष्ट्रपति माइक पेन्सले हस्ताक्षर गरेका थिए । त्यसबेला उनी इन्डियाना राज्यका गभर्नर थिए । तर, यसविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।
रासस–एपी
प्रतिक्रिया