राणाले दिए नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई ‘बधाई’ !

राणाले दिए नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई ‘बधाई’ !


राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशम्सेर राणाले नेपाल ओलम्पिक कमिटीका नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठलाई बधाई दिएका छन् । राणाले घटना र विचारसँग शनिबार (२८ भदौ) कुरा गर्दै श्रेष्ठलाई बधाई दिएका हुन् । साथै उनले नेपाल ओलम्पिक कमिटीको निर्वाचन विवादरहित लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भएको भन्दै खुशीसमेत व्यक्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचन सम्पन्न भएसँगै राणाले सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई र शुभकामना दिँदै अब ओलम्पिकको विवादमा पूर्णविराम लाग्ने विश्वास प्रकट गरे । हिजोको विवादले हामीले के पायौँ, अब विवाद समाप्त गर्नुपर्छ, त्यसको लागि आफुले निभाउनुपर्ने भूमिका आफूले निर्वाह गर्ने प्रस्ट पारे ।

‘अब तेरो–मेरो होइन, हाम्रो ओलम्पिक भनेर जानुपर्छ, सबै मिलेर विनाविवाद ‘ओलम्पिक मुभमेन्ट’लाई अगाडि लानुपर्छ, यही सन्देश र आदेश सर्वोच्चले पनि दिएको छ’, राणाले तर्क गरे । सर्वोच्चको आदेशको अपहेलना नहुने गरी सम्पूर्ण विवादको समाधान गरिनु पर्ने उनको धारणा छ ।

‘लडेर होइन, जुटेर र एकआपसमा सहकार्य गरेर ओलम्पिकको सम्पूर्ण विवाद समाप्त गर्नुपर्छ, त्यो म गर्छु’– राणाले प्रतिवद्धता जाहेर गरे ।

मुलुकले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना गर्दैछ । यस्तो विषम परिस्थितिमा मिल्नुको अर्को विकल्प नभएको पनि राणाले बताए ।

‘अब म केही समयपश्चात नै साथीहरुसँग छलफल गर्छु र उनीहरुको सल्लाहबमोजिम नै ओलम्पिक विवादको समाधान गर्छु’ – राणाले भने ।