समीक्षाको ‘योद्धाको सपना’ सुर्खेतमा लोकार्पण

समीक्षाको ‘योद्धाको सपना’ सुर्खेतमा लोकार्पण


कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’द्वारा रचयित कृति ‘योद्धाको सपना’ एक कार्यक्रमबीच शनिबार (२८ भदौ) सुर्खेतमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘योद्धाको सपना’ कृति लोकार्पण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री शाहीले भने, ‘साहित्यले समाज परिवर्तन गर्नुपर्छ, मुलतः कर्णाली नेपाली भाषाको उद्गमस्थल भएकाले अरुले नेपाली भाषा, साहित्य, कला, सभ्यता, संस्कृतिको संरक्षण गर्लान् भन्नुभन्दा कर्णालीबाटै यसको शुरुआत गर्नुपर्दछ ।’

कर्णाली प्रदेशका आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले ‘योद्धाको सपना’ कविता कृतिले हिजोका दिनमा भएका यथार्थ घटनालाई विश्लेषण गर्न सकेको बताउँदै कविता कृति ‘योद्धाको सपना’ले एकात्मक राज्य व्यवस्थाको परिवर्तनका लागि भएको युद्धबाट योद्धाहरूले देखेका सपनाहरू पूरा भएका छन् कि छैनन् भनेर प्रश्न गरेको र कवितात्मक रूपमा आएका यी यथार्थ र वस्तुवादी शब्दजडित पंक्तिहरूले एकपटक सबैलाई गम्भीर भएर सोच्न बाध्य बनाएको उल्लेख गरे ।

मन्तव्य दिँदै कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’ले उक्त कृतिमा भएका कविता आफ्नो जीवनको भोगाइसँग अन्तरसम्बन्धित भएको बताइन् । ‘यसमा नेपालमा भएको लामो सशस्त्र युद्ध र त्यसबाट प्रभावित भएकाहरूको पीडायुक्त आवाज मुखरित गर्ने प्रयास गरेकी छु, अझै पनि धेरै योद्धाहरूको सपना पूरा नभएकाले गणतन्त्र आइसकेपछिका सरकारहरूले ‘योद्धाका सपना’हरूले देखाएको काम पूरा गर्नतर्फ ध्यान दिनुपर्छ’– समीक्षाको भनाई थियो ।

कर्णाली योजना आयोगका सदस्य एवं कृतिका प्रकाशक डा. दीपेन्द्र रोकायाले समाजका लागि कृतिले के दिनसक्छ भन्ने महत्वपूर्ण कुरा रहेको तर्क गरे भने मध्यपश्चिम विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन तथा लोकार्पण कार्यक्रमका समीक्षक प्रा. खोपीराम लम्सालले ‘योद्धाको सपना’ कृतिमा क्रान्तिका स्वरहरू सुसेलिएको टिप्पणी गरे ।

लोकार्पित कविता सङ्ग्रहमा ४३ कविता सङ्ग्रह गरिएको छ ।