एनआरएनए महिला संयोजकमा संगीताको दाबेदारी

एनआरएनए महिला संयोजकमा संगीताको दाबेदारी


आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ महाधिवेशन (विश्व–सम्मेलन) को तिथि नजिकिएसँगै संस्थाको भावी नेतृत्वबारे विभिन्न चर्चा, आँकलन एवम् विश्लेषणको उपक्रमले पनि तीव्रता पाएको छ । विश्वभर छरिएर रहेका नेपालीहरूका बीचबाट आ–आफ्नो हैसियत र क्षमताअनुसार संघको नेतृत्वदायी भूमिका हासिल गर्न रुचि प्रकट गर्नेहरू धमाधम आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यही सिलसिलामा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा आफ्नो प्रवल दाबेदारीसहित खडा भएकी छन् लण्डन (युके)मा रही व्यवसाय गर्दै आएकी सँगीता मरहट्टा ।

चर्चित मिडियाकर्मीको रूपमा समेत चिनिएकी बीबीसी नेपाली सेवाका पूर्वपत्रकार संगीता एक प्रखर तथा जुझारु एनआरएनए अभियन्ता हुन् । हाल एनआरएनए अन्तर्गत युरोप क्षेत्रीय महिला उपसंयोजकको जिम्मेवारी सम्हालिरहेकी उनले आफ्ना निश्चित उद्देश्य एवम् एजेण्डाका साथ अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक ओहदाको निम्ति उम्मेदवारी पेश गरेकी हुन् ।

गैरआवासीय नेपाली संघमा महिलाको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरूको ज्ञान, सीप र अनुभवसमेतलाई समेटेर महिलाहरूको आर्थिक स्वावलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजना समेटेर आफु अघि बढ्न लागेको सँगीताको प्रष्टोक्ति छ ।

उनी भन्छिन्– ‘सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनएसँगको संलग्नता र यसबाट हासिल भएको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कुशलताका साथ निर्वाह गर्नेमा म सक्षम मात्र नभई विश्वस्त पनि छु । महिलाहरूसँग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरूलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने मेरो अभीष्ट हो ।’

गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहंदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी सशक्त युवा नारी व्यक्तित्व हुन् ।

बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ वर्षअघि बेलायत पुगेकी थिइन् । दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो भनेर चिनिएको ‘रेडियो सगरमाथा’बाट रेडियो पत्रकारिताको शुरुवात गरेकी उनी छापा पत्रकारितामा पनि संलग्न रहिसकेकी छिन् । बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्तिअन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी सँगीताले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् भने त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा उनले स्नातक गरेकी छन् । हाल लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखन यात्रालाई पनि निरन्तरता दिइरहेकी छन् ।

सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिव रहेकी उनले सो कार्यकालमा पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटी डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन् । एनआरएनए युकेको इतिहासमा पहिलोपटक ‘एनआरएन पत्र’ नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो । यसका अलावा एनआरएनए युकेको कार्यक्रम तथा योजना तय गर्ने र त्यसमा सक्रिय भूमिका निर्वाह गर्नेमा सचिवका रूपमा उनको कार्यकाल सफल रहेको थियो ।

सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसीसी सदस्य रहेकी सँगीता एनआरएनए आइसीसीको मिडिया उपसंयोजक चुनिएकी थिइन् । सो कार्यकालमा एनआरएनएसम्बन्धी समाचारहरू लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरूसँग सम्बन्ध बिस्तारमा उनको भूमिका रह्यो ।

उम्मेदवारीका साथ संगीता मरहट्टाद्वारा प्रस्तुत घोषणापत्र :

विश्वभर छरिएर रहनुभएका प्यारा आदरणीय दाजु भाइ दिदी–बहिनी, अग्रज तथा मिडियाकर्मी साथीहरू !

आफ्नो अनुभव, सीप र आत्मविश्वासका साथ आगामी अक्टोबरमा काठमाडौमा हुने नवौँ विश्व सम्मेलनमा अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजकका रुपमा मैले उम्मेदवारी घोषणा गर्न लागेकी छु ।

गैरआवासीय नेपाली संघले बोकेको १६ वर्ष लामो गौरवान्वित इतिहास कुनैं एकजना व्यक्तिको निजी लगानी वा त्यागको प्रतिफल होइन । तपाईंहरू सबैको स्रोत, साधन र समयबाट यसले हालको उचाई प्राप्त गरेको हो । त्यसैले पदमा रहेका अरु कुनैं व्यक्ति, म वा तपाईं समान छौं । सिनियरहरूको योगदानको कदर, हरेक गैरआवासीय नेपालीले गरेको योगदान अनि त्याग र तपस्याको म शिर ठाडो पारेर सलाम गर्न चाहन्छु ।

नेपालीका लागि नेपाली भन्ने पवित्र र गर्विलो नारा बोकेर अभिछिन्न रुपमा देश तथा डायस्पोरमा रहेका नेपालीहरूका लागि केही गर्ने हेतु राखेको यस संस्थामा झन्डै एक दशक समय बिताउँदा मैले महिला संयोजक तथा सचिव, आइसीसी सदस्य, मिडिया उपसंयोजक र हाल महिला उपसंयोजक भएर भिन्न भिन्न क्षेत्रमा आफुलाई समर्पित र प्रमाणित गर्दै आएकी छु भन्ने लागेको छ । यो मैले भन्दा पनि तपाईंहरूले मुल्यांकन गर्ने कुरा हो ।

सन् २०११ मा एनआरएनए युकेको महिला संयोजक हुंदा महिला फोरमको आइडिया बिल्कुल नयां थियो । पहिलोपटक २० सदस्यीय महिला फोरम गठन गरेर सो कार्यकालमा बेलायत एनआरएनएको इतिहासमै हामीले महिला दिवस कार्यक्रम सम्पन्न गरेर ५ हजार पाउन्डभन्दा बढी रकम उठाएका थियौं । आज ती क्षणहरू मिठो र गौरवान्वित इतिहास बनेका छन् । एनआरएनए युकेको महिला फोरम आज उचाइमा पुग्दै गर्दा ती अविस्मरणीय क्षणहरू अवश्य मेरा लागि सम्झन योग्य बनेका छन् । त्यसपछि कार्यसमितिको सचिवका रुपमा मैले सक्रिय भूमिका निर्वाह गरें र अर्को कार्यकालमा आइसीसी सदस्य तथा मिडिया सहसंयोजकका रुपमा कार्य गरें । हाल म महिला क्षेत्रीय उपसंयोजक रहेकी छु ।

एनआरएनएमा समय, साधन, स्रोत धेरै खर्चिनु पर्दछ भन्ने कुरा तपाईं हामी कसैसँग पनि छिपेको छैन । मैले एक दशकको आफ्नो कार्यकालमा एनआरएनएको सम्मेलनकै लागि नेपाल समेत हल्याड, जर्मनी, इटली, लक्जेम्बर्ग, अष्ट्रेलिया, स्पेन, जापान, अष्ट्रिया, बेल्जियम, फ्रान्स लगायतका मुलुकहरूको भ्रमण गरी कतिपय अवस्थामा एक्लै पनि युकेको तर्फबाट महिलाहरूको प्रतिनिधित्व गरेकी छु । कार्यक्रमलाई चुस्त दुरुस्त बनाउन सघाउने र कार्यक्रमहरू प्रभावकारी सञ्चालन गरी आफ्नो जिम्मेवारी पूरा गरेकी छु । यी देशहरूमा भएका क्षेत्रीय सम्मेलनहरू तथा नेपालमा भएका विश्व सम्मेलनहरूको प्रभावकारी ढंगले सन्चालन गरेको अनुभव पनि मसँग छ ।

सन् २००५ देखि गैरआवासीय नेपाली संघमा अन्तर्राष्ट्रिय महिला संयोजक राख्ने प्रचलन शुरु भएको हो । त्यस मितिदेखि लिएर आजसम्ममा महिला फोरमले व्यापक रुपमा कोल्टे फेरेको छ र हाल ६५ देशमा महिला फोरम सन्चालन भैरहेका छन् । अझै कयौं देशहरूमा महिला फोरमहरूको गठन गर्न बांकी नैं छ भने अब महिला फोरमलाई नयाँ दिशा दिनु आजको टड्कारो आवश्यकता पनि बनेको छ । एक किसिमको शुरुवाती क्षणबाट हामीले पार पाईसकेको छौं । नयाँ नीति र कार्ययोजनाको शुरुवात चुनौतीको रुपमा देखा परिसकेको छ ।

महिला उपसंयोजक भैसकेपछि यस अभियानमा निरन्तरता दिन अब आइसीसी महिला संयोजकको भूमिकामा खरो उत्रिन म आत्मादेखि नैं तयार छु । विश्वभरका एनआरएनए अभियन्ता, अग्रज, मेरा समकक्षी सबै जनासँग सकेसम्म मैले सरसल्लाह गरेर आफ्नो योजना अघि बढाउने निधो गरेकी हुँ ।

धेरै लामो र संभव हुन नसक्ने योजनाहरू कागजमा मात्र सुन्दर लाग्छन् । त्यसैले संस्थाको विधि, विधान र सिमाभित्र रहेर अग्रजहरूले अघि सार्नुभएका राम्रा कामहरूलाई निरन्तरता दिंदै मैले निम्न अनुसारका योजना बनाएकी छु । यी कार्यहरू ६ वटा क्षेत्रबाट छानिने क्षेत्रीय महिला संयोजकहरूसँगको विस्तृत छलफल र सहकार्यबाट पूरा हुनेछन् ।

१. महिला फोरमहरूको बिस्तार विश्वभरका एनसीसीहरूमा सकारात्मक हिसाबले भैरहेको अवस्थामा पनि अन्तराष्ट्रिय महिला संयोजक तथा क्षेत्रीय महिला संयोजकहरूको काम, कर्तव्य र अधिकारको स्पष्ट खाकालाई अझै चुस्त र दुरुस्त बनाउनुपर्ने आवश्यकता मैले देखेकी छु । महिला फोरम गठनका क्रममा पनि कतिपय अवस्थामा द्विविधा देखिएको छ । मेरो पहिलो प्राथमिकता आइसीसी महिला संयोजक, क्षेत्रीय महिला संयोजकहरूको काम, कर्तव्य र अधिकारलाई स्पष्ट पार्ने कुरामा रहनेछ ।

२. समुद्रमा हजार किसिमका माछाहरू भएजस्तै संसारभर रहेका महिलाहरूको आर्थिक, सामाजिक परिस्थिति एकै किसिमको छैन । अमेरिका, युरोपमा रहेका महिलाहरू र खाडी क्षेत्र तथा अन्य मुलुकमा रहेका महिलाहरूका अनेकन् साझा सवालहरू हुंदाहुंदै पनि खाडी, मलेशिया तथा युरोपकै कैयन देशमा कामका लागि आएका महिलाहरूको अवस्था फरक छ । वैदेशिक रोजगारीमा देश बाहिर जान चाहने महिलाहरूलाई सकेसम्म त हामी देशमै आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछौं । तर जानैपर्नै खण्डमा सो देशका बारेमा पुर्ण जानकारी लिएर मात्र जान र सीप सिकेर जान अत्यन्त जरुरी छ । मेरो कार्यकालमा एनआरएनए महिला फोरमले स्वदेशमा रोजगारीका लागि प्रोत्साहन र विदेश जानेहरूका लागि चेतनामुलक कार्यक्रमको शुरुवात गर्नेछ ।

३. महिलाहरू आर्थिक हिसाबले स्वावलम्बी नभई खासै कुनैं परिवर्तन हुन असंभव छ । युरोप, अमेरिका तथा सम्पन्न देशहरूमा त ससाना र कम लगानीका व्यवसायहरू घरमै बसेर गरेर पनि महिलाहरू आर्थिक रुपमा स्वाबलम्बी हुने अपार संभावनाहरू छन् । हरेकको हातमा एक बिशेष सीप हुन्छ र युनिभर्सिटीको डिग्री मात्र कुनैं ठुलो कुरा होइन । मैले आफै व्यवसायी भएको नाताले विभिन्न देशमा कसरी महिलाहरू उद्यम, व्यवसायमा संलग्न हुने र आर्थिक रुपमा स्वावलम्बी हुने भन्ने विषयलाई सशक्त रुपमा अघि बढाउनेछु । डायस्पोरामा रहेका सफल महिला व्यवसायी तथा अन्य विभिन्न पेशामा संलग्न महिलाहरूलाई एकै ठाउंमा ल्याउने र उहांहरूका अनुभवहरू साटासाट गर्न महिला फोरमले सक्दो पहल गर्नेछ ।

४. एनआरएनए भित्र महिला फोरमको आवश्यकताको टड्कारो महशुस हुनुको कारण संस्थामा महिलाहरूको संख्या नगन्य मात्रामा रहनु थियो । डेढ दशकको समयमा एनआरएनएमा महिला सहभागीताले कांचुली फेरेको सत्य तपाईंहरूका सामु प्रष्ट नै छ । कैयन् राष्ट्रिय समितिहरूमा अध्यक्ष, महासचिव, उपाध्यक्ष्यजस्तो उच्च पदमा महिलाहरू निर्वाचित भैसकेका छन् । महिला फोरममा काम गरेर सीप, ज्ञान बटुलिसकेका महिलाहरूलाई महिला फोरममै सिमित भैरहन जरुरी छैन । उहांहरूलाई एनआरएनएका मुख्य धारका पदहरूमा संलग्न हुन र अन्य महिलाहरूलाई प्रोत्साहन दिन मेरो नेतृत्वको महिला फोरमले सक्दो कार्यक्रम तथा छलफलहरू अघि बढाउनेछ ।

५. हरेक राष्ट्रिय समन्वय परिषदमा महिलाहरूको सशक्त सहभागीताका लागि आवाज उठाउने र नेतृत्व तहमा समेत महिलाहरूको सहभागीताका लागि विश्वव्यापी रुपमा नैं आवाज उठाउने काम महिला फोरमले गर्नेछ ।

६. नेपालमा मात्र होइन, युरोप, अष्टे्रलियाजस्ता अति विकसित देशहरूमा समेत महिलाहरू घरेलु हिंसाको शिकार भैरहेका छन् । आत्महत्या, डिप्रेशनजस्ता घटनाहरू बढेका छन् । यी कुराहरूलाई कम गर्न सम्बन्धित देशमा महिलाहरू त्यहांको समाजसँग घुलमील हुनु, भाषा सिक्नु अति जरुरी छ । हाल कयौं विकसित मुलुकहरूमा निशुल्क सिप तालीम, भाषा कक्षा र निशुल्क कानुनी परामर्श दिने गरिन्छ । तर कयौं हाम्रा दिदी बहिनीहरू थाहा नभएर वा डरले त्यहांसम्म पुग्न हिच्किचाउनुहुन्छ । प्रत्येक देशका महिला फोरमहरूले दिदी बहिनीहरूलाई त्यहांसम्म पहुंच पुऱ्याउन पुलको काम गर्नेछन् । हरेक एनसीसीका महिला फोरमहरूमा घरेलु हिंसाको लागि कमिटि बनाउन महिला फोरमले जोडदार माग गर्नेछ ।

७. गैरआवासीय नेपाली संघका मुख्य उद्देश्यहरू र नेपाल तथा डायस्पोराका सन्चारकर्मीहरूबीच सौहार्दपुर्ण सम्बन्ध नभएसम्म हामीले हाम्रा योजनाहरू अघि बढाउन सहज छैन । म आफैं लामो समय पत्रकारितामा संलग्न भएको नाताले पत्रकार साथीहरू र अझ महिला पत्रकार साथीहरू, अभियन्ताहरू, महिला सरोकारका सवालमा कार्य गर्नै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सहकार्य गरेर महिला फोरमले आफ्ना अभियानको प्रचार प्रसार र विदेश तथा नेपालमा रहेका महिलाहरूको लागि बिशेष कार्यक्रमहरू ल्याउन पहल गर्नेछ ।

८. डायस्पोरामा रहेका कैयन नेपाली डाक्टर, इन्जिनियर, वकिल, नर्श, व्यवसायी, पत्रकार मध्ये महिलाहरूको संख्या पनि कम छैन । गैर आवासीय नेपाली संघले नेपालमा विज्ञ सम्मेलन गरेर विश्वभरका विज्ञहरूलाई आफ्नो सीप र अनुभव बाड्न आव्हान गर्ने परम्पराको शुरुवात गरिसकेको छ । महिला फोरमले विश्वभर छरिएर रहेका महिला विज्ञहरूलाई पनि आफ्ना सीप र अनुभव साटासाट गर्न अनुरोध गर्दै त्यसको लागि पहल गर्नेछ ।

९. अन्तर्राष्ट्रिय महिला फोरमले हाल नेपालका दुर्गम क्षेत्र लगायत विभिन्न ठाउँमा नियमित रुपमा सन्चालन गर्दै आइरहेको महिलाहरूको पाठेघर खस्ने समस्या लगायतका महिला स्वास्थ्य क्षेत्रमा भैरहेका कार्यहरूलाई महिला फोरमले अझ प्रभावकारी रुपमा अघि बढाउनेछ । त्यसैगरी नेपाल सरकारसँग वैदेशिक रोजगारीमा जान लागेका वा फर्किएका महिलाहरूसँगको अवस्थाबारे घनिभुत छलफल र सीपमुलक तालिमजस्ता अग्रजहरूले शुरुवात गरेका कार्यहरूलाई महिला फोरमले भावी दिनहरूमा निरन्तरता दिनेछ । त्यसैगरी महिलाहरूसँग प्रत्यक्ष सरोकार भएका श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्दन बोर्ड, महिला तथा बालबालिका मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयसँग विगतमा पनि महिला फोरमले सहकार्य गर्दै आइरहेकोमा त्यसलाई अझ राम्रो ढंगले अघि बढाउंदै सहकार्य गर्ने र महिलाहरूका सवालहरूमा आवाज उठाउने कार्य एनआरएनए महिला फोरमले गर्नेछ ।
तपाईंहरूको साथ र सहयोगको अपेक्षासहित

– संगीता मरहट्टा
उम्मेदवार, महिला संयोजक (गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्)