तरुण दलका अध्यक्ष र महासचिवले गरे एकअर्कालाई ‘कारवाही’ !

तरुण दलका अध्यक्ष र महासचिवले गरे एकअर्कालाई ‘कारवाही’ !


नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारीविपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ ।

शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत गई अनुशासनहीन कार्य गरेकाले पदबाट हटाउनुपरेको अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी पत्रमा उल्लेख गरिएको छ । सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाइएको छ ।

शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ ।

उता दलका महासचिव भुपेन्द्रजंग शाहीले पनि अध्यक्ष बस्नेतलाई साधारण सदस्य नै नरहने गरी एक वर्षका लागि कारवाही गरिएको जनाएका छन् । भ्रष्टाचारविरोधि अभियानअन्तर्गत अख्तियार घेराउ गर्न खोज्दा बस्नेतले षडयन्त्र गरेर अवरोध पैदा गरेको शाहीको आरोप छ ।

ज्ञातव्य छ, तरुण दलका अध्यक्ष सभापति शेरबहादुर पक्षधर हुन् भने शाही रामचन्द्र पौडेल समूहका हुन् ।