ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम

ओलम्पिक कमिटीको अध्यक्षमा पुनः जीवनराम


नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा जीवनराम श्रेष्ठ पुनः निर्वाचित भएका छन् । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा शनिबार (२८ भदौ) भएको विशेष साधारणसभाबाट श्रेष्ठ चार वर्षको लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् ।

कूल २७ मतदाता रहेको निर्वाचनमा जीवनरामले १७ मत ल्याए भने अध्यक्ष पदका अर्का प्रत्यासी उमेशलाल श्रेष्ठलाई उनले सात मतले पराजित गरे । जीवनराम र उमेशलालबीच अघिल्लो कार्यकालमा पनि प्रतिस्पर्धा हुँदा जीवनराम नै विजयी भएका थिए ।

साधारणसभाबाट एनओसीको उपाध्यक्षमा ज्योति राणा (२६ मत), तेजबहादुर गुरुङ (२० मत), अशोकराज बज्राचार्य (१५ मत), सुनिल श्रेष्ठ (१८ मत) र चतुरानन्द वैद्य (२२ मत) विजयी भएका छन् । पाँच उपाध्यक्षका लागि आठ जनाले प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी महासचिवमा १५ मत ल्याएर निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले पुरेन्द्रविक्रम लाखेलाई तीन मतले पछि बनाउँदै महासचिव पदमा निर्वाचित भएका हुन् ।

सचिवमा रामजी श्रेष्ठ (१८ मत), दीपकहर्ष बज्राचार्य (२५ मत) र तुलसी थापा (२१ मत) निर्वाचित भएका छन् । तीन सचिवका लागि चार जनाले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये राष्ट्रिय खेलकूद परिषद् (राखेप)का पूर्वसदस्यसचिव केशकुमार विष्ट १७ मत ल्याएर पराजित भएका छन् ।

महासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डन यसअघि नै निर्विरोध भइसकेका थिए भने सदस्यमा रमेशप्रसाद शिवाकोटी (२६ मत), राम अवाले (२० मत), प्रकाशशम्शेर राणा (२६ मत), गोपालसुन्दरलाल कक्षपति (२६ मत), टाँसी घले (२४ मत), होमबहादुर दोङ (२५ मत) र दीर्गबहादुर केसी (२६ मत) निर्वाचित भएका छन् ।

सात सदस्यका लागि आठ जनाले उम्मेदवारी दिएकोमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा पराजित भएका छन् ।