टोकियोको २४ डिग्री तापमानमा अकस्मात किन पऱ्यो हिउँ ?

टोकियोको २४ डिग्री तापमानमा अकस्मात किन पऱ्यो हिउँ ?


■ श्याम क्षेत्री, टोकियो (जापान)

शुक्रबार जापानको राजधानी टोकियोको तापक्रम २४ डिग्री आसपास रहेको थियो । मध्यान्हमा गर्मी भइरहे पनि टोकियोमा अकस्मात हिँउ पऱ्यो !

सुन्दा अचम्म लाग्ने यो घटना काल्पनिक होइन बरु हिँउ भने कृतिम हो । कृतिम अर्थात् सन् २०२० को ओलिम्पिकको समयमा धेरै गर्मी भएमा कसरी गर्मीबाट बच्न सकिन्छ भनेर नक्कली हिउँ पार्ने प्रविधिको परीक्षण गरिएको हो ।

सी फरेस्ट वाटर वे खेलस्थलको दर्शकदीर्घामा झन्डै तीन सय किलो नक्कली हिउँ ठ्याक्कै हिउँ परेकै जसरी विस्तारै छरिएको थियो ।

ओलम्पिक आयोजना हुने समय परेको जुलाईमा राजधानी टोकियोको तापक्रम अधिकतम ४० डिग्रीसम्म पुग्ने हुँदा ओलम्पिकमा सहभागी खेलाडीदेखि दर्शक सबै गर्मीको मारमा पर्ने ठानिएको छ ।

त्यसलाई कसरी कम गर्न सकिन्छ भनेर आगामी ओलिम्पिकमा दर्शकहरूलाई स्वास्थ्य समस्या नपरोस् भन्ने उदेश्यसहित नक्कली हिउँ पारेर मौसम शितल बनाउने प्रयास आयोजकले गरिरहेको छ ।

ओलम्पिकमा रोइङ र कनूइङका खेलहरू खेलाइने खेल स्थलमै नक्कली हिउँ पारिँदा दर्शक दिर्घामा बसेकाहरुले हिउँ परेजस्तै अनुभव भएको र हिउँ परेको समयावधिमा शितल अनुभव गरेको बताए ।

शुक्रबार टोक्यो ओलिम्पिक आयोजक समितिले पाँच मिनेट नक्कली हिउँ पार्ने परीक्षण गरेको थियो ।

हिउँ पारेको समयमा मात्र शितल अनुभव गरिए पनि हिउँ पार्नुअघि र पारेर सकिसकेपछि त्यस स्थानको तापक्रम भने एउटै पाइएको बताइएको छ ।

आयोजकले नक्कली हिउँ पारेर दर्शकलाई आनन्दित तुल्याउनुका साथै शितल अनुभव गराउनु भएकाले फेरि पनि यसको परीक्षण गरिने र सहभागीहरुको अनुभवका आधारमा यसलाई प्रयोगमा ल्याउने नल्याउने निर्णय गर्ने बताएका छन् ।

२०२० टोकियो ओलिम्पिक खेलकुद जुलाई २४ देखि अगस्ट ९ सम्म जापानको राजधानी टोकियोमा आयोजना हुँदैछ ।