देशका दुस्मनहरू-२

देशका दुस्मनहरू-२


केपी शर्मा ओलीको मूल्याङ्कन उनको कार्यकाल पूरा भएपछि गर्नु उपयुक्त हुन्छ । ०७२ मा प्रधानमन्त्री भएर उनले अडान देखाउने मौका पाए पनि काम देखाउने अवसर पाएनन् । ०७४ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेपछिको यो डेढ वर्षलाई सदुपयोग गर्न नसके पनि बाँकी समयमा केही गर्ने आशाका साथ उनको मूल्याङ्कन त्यसपश्चात् हुने विश्वास गर्न सकिन्छ ।

नेपालमा जिम्मेवारी पाएर समय नपाएकाहरूमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र राजा ज्ञानेन्द्रलाई लिन सकिन्छ भने जिम्मेवारी र समय दुवै नपाउने नेतामा मदन भण्डारीको नाम लिनु उपयुक्त हुनेछ । त्यस्तै, मौका पाएर समय बर्बाद गर्नेहरूमा राजा वीरेन्द्र, माधवकुमार नेपाल, झलनाथ खनाल र शेरबहादुर देउवाको नाम सर्वाधिक अगाडि आउँछ । मौका पाएर देश नै बर्बाद गर्ने व्यक्तिका रूपमा चाहिँ गिरिजाप्रसाद कोइरालालाई लिइन्छ । गिरिजाप्रसादले प्रजातन्त्र र राष्ट्रियताको आवरणमा जे गरे त्यसबाट राष्ट्र र प्रजातन्त्र दुवैलाई दूरगामी क्षति पुगेको छ ।

महाबर्बादीका निम्ति जिम्मेवार अर्का व्यक्ति प्रचण्ड नै हुन् भन्नेमा नेपालीहरूबीच द्विविधाको स्थिति छैन । तर, प्रचण्डले आफूहरू हिंसाको पक्षमा र धर्मको विपक्षमा रहेको तथ्य आफ्ना दस्तावेजमार्फत पहिले नै सार्वजनिक गरेका थिए । कम्युनिस्टहरू राष्ट्रवादी नभई अन्तर्राष्ट्रवादी हुने जानकारी पनि सबैलाई भएकै हो । जनगणतन्त्र स्थापनाका निम्ति राजतन्त्र उन्मूलन गर्ने नारा उनले धेरै पहिलेदेखि नै लगाएका हुन् । स्थापित संस्कृति, परम्परा, धर्म र सामाजिक मूल्यमान्यताको उन्मूलन गरिने व्यहोरा पनि प्रचण्डहरूले सार्वजनिक गर्दै आएका थिए । राजनीतिक विधामा जे गरे तिनले पहिले नै उद्घोष गरेका हुनाले यसमा प्रचण्ड गलत भए पनि दोषी होइनन् भन्न सकिन्छ । तर, कम्युनिस्ट आवरणमा बसेर अथाह धन सङ्ग्रह गर्नु, धनप्राप्तिका लागि जेसुकै गर्न तयार हुनु, समाज र कानुनले भ्रष्टाचार ठहर गरेका सबै कर्ममा अगुवाइ गर्नु र विलासी जीवनशैली अपनाउनुलाई प्रचण्डको आलोचनायोग्य पाटो मानिन्छ ।

२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेला हावा पनि प्रचण्डको अनुमति लिएर मात्र बहन्छ कि भनेजस्तो स्थिति थियो । जे चाहन्थे त्यही हुने स्थितिमा प्रचण्डले देशका निम्ति केही गर्ने इच्छा राखेका भए आज नेपालीले यसरी निराशाको जीवन भोग्नुपर्ने नहुन सक्थ्यो ।

त्यस्तै, निजी महत्वाकाङ्क्षा पूरा गर्न जस्तोसुकै साधन अपनाउन तयार हुनु, आन्तरिक राजनीतिमा विदेशी भूमिकालाई प्रोत्साहन गर्नु तथा देशलाई जातीय र क्षेत्रीय आधारमा स्थायी ढङ्गले विभाजित तुल्याउनुलाई प्रचण्डबाट राष्ट्रविरुद्ध भएको अक्षम्य अपराध मानिएको छ । त्यसो त जो मानिस माओको जस्तो क्रान्ति नेपालमा चाहन्थे र, साँच्चै साम्यवादी शैलीको परिवर्तन खोज्थे, ती ‘इमानदार र क्रान्तिकारी कित्ता’ लाई पनि प्रचण्डले दिएकोचाहिँ धोखा नै हो ।

२०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका बेला हावा पनि प्रचण्डको अनुमति लिएर मात्र बहन्छ कि भनेजस्तो स्थिति थियो । जे चाहन्थे त्यही हुने स्थितिमा प्रचण्डले देशका निम्ति केही गर्ने इच्छा राखेका भए आज नेपालीले यसरी निराशाको जीवन भोग्नुपर्ने नहुन सक्थ्यो । हिंसात्मक आन्दोलनका क्रममा आफूलाई साथ दिने केही गुरिल्लाको हितलाई जति महत्व पनि उनले देशलाई दिएनन्, बाँकी जनतालाई दिएनन् । प्रधानमन्त्री भइसक्दासमेत उनको सोच–व्यवहारहरू गुरिल्ला कमाण्डरको मानसिकताभन्दा माथि उठ्न सकेन ।

प्रचण्डको नाममा खडा भएको आतङ्कको आडमा भ्रष्टाचार जसरी मौलायो त्यसको पाँच प्रतिशत मात्र मौका देश बनाउनुपर्छ भन्ने सोचले पाइदिएको भए देशको ‘यस्तो’ हविगत नहुन सक्थ्यो । तर, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, परम्परा र संसदीय प्रजातन्त्रसमेतका विरुद्ध भएको जान्दाजान्दै पनि गिरिजाप्रसाद कोइरालाले प्रचण्डका सबै अवाञ्छित कर्म र एजेण्डालाई अनुमोदन गर्नुले गिरिजालाई प्रचण्डभन्दा एक तह माथिको दोषी प्रमाणित गर्दछ । आफूले मौका (२०४८ सालमा) पाउँदा दूरगामी राष्ट्रिय महत्वका कुनै काम नगर्ने, केवल गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरूसँग निहुँ खोजेर समय गुजार्ने, त्यसपछि देश र प्रजातन्त्रविरुद्ध सक्रिय रहेका प्रचण्डलाई अनुमोदनसमेत गर्ने कार्य भएकोले गिरिजाप्रसाद कोइरालालाई महाबर्बादीको प्रमुख पात्र ठहर गर्नु उपयुक्त हुनेछ ।

कसैलाई गिरिजाप्रसाद र प्रचण्ड बराबर जिम्मेवार छन् भन्ने लागेको छ भने त्यसमा पनि विमति जनाइरहनुपर्ने नहुन सक्छ । प्रधानमन्त्रीसम्म बन्न सफल भएकामध्ये राष्ट्रले कहिल्यै क्षमा दिन नसक्नेहरूमा गिरिजाप्रसाद कोइराला र प्रचण्ड नै भएकोमा बहस गरिरहनुपर्ने छैन । यी दुवै आत्मकेन्द्रित चरम महत्वाकाङ्क्षी, गैरराष्ट्रवादी, विलासी, इमान र निष्ठाविहीन व्यक्ति भएको पुष्टि गर्न अनेकानेक घटना सन्दर्भहरू छन् ।

महाबर्बादीका अन्य पात्रहरू पनि छन्, तिनका बारे आगामी अङ्कमा लेखिनेछन्, तर तिनले गिरिजा र प्रचण्डलाई नेता थापेर आफ्नो अभीष्ट पूरा गरेको हुनाले ‘यी दुई’ बराबर दोषी अरू कसैलाई ठान्नु उपयुक्त नहुन सक्छ ।

■ डीपीटी

यो पनि हेर्नुहोस्-

नेपालको समृद्धिका शत्रुपक्ष-१
https://www.ghatanarabichar.com/160333