युवा पुस्तामा हिन्दू जागरणको खाँचो

युवा पुस्तामा हिन्दू जागरणको खाँचो


■ इन्द्रबहादुर बराल

नेपाली समाजमा बढ्दो इसाईकरणको प्रमुख कारणहरूमध्ये एउटा युवा पुस्तामा हिन्दू जागरणको पुस्तान्तरण नहुनु नै हो । साथै अरू पनि धेरै कारण छन् जसले गर्दा हिन्दुविरुद्ध चलखेल गरियो भन्दै अरूलाई गाली गर्नु परिरहेको छ । कुनै पनि समाजले यतिबेला विज्ञानको प्रभावलाई अस्वीकार गर्न नसक्ने अवस्था एकतिर छ भने अर्कोतिर धर्म र संस्कृतिबारे स्कुल–कलेजमा पठनपाठनको प्रभावकारी र महत्वपूर्ण स्थान नहुँदा नेपालमा विशेष गरेर हिन्दूधर्म र संस्कृतिप्रति आकर्षण कम भएको देखिँदै छ । त्यसमा पनि नेपालको संविधान २०७२ ले धर्मनिरपेक्षताको कल्पना गरेबाट हिन्दूविरोधीहरू बढी नै उत्साहित भएका देखिन्छन् भने हिन्दूहरू प्रकारान्तरले पराजित मानसिकतामा छन् ।

सरकारी तथ्याङ्क (२०६८) ले नेपालमा ८१.१ प्रतिशत त हिन्दूहरू मात्रै रहेको देखाउँछ । त्यसमा अझै ॐकार परिवार जोड्दा ९४ प्रतिशत हुन आउँछ । यस्तो तथ्याङ्क हुँदाहुँदै पनि नेपाल ‘धर्मनिरपेक्ष’ हुनुका पछाडि गम्भीर घुसपैठ र षड्यन्त्रले काम गरेको छ भन्दा कुनै आपत्ति जनाउनुपर्दैन । लोकतन्त्रमा बहुमतको कदर हुन्छ भनिन्छ । तर, ८१.३ प्रतिशत हिन्दू भएको मुलुक धर्मनिरपेक्ष हुनु आफैँमा आश्चर्यको विषय हो । र, यस परिवेशमा हिन्दूराष्ट्र घोषणाको माग गर्नु वा हुनु अत्यन्तै स्वाभाविक देखिन्छ ।

तर, हिन्दूवादीहरूले विशुद्ध हिन्दूको मुद्दा मात्रै लिँदा राम्रो र माग बलियो हुन्थ्यो, हिन्दूराजाको मुद्दा पनि सँगसँगै उठाउँदा अलिक बहकिएको प्रतीत हुन्छ । यसर्थ हिन्दूधर्म पुनर्स्थापनाको सवाललाई मात्रै जोड दिएर अघि बढ्दा त्यो अभियान सशक्त हुने अनुमान गर्न सकिन्छ । तथापि, विद्यमान अवस्थालाई हेर्दा राजतन्त्रको पुनर्स्थापना पनि ठीकै हो कि भन्ने अनुभूति पनि गरिँदै छ ।

अहिलेको दुईतिहाइको सरकार इसाईहरूको प्रभाव र पछि परेको हेर्दा चानचुने मिहिनेत र सङ्घर्षबाट नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना हुन सक्ने स्थिति थिएन र छैन । यसर्थ नेपालको शिक्षानीतिमा नै माटोसुहाउँदो व्यापक परिवर्तन गर्नु आवश्यक छ । मातृ देवो भवः गुरु देवो भवः अतिथि देवो भवः जस्ता गहन सारपूर्ण नैतिक शिक्षाले हाम्रो धर्म–संस्कृतिको जगेर्ना सहज बनेको थियो । आज त्यो शिक्षाको अभाव अर्थात् संस्कृत शिक्षाको कमीले समाज उशृङ्खल र उजाड बन्दै गयो । समाजमा यथोचित मानसम्मानको कुनै स्थान नै छैन । यो सब केले भयो भन्ने विषयमा गम्भीर खोज र निराकरण हुन आवश्यक छ ।

हरेक विषयवस्तुलाई नवयुवाहरूले विज्ञानको कसीमा राखेर हेर्ने गर्दछन् । त्यसकारण हिन्दूधर्मलाई पनि विज्ञानकै कसीमा राखेर त्यसको व्याख्या–विश्लेषण गर्न सक्यो भने निःसन्देह हिन्दूधर्मको पुनर्स्थापना त्यति कठिन हुनेछैन ।

यही विषयमा सोचविचार गर्दा प्रमुख कारण नैतिक शिक्षाको अभाव नै हो भन्ने देखिन्छ । जुन समाजमा शिष्टाचारसम्बन्धी शिक्षादीक्षा हुँदैन या दिइँदैन त्यो समाज निश्चय पनि उशृङ्खल, असभ्य र अराजक हुन्छ । यसमा बहस गरिरहनै पर्दैन, सबैले अनुभूति गरेकै कुरा हो । युवा पुस्तामा हिन्दू जागरणको खाँचो यसै महसुस गरिएको होइन । यहाँ हिन्दूधर्म भन्नेबित्तिकै पहेँला लुगा लगाएर भीख माग्दै हिँड्नेतर्फ ध्यान जान्छ । त्यस्तै अन्य केही कर्मकाण्डको उदाहरण देखाउने गरिन्छ, जसले गर्दा अहिलेको युवा पुस्तालाई हिन्दूधर्मबाट भड्काएर अन्यत्र मोड्ने काम भइरहेको छ । त्यसैले हिन्दूधर्मका गुरु र अभियन्ताहरूले युवा पुस्तामा पर्न गएको भ्रमलाई हटाउनुपर्छ । त्यस्तो भ्रम हटाउन पनि विज्ञानसम्मत (अर्थात् तथ्यपरक) उपायहरूको सूत्रमार्फत जानुपर्छ ।

अहिलेको युग विज्ञान र भौतिकवादी युग हो । हरेक विषयवस्तुलाई नवयुवाहरूले विज्ञानको कसीमा राखेर हेर्ने गर्दछन् । त्यसकारण हिन्दूधर्मलाई पनि विज्ञानकै कसीमा राखेर त्यसको व्याख्या–विश्लेषण गर्न सक्यो भने निःसन्देह हिन्दूधर्मको पुनर्स्थापना त्यति कठिन हुनेछैन । यो विज्ञानको युग हो तापनि पश्चिमाहरूले वेद आधुनिक विज्ञान हो भनी व्यापक बहस प्रारम्भ गरिसकेका छन् । नेपालमा पनि Vedic Sciene and Modern science बारे गम्भीर छलफल तथा गोष्ठीहरू भएका छन् । तर, हिन्दू अभियन्ताहरू धर्मको खोलमा मन्त्री, सांसद बन्ने वा विभिन्न त्यस्तै अभीष्ट सिद्धि गर्ने आकाङ्क्षा राखेर अघि बढेका देखिन्छन् । जसले गर्दा हिन्दूधर्म पुनर्स्थापनाको सवाल कमजोर भएको महसुस हुन्छ । विचारणीय कुरा के हो भने अब हिन्दू अभियन्ता र धर्मगुरुहरूले युवा पुस्तातिर ध्यान पुऱ्याउनैपर्छ । हिन्दूधर्मको पुनर्स्थापनाभन्दा पनि त्यसको औचित्य र आवश्यकता महसुस हुने गरी शिक्षामा जोड दिनुपर्ने देखिन्छ ।

हिजोको तुलनामा हाम्रो समाज अन्धविश्वास र रुढीवाढीबाट धेरै माथि उठिसकेको छ । यो यथार्थतालाई स्वीकार गर्दै समयसापेक्ष युवापुस्तालाई कस्तो शिक्षादीक्षा र ज्ञानविज्ञानले अनुशासित, मर्यादित र लगनशील बनाउन सकिन्छ भन्नेतर्फ गम्भीरतापूर्वक लाग्नुपर्छ । आजको आजै सबै ठीक हुन्छ भन्ने भ्रमबाट मुक्त भई एउटा लामो प्रक्रियामा जान तयार हुनुपर्छ । एकैरातमा सबै परिवर्तन सम्भव छैन । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन दुई सय वर्षभन्दा बढी लागेको अनुमान गर्न सकिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बेलामौकाका दिव्य उपदेशमार्फत फिरङ्गी (युरोपियन)हरूको उपस्थिति देश, धर्म र संस्कृतिप्रति खतरा छ भन्ने सन्देश जो दिएका थिए, त्यो आज प्रमाणित भएको छ ।

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले बेलामौकाका दिव्य उपदेशमार्फत फिरङ्गी (युरोपियन)हरूको उपस्थिति देश, धर्म र संस्कृतिप्रति खतरा छ भन्ने सन्देश जो दिएका थिए, त्यो आज प्रमाणित भएको छ ।

देशका प्रधानमन्त्रीले आफ्नो निवास छाडेर तीन–तीन दिन विदेशी विधर्मीहरूसँग होटेलमा बसेर देशकै स्वाभिमानमाथि त्यत्रो आँच पुऱ्याए । राष्ट्रियताको कुरा गरेर नथाक्ने प्रधानमन्त्रीको राष्ट्रवाद होली वाइनसँगै बगेर कहाँ गयो ? त्यतिले मात्रै पुगेन, क्रिश्चियनहरूले प्रदान गरेको पीएचडीको उपाधि थाप्न कहाँ मात्रै पुगेनन् उनी ? सरकारप्रमुखका यस्ता हर्कतले हाम्रो स्वाभिमान, स्वाधीनतालाई र स्वतन्त्रताको उपहास बनाएको छ । तैपनि हामी जयजयकार गर्दै हिँडेका छौँ ।

यसर्थ, नेपालीले आफ्नो मौलिक धर्म–संस्कृति (हिन्दू) को जगेर्ना गर्ने हो भने कुनै न कुनै रूपमा औपचारिक शिक्षा नसके पनि अनौपचारिक ढङ्गले अहिलेको युवा पुस्तामा हिन्दू जागरण अभियानमार्फत हिन्दू धर्म–संस्कृतिको आवश्यकताको महत्व बुझाउन सक्नुपर्छ । विज्ञानसँगसँगै धर्म, संस्कार र संस्कृति पनि जान वा लान सके मानवजगत् अत्यन्त सभ्य र सुसंस्कृत हुने कुरामा कुनै द्विविधा रहने छैन । तर, एउटै कुरा के ख्याल गर्नुपऱ्यो भने धर्म–संस्कृतिको परम्परागत शैली र व्यवहारले यो पुस्तालाई विश्वस्त पार्न अलि कठिन छ । त्यसैले हिन्दू धर्म–संस्कृतिलाई विज्ञानको कसीमा परीक्षणपश्चात् मात्र युवापुस्तामा विश्वास जगाउन सकिन्छ । यो कुरा हिन्दू जागरण अभियानका अभियन्ताहरूले गम्भीर रूपले ग्रहण गर्नुपर्छ ।

आज इसाईहरू घर/घरमा धर्म प्रचारका सामग्री लिएर ढोका ढक्ढकाउँदै हिँडेका छन् । तर, हिन्दू अभियन्ताहरूको गतिविधि त्यति प्रभावकारी नहुनुपछाडिका कारणहरू पनि केलाउनु आवश्यक छ । कसैले हिन्दूवादीको इच्छाविपरीत केही फरक धारणा राखिदिनेबित्तिकै क्रिश्चियनको पैसा खाएछन् भन्ने सजिलो तर्क हिन्दूधर्मको पुनर्स्थापना अभियानमा सहायक सिद्ध हुन सक्दैन । आफ्ना कमी–कमजोरीलाई सच्याउँदै युवा पुस्तामा हिन्दू जागरणको अभियान एक मात्र विकल्प हो । त्यसको लागि त्यागको आवश्यकता पर्छ । त्यागबिना फल प्राप्त गर्न सकिँदैन । त्यसले वैज्ञानिक युगको हाँकलाई विज्ञानसम्मत ढङ्गले धर्म–संस्कृतिको व्याख्या–विश्लेषण नगरेसम्म हिन्दूधर्मको पुनर्स्थापनाको यात्रा अरण्य रोदन मात्रै हुने निश्चित छ ।