२७७ जना चिनियाँ ठगी आरोपमा फिलिपिन्समा पक्राउ

२७७ जना चिनियाँ ठगी आरोपमा फिलिपिन्समा पक्राउ


फिलिपिनी अधिकारीहरूले अनलाइनमार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौँ व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरूले फिलिपिन्समा समेत यस्तै सिन्डिकेट चलाएको प्रहरीको भनाइ छ ।

अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरू मनिलास्थित चिनियाँ राजदूतावासको सूचनाका आधारमा पक्राउ परेको पनि मोरेन्टेले बताए ।

चिनियाँ दूतावासका अनुसार पक्राउ परेका व्यक्तिबाट चीनमा एक हजारभन्दा बढी व्यक्ति पीडित भएका छन् ।

मोरेन्टेले शुक्रबार जारी गरेको विज्ञप्तिमा प्रारम्भमा छानबिनका लागि शंकास्पद चारजना चिनियाँ नागरिकलाई पक्राउ गर्न आदेश दिइएको उल्लेख छ । तर, गैरकानुनी अनलाइन व्यवसाय सञ्चालन गरेको भेटिएपछि अरू २७३ जना पक्राउ परेको मोरेन्टेले बताए ।

चिनियाँ अधिकारीहरूका अनुसार चीनमा ठूलो मात्रामा ठगी धन्धामा संलग्न केही व्यक्तिले फिलिपिन्समा आश्रय लिएका छन् । उनीहरूको पासपोर्टसमेत चीनले रद्द गरेको बताइएको छ ।