निर्वाचन-प्रतिनिधिलाई किन दिए खेलकुदमन्त्रीले दबाब ?

निर्वाचन-प्रतिनिधिलाई किन दिए खेलकुदमन्त्रीले दबाब ?


■ श्रीविक्रम भण्डारी

नेपाल ओलम्पिक कमिटी निर्वाचन प्रतिनिधिलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले दबाब दिएको समाचार प्राप्त भएको छ । मन्त्री विश्वकर्माले नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनमा प्रतिनिधित्व गर्ने विभिन्न संघका पदाधिकारीहरुलाई हिजो (२६ भदौ) मन्त्री क्वाटर पुल्चोकमा बोलाएर दबाब दिएको स्रोतले बताएको छ ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को भावी रणनीतिका बारेमा छलफल गर्न मन्त्री विश्वकर्माले बैठक बोलाएको भनिए पनि उक्त वैठकमा भदौ २८ गते शनिवार हुने नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको बारेमा विशेष छलफल भएको बुझिएको छ ।

सो वैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्षका उम्मेद्वार उमेशलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिना, सदस्यसचिव रमेशकुमार सिलवाल र केहि संघका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकमा मन्त्री विश्वकर्माले उपस्थित संघका प्रतिनिधिहरुलाई अध्यक्ष, उपाध्यक्ष र महासचिवका उम्मेदवार उमेशलाल श्रेष्ठ, राजीव श्रेष्ठ र पुरेन्द्र लाखेलाई सहयोग गर्न दबाव दिएको स्रोतले जानकारी गराएको छ ।

नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र महाचिवको पदमा नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबीच भीडन्त हुँदैछ । त्यसमा पनि यी सबै उम्मेद्वार तत्कालीन एमाले पार्टी सम्बद्ध छन् । तर गुट फरक भएकै कारण एकले अर्काको विरुद्धमा उम्मेद्वारी दिएका हुन् । वर्तमान ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ माधव नेपाल र उमेशलाल श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओली गुटको रुपमा परिचित छन् ।

सर्वोच्चले नेपाल ओलम्पिक कमिटीको कार्यसमितिको निर्वाचनको मार्ग प्रशस्त गरेपछि भदौ २४ गते निर्वाचन कमिटीले नेपाल ओलम्पिक कमिटीको निर्वाचनको मिति भदौ २८ गते तोकेको थियो । वर्तमान अवस्थामा ओलम्पिक कमिटीको निर्वाचनमा जीवनराम निकै बलियो स्थितिमा देखिएपछि मन्त्री विश्वकर्माले केही संघका प्रतिनिधिलाई मन्त्री क्वाटरमा बोलाएर दबाब दिएको बुझिएको छ ।

वर्तमान अवस्थामा नेपाल ओलम्पिक कमिटीको निर्वाचनको विश्लेषण गर्दा जीवनराम श्रेष्ठको पक्षमा कम्तीमा १९ र उमेशलाल श्रेष्ठको पक्षमा बढीमा ८ भोट देखिएको छ । यही कुरालाई आत्मसात गर्दै अध्यक्षका उम्मेदवार उमेशलाल दलबलसहित मन्त्री क्वाटर पुगेको स्रोतको दाबी छ । खेलकुद मन्त्री, उपाध्यक्ष र सदस्यसचिव प्रधानमन्त्री ओली गुटका भएका कारण नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पनि पड्काउन अहिले खेलकुद मन्त्री घुँडा धसेर लागेको बुझिएको छ ।