जापानको गुन्माकेनमा नेपाल फेस्टिवलको तयारी तीव्र

जापानको गुन्माकेनमा नेपाल फेस्टिवलको तयारी तीव्र


■ श्याम क्षेत्री, गुन्मा (जापान)

जापानको गुन्माकेनमा हुन लागेको पहिलो नेपाल फेस्टिवल गुन्मा २०१९ भव्य रुपमा सफल बनाउन आयोजक नेपाली साझा समाजसहित जापानको सरकारी निकायले प्रचार र व्यवस्थापनमा तीव्रता दिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचारसहित नेपालको संस्कृति, कला एवं भेषभुषालाई जापानीमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको फेस्टिवललाई यहाँको ओइजुमी नगरपालिकाले सह आयोजकको रुपमा सघाएको छ ।

नगरपालिकाले सरकारी कार्यालयहरुमा प्रचार सामग्री राखेर प्रचार गर्नुका साथै आफ्नो आधिकारिक ट्विटरलगायत सामाजिक सञ्जालबाट समेत नेपाल फेस्टिवलको प्रचारमा सहयोग गरिरहेको छ ।

आईजिमी माचीका मेयर मुरायामा तोसिआकी स्वयं प्रमुख अतिथिको रुपमा सहभागी हुने फेस्टिवलमा ओइजुमी प्रहरी प्रमुख सहित यहाँका सांसदको समेत उपस्थिति रहने निश्चित भइसकेको फेस्टिवल आयोजक संस्था नेपाली साझा समाज गुन्माका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

नेपाल फेस्टिवल गुन्मा २०१९ लाई सफल बनाउन आशा कल्चर एकेडेमी म्युजिक व्याण्ड जापानका कलाकारहरुको सहभागिता रहने भएको छ ।

गायक सुर्य खड्कासहित भरत सुनुवार, खड्क पुन, विनोद गुरुङ, दिनेश पुन, सन्देश श्रेष्ठ, अजय लामा, अशोक गुरुङ, दानबहादुर पुन, कुशल न्यौपाने लगायतको टोलीले नेपाली मौलिक बाजागाजा सहितको सांगीतिक प्रस्तुति फेस्टिवलमा प्रस्तुत गर्ने भएको छ ।

यसैगरी, देउराली पञ्चे बाजा समुह टोकियोका साथै जापानमा रहनुभएका लोकप्रिय नेपाली कलाकारहरुले आफ्नो सांगीतिक प्रस्तुति र कलाकारिता प्रस्तुत गर्ने हुनुभएको आयोजकले जानकारी दिएको छ ।

रञ्जय अमात्यको संयोजकत्वमा कार्यक्रम संयोजक समितिले फेस्टिवलको तयारी व्यवस्थापनलाई तीव्रता दिइरहेको र उपसंयोजकहरु मञ्जु क्षेत्री, सञ्जय गुरुङ, शेखर डंगोल लगायतबाट फेस्टिवलको प्रचारप्रसारसहित कार्यक्रम आयोजनाको काम तीव्रगतिमा भइरहेको छ । आलोक श्रेष्ठले फेस्टिवल सञ्चालनको लागि आर्थिक व्यवस्थापनको काम गरिरहनुभएको छ ।

नेपाल फेस्टिवल गुन्मा २०१९ सफल बनाउन मुल कमिटीमा निरज गुरुङ सचिव रहनुभएको छ भने सदस्यहरुमा राजेश खनाल, रितेश महर्जन, नवीन श्रेष्ठ, हिरा रसाईली, प्रज्ञा गिरी, कमल शेरचन, कृष्ण नगरकोटी र रमेश अधिकारी रहनुभएको छ ।

जापानीहरु माझ नेपालको पर्यटकीय गन्तव्य चिनाउँदै नेपाल भ्रमणमा आकर्षित गर्ने लक्ष्यसहित नेपालको पहिचान झल्कने कार्यक्रम, पर्यटनसम्बन्धी सूचना र नेपालको मौलिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम गुन्मा फेस्टिवलको मुख्य आकर्षण हुने भएको छ ।

नेपालको चिनारी रहेको बाटुले घर, नेपाली मौलिक परम्परा झल्काउने जाँतोसहित नेपाली भेषभुषा र कलासंस्कृतिलाई फेस्टिवलमा आकर्षक रुपमा सजाएर प्रदर्शनमा राख्न लागिएको आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्धि शेरचनले जानकारी दिनुभयो ।

आगामी सेप्टेम्बर महिनाको २८ र २९ तारिख शनि र आइतबार हुन लागेको दुईदिवसीय नेपाल फेस्टिवल गुन्मा केन ओइजुमी माचीस्थित ईजुमी नो मोरिमामा हुँदैछ ।

नेपाली साझा समाज जापानको मुख्य आयोजनामा हुन लागेको नेपाल फेस्टिवल गुन्मा २०१९ मा यहाँको सरकारी निकाय ओइजुमी नगर सहआयोजक रहेको छ ।

जापानमा भएको नेपाल फेस्टिवल सफल पार्न जापानको सरकारी निकाय नै सह आयोजक बनेर नेपालको पर्यटन प्रर्वद्धन र प्रचारमा सहयोग गरेको यो नै पहिलोपटक हो ।