कसरी रोक्ने युवा पलायन ?





■ जेसी अरुणेश्वर खनाल

नेपालबाट बर्सेनि हजारौँको सङ्ख्यामा दक्ष तथा अदक्ष जनशक्ति रोजगारीका सिलसिलामा देशबाहिर जाने क्रम जारी छ । तीमध्ये अधिकांश १८ वर्षदेखि ४० वर्षसम्मका युवा नै हुने गर्दछन् । देशलाई आवश्यक पर्ने सक्रिय र आवश्यक जनशक्ति देशबाहिर पलायन हुँदा यसले राज्यलाई पर्ने घाटाको हामी आकलनसमेत गर्न सक्दैनौँ । भलै बिदेसिएका नेपालीले पठाएको रेमिट्यान्स देशको अर्थतन्त्रको एउटा बलियो आधार हो, तर यसलाई अर्थतन्त्रको बलियो आधार मानेर आत्मरतिमा रमाइरहने हो भने देश एक दिन युवाविहीन अवस्थामा पुग्ने निश्चित छ । अहिले पनि देशका दूरदराजदेखि विकसित सहरहरूमा समेत तुलनात्मक रूपमा युवाहरूको सङ्ख्या निकै कम छ । उनीहरू कि त अध्ययनको सिलसिलामा बाहिरिएका छन् कि रोजगारीको सिलसिलामा । तीमध्ये अधिकांश रोजगारीकै सन्दर्भमा बाहिरिएको तथ्याङ्कहरूले पुष्टि गरेका छन् । यसको मूल कारण देशमा प्रशस्त रोजगारीको सिर्जना हुन नसक्नु, उद्यमशीलताको विकास हुन नसक्नु र स्वरोजगारमूलक व्यवसाय गर्नका लागि चुनौती हुनु नै प्रमुख कारण हो । यी विषयमा चर्चा गर्नुपूर्व सङ्क्षेपमा तलका विषयवस्तुमा चर्चा गरौँ ।

युवा भनेको के हो ?

युवा भनेको किशोरावस्थामाथिको सामाजिक, आर्थिक, सांस्कृतिक जिम्मेवारी बोध गर्ने शुरुवात गर्दैको र शारीरिक रूपमा परिपक्वता हासिल गरेको अवस्था हो । नेपालको सन्दर्भमा युवाको उमेरबारे छलफल गर्नुअघि केही अन्तर्राष्ट्रिय अभ्यासलाई विश्लेषण गर्नु जरुरी हुन्छ । संयुक्त राष्ट्रसङ्घले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई युवाको परिभाषाभित्र समेटेर उनीहरूको प्राथमिकताका विषयसमेत तोकेको छ । युवालाई उमेरको आधारमा हेर्ने हो भने भिन्न देशले भिन्न उमेरलाई युवा उमेर भनेर तोकेका छन् । फिलिपिन्स र बंगलादेशले १५ देखि ३० वर्षको उमेरलाई युवा मानेका छन् । जापानले २४ वर्षसम्मको उमेरलाई युवा मानेको छ । यसैगरी दक्षिण अफ्रिकाले १५ देखि २९, जर्मनीले १४ देखि २६, भारतले १५ देखि, ३५ चीनले १४ देखि २८ वर्षसम्मको उमेर समूहलाई युवा समूह मानेका छन् । नेपालको सन्दर्भमा १६ देखि ४० वर्षका मानिसलाई युवा मानिएको छ । जेसिजले १८ देखि ४० वर्षसम्मका मानिसलाई युवा मानेर त्यहीअनुसार आफ्नो क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।

युवा नीति, २०६६ (परिमार्जित संस्करण २०७२) र राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले युवाको हकहितको संरक्षण र सम्वद्र्धन गरी समुन्नत मुलुक निर्माण गर्न राष्ट्रिय युवा परिषद्को स्थापनाको बाटो खोलेको थियो । नेपालमा युवा परिषद्को गठनसँगै युवाको सर्वाङ्गीण विकासका कार्यक्रमहरू हाल यसै संस्थाबाट सञ्चालन हुन थालेका छन् । राष्ट्रिय युवा परिषद्लाई मार्गनिर्देशन गर्ने दस्तावेजका रूपमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२, राष्ट्रिय युवा नीति, २०७२ र युथ भिजन २०२५ रहेका छन् । परिषद्ले विशेष गरी राष्ट्रिय युवा नीति र युथ भिजन २०२५ एवम् युवा विकासका लागि दीर्घकालीन रणनीतिक योजनाको भावना र मर्मबमोजिम आफ्ना भूमिकाहरूलाई अगाडि बढाइरहेको छ । यसका लागि युवा विकासका आधारशिलाका रूपमा रहेका क्षेत्रहरूलाई पहिचान गरी पाँचवटा आधारस्तम्भहरू निर्माण गरिएका छन् जुन क्षेत्रहरू युवाको चौतर्फी विकास र देशको समृद्धिसँग पनि जोडिएका छन् । यसमा गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास र खेलकुद र मनोरञ्जन रहेका छन् । तर, प्रभावकारी नीतिनियम र भएगरेका नीतिनियमको पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा नेपालमा युवाहरू अवसरहरूबाट वञ्चित हुनुपरेको छ ।

जब युवाहरू देशभित्र नै अवसरहरूबाट वञ्चित हुन्छन् तब उनीहरूसँग बिदेसिनु र पलायन हुनुको विकल्प हुँदैन । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने एक घन्टामा करिब ३३ युवा वैदेशिक रोजगारका लागि काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गर्दछन् । त्यो सङ्ख्या महिनामा करिब चौबीस हजार हुन जान्छ । तर, खुला सिमाना हँुदै भारतमा रोजगारमा जानेको सङ्ख्या अझै त्योभन्दा बढी हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

नेपालमा प्रत्येक वर्ष करिब चार लाख युवा श्रमबजारमा अवसरमा प्रवेश गर्ने गर्दछन्, तर त्यसको आधाभन्दा बढी सङ्ख्या बेरोजगार नै रहन्छ । यसरी देशबाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १८–४० उमेर समूहका छन् । युवा रोजगारीको यस्तो डरलाग्दो तस्बिर सार्वजनिक भइरहँदा नेपालको नीतिनिर्माता र राजनीतिक समुदाय भने यसप्रति खासै चिन्तित देखिँदैन, यो निकै विडम्बनाको विषय हो ।

राज्य र नीतिगत तवरबाट नै युवाहरूको अधिकारका निम्ति पर्याप्त कामहरू हुन नसकेका कारण अहिले नेपालका ४० लाखभन्दा बढी नेपाली रोजगारीका निम्ति बिदेसिनुपरेको छ । राज्यले आफ्नो नीतिमा व्यापक सुधार नगरेसम्म न त युवा पलायन रोक्न सकिन्छ न त देशको समृद्धिको कल्पना गर्न सकिन्छ । यो आकाशको फल आँखा तरी मर भनेजस्तै हो ।

उद्यमशीलता र युवा

उद्यम गर्न सक्ने सीप र ज्ञानको विकास गर्नु नै उद्यमशीलता हो । उद्यमशीलताको विकासबिना देशको विकास सम्भव छैन । हाम्रो देशमा पनि युवालाई देशबाट पलायन हुन रोक्ने हो भने उद्यमशीलताको विकास गर्न आवश्यक छ । उद्यमशीलताको विकास र स्वरोजगारमूलक व्यवसायको सिर्जना गर्न सकिएन भने देशमा समृद्धि सम्भव नै छैन । यसका लागि राज्यले युवामाथि लगानी गर्नु जरुरी रहन्छ । क्षतमावान् जनशक्ति भनेकै युवाशक्ति अर्थात् शारीरिक र मानसिक क्षमताको साथ काम गर्न सक्ने क्षमतावान् व्यक्तिहरू नै हुन् । यसकारण युवाहरूमा लगानी गर्नु नितान्त आवश्यक रहन्छ । तर, विडम्बनाको कुरा नेपालमा युवामाथि हेर्ने दृष्टिकोण त्यति राम्रो देखिँदैन । युवामाथि अहिले भएका लगानी पनि त्यसै खेर गइरहेको अवस्था छ । अथवा भनौँ केही सीमित पहँुचवालाले मात्र राज्यले युवामाथि गरेको लगानीको स्वाद चाख्न पाएका छन् ।

विपन्न, सीमान्तकृत र आफ्ना कुनै पहुँच नभएका युवालाई उनीहरूमाथि राज्यले गर्ने लगानीको कुनै अर्थ छैन । यस्तो अवस्थामा युवा उद्यमशीलताको विकास गर्न सम्भव देखिँदैन । राज्य र नीतिगत तवरबाट नै युवाहरूको अधिकारका निम्ति पर्याप्त कामहरू हुन नसकेका कारण अहिले नेपालका ४० लाखभन्दा बढी नेपाली रोजगारीका निम्ति बिदेसिनुपरेको छ । राज्यले आफ्नो नीतिमा व्यापक सुधार नगरेसम्म न त युवा पलायन रोक्न सकिन्छ न त देशको समृद्धिको कल्पना गर्न सकिन्छ । यो आकाशको फल आँखा तरी मर भनेजस्तै हो ।

युवाहरू भनेका देशका सम्पत्ति हुन् । युवाहरूको दक्षता र क्षमता विकास हुन सकेको खण्डमा मात्र सही रूपमा राज्य सफल हुन सक्छ भन्ने कुरा राज्य सञ्चालकहरूले बुझ्न नसकेका कारण यो अवस्था आएको हो । युवाहरूका निम्ति बिनाधितो कर्जा उपलब्ध गराउने उद्देश्यले स्थापना भएका संस्था युवा स्वरोजगार कोषबाट लगानीका निम्ति कर्जा लिने प्रक्रिया पनि आफैँमा निकै कठिन छ । उक्त कर्जा लिन वर्षौँ कुर्नुपर्ने, कर्जा रकम पनि थोरै रहेको र सबैलाई कर्जा उपलब्ध हुन सक्छ भन्ने अवस्थासमेत नरहेका कारण उद्यमशील व्यक्तिहरूले उक्त कर्जाको लागि प्रक्रिया अघि बढाउने क्रममा वर्षौँ कुर्नुपर्ने अवस्था छ ।

नेपालमा आफैँ नै नेपालमा नै रहेर केही काम गर्नुपर्छ भन्ने मानसिकता बोकेका युवाहरू पनि नभएका होइनन् । तर, यस्तो सोचले सच्चा सकारात्मक उद्देश्य राखेर स्थापना भएका व्यक्तिहरूका निम्ति भने राज्यले कहीँकतैबाट सहयोग गर्न सकेको छैन । नेपाल सरकारमातहतका अधिकांश कार्यक्रम पहुँचवालाहरूको नियन्त्रणमा छन् । नेपालमा विभिन्न देशबाट लगानी भित्र्याउने गैरसरकारी संस्थाहरूले गरेको लगानीको प्रतिफल पनि तुलनात्मक रूपमा निकै कम छ । ग्रामीण क्षेत्रका जनतालाई नै देखाएर ल्याइने रकम कत्तिको सदुपयोग हुन सकेको छ ? ग्रामीण क्षेत्रमा उक्त रकम के काममा प्रयोग हुन सक्यो र त्यसबाट कुन वर्ग कसरी लाभान्वित हुन सक्यो ? भन्ने सम्बन्धमा पनि अब हामीले खोजीनिती गर्ने बेला आएको छ । कुरा जति नै गरे पनि मूल कुरा युवाहरूलाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने नै हो । यदि उनीहरूलाई यी विषयवस्तुसँग जोड्न सकियो भने मात्र उनीहरूलाई पलायन हुनबाट रोक्न सकिन्छ । यदि आफ्नै देशमा प्रशस्त मात्रामा अवसर हुने हो भने कसैलाई पनि बिदेसिने रहर हुँदैन, तसर्थ सम्बन्धित निकायले तत्काल यसतर्फ ध्यान दिन आवश्यक छ ।

नेपालका अधिकांश स्थानका खेतबारी अहिले बाँझो हुँदै गएका छन् भने नेपाल परनिर्भर बनिरहेको अहिलेको अवस्थामा नेपालमा भएका युवालाई कसरी नेपालमा नै सानो लगानीबाट सफल उद्यमी बन्न सकिन्छ भन्ने सम्बन्धमा पनि नेपाल सरकारमातहत नै त्यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । तर, यस्ता कार्यक्रम नेपाल सरकारको प्राथमिकताको विषय नै बन्न नसक्नु निकै दुःखको विषय हो ।

नेपालमा सानो लगानीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिने क्षेत्रहरूमध्ये घरेलु तथा साना उद्योग निकै राम्रो सम्भावना रहेको क्षेत्र हुन सक्छ । यस्ता कतिपय क्षेत्रमा लगानीपश्चात् बजारीकरण समस्याको रूपमा रहेको पनि पाइन्छ । यस्तै अवस्थामा सम्बन्धित व्यक्तिले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको ग्यारेन्टी गर्न सक्ने सशक्त संस्था वा कम्पनी स्थापना हुनुपर्ने आवश्यकतासमेत देखिएको छ ।

नेपाल जेसिज पनि युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्थाको रूपमा लामो समयदेखि नेपालमा क्रियाशील छ । व्यक्तित्व, नेतृत्व र क्षमताको विकास हुनु भनेको मूल रूपमा उद्यमशीलताकै विकास हुनु हो । तसर्थ अब जेसिजले आफ्ना कार्यक्रमलाई उद्यमशीलतासँग जोड्न आवश्यक छ । उद्यमशीलतासँग जोडेर जेसिजले आफ्ना कार्यक्रम सञ्चालन गर्न सक्यो भने पक्कै पनि हजारौँ युवा यसबाट लाभान्वित हुनेछन् । उद्यमशीलतासँग आवश्यक तालिम तथा प्रशिक्षणहरू र व्यावहारिक तबरको उद्यमशीलताको विकासमा जेसिजमा लाग्न आवश्यक छ । यदि यसो गर्न सकियो भने युवा पलायन रोक्न जेसिजले पनि एक महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । यसका लागि नेपाल जेसिजले राज्यका निकायहरूसँग सहकार्य गर्न आवश्यक छ ।

जेसिजको अबको नेतृत्वले त्यो गर्न सक्यो भने यसबाट हजारौँ युवा लाभान्वित हुने कुरामा दुईमत छैन । राज्यले पनि ५५ वर्षदेखि युवाको क्षेत्रमा काम गरिरहेको र हजारौँ युवाको नेतृत्व गर्ने नेपाल जेसिजलाई विश्वास गर्न आवश्यक छ । यदि राज्यले जेसिजलाई विश्वास गर्ने हो भने देशभर उद्यमशीलतासम्बन्धी तालिम तथा प्रशिक्षण सञ्चालन गरेर जेसिजले युवहरूलाई उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । देशभर १५० भन्दा बढी जेसिजका शाखामार्फत युवाहरूलाई उद्यमशील बनाउन जेसिजले प्रेरित मात्र गर्दैन उनीहरूलाई उद्यमशील बनाउन जेसिज सक्षम पनि छ । यसका लागि अबको नेतृत्वले काम गर्न आवश्यक छ । राज्यले यसतर्फ ध्यान देओस् ।

अन्त्यमा, हाम्रो देशबाट बर्सेनि पलायन हुने गरेका युवालाई रोक्न उद्यमशीलताको विकास नै एक महत्वपूर्ण काम हो किनकि उद्यमशीलताको विकासबाट मात्र देशमा समृद्धि सम्भव छ । युवालाई स्वरोजगार बनाउँदै उनीहरूलाई उद्यमी बनाउन सकियो भने यसले राष्ट्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । राज्यका सम्बन्धित निकायहरूको यसतर्फ ध्यान जाओस् ।

(लेखक जेसीआई नेपालका पूर्वमहासचिव तथा पूर्वराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया