‘मी टु’का आरोपी अनु मलिक पुनः इन्डियन आइडलमा

‘मी टु’का आरोपी अनु मलिक पुनः इन्डियन आइडलमा


गत वर्ष ‘मी टु’का विवादमा परेका बलिउडका विभिन्न पात्रमध्ये चर्चित संगीतकार तथा गायक अनु मलिकको नाम पनि अग्रपंक्तिमा थियो । ‘मी टु’ को आरोप लागेपछि मलिकलाई इन्डियन आइडलबाट निकालिएको थियो । चर्चित गायिका सोना मोहपात्रा र श्वेता पण्डितले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए ।

सोना र श्वेताको आरोपकै कारण सोनी टीभीले गत वर्ष अनु मलिकलाई इन्डियन आइडलको जजबाट समेत निकालेको थियो । अहिले एक वर्षपछि इन्डियन आईडलको नयाँ संस्करणको आरम्भ हुँदैछ । उक्त नयाँ संस्करणको लागि सोनी टीभीले पुनः अनु मलिकलाई प्रमुख जजको रुपमा बोलाएको छ ।

‘मी टु’को आरोपी अनुलाई सोनीले पुनः इन्डियन आईडल शोमा जजको लागि बोलाएपछि गायिका सोना मोहपात्राले यसको विरोध गरेकी छिन् । उनले अनुलाई इन्डियन आईडलको शोमा जजको रुपमा बोलाउनु सम्पूर्ण अभिभावकको मुखमा थप्पड हान्नु हो भन्ने प्रतिक्रिया दिएकी छिन् । यो घटनाले आफ्नो सन्तानको उज्ज्वल र सुरक्षित भविष्य देख्न चाहनेहरुको लागि नकारात्मक सन्देश जाने उनको तर्क छ ।

सोनासँगै अर्र्की गायिका श्वेताले पनि अनुमाथि ‘मी टु’को आरोप लगाएकी थिइन् । श्वेताले आफु १५ वर्षको हुँदा अनुले ‘किस’ मागेको र सो किस गरेवापत एउटा गीत गाउन दिने वचन दिएको खुलासा गरेकी थिइन् । त्यस्तै चर्चित गायिका अलीशा चिनायले अनु मलिकले यौन शोषण गरेको आरोप लगाउँदै सोना र श्वेताले लगाएको आरोप सत्य भएको बताएकी छिन् ।

यतिबेला अनु मलिकले इन्डियन आइडलमा सुटिङ गरिरहेको स्रोतले बताएको छ । उक्त शोमा अन्य दुई प्रमुख जजमा नेहा कक्कर र विशाल डडलानी रहेका छन् । सन् २००४ देखि शुरु भएको इन्डियन आइडलमा अनुले हरेक संस्करणमा जजको भूमिका निभाउँदै आएका छन् ।