अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध लगाउने तयारी

अमेरिकामा ई–चुरोट उत्पादनमा प्रतिबन्ध लगाउने तयारी


संयुक्त राज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरूबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरूले देखाएका छन् ।

सुगन्धित ई–चुरोटको कुलतमा फसेका किशोरकिशोरी युवावस्थामा पुगेपछि सुर्तीजन्य ई–चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ । पछिल्ला केही अध्ययनले सुगन्धित ई–चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइटहाउसमा संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प ई–चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए । ‘हामी दुवैले ती किशोरको व्यथा पढेका छौँ,’ उनले भने, ‘हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन् र यसको सेवनबाट मानिसको ज्यान गइरहेको छ ।’

ह्वाइटहाउसमा राष्ट्रपतिका साथ अमेरिकी खाद्य तथा औषधि विभाग (एफडीए) का कार्यवाहक प्रमुख नेड सार्पलेस र अमेरिकी स्वास्थ्यमन्त्री अलेक्स अजर पनि सहभागी रहेका थिए । ई–चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटबारे नयाँ नियम ल्याइने बताए । सुर्तीको स्वाद भएकाबाहेक अरू सबै किसिमका सुगन्धित ई–चुरोट बजारमा अब बेच्न पाइने छैन– उनले भने । उनले यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने जानकारी दिए ।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एकतिहाई विद्यार्थीले सुगन्धित ई–चुरोट सेवन गर्ने गरेको देखिएको छ । अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई–चुरोट रुचाएका थिए । तत्कालका लागि सुर्तीको स्वाद भएका ई–चुरोटमा प्रतिबन्धहरू नलगाए पनि २०२० को मेदेखि उत्पादकहरूले एफडीएबाट स्वीकृति लिनुपर्नेछ । उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैँ फैलिएका ई–चुरोट उत्पादकमा छटपटी भएको छ । ग्रान्ड भ्यु रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्यबराबरको ई–चुरोट उत्पादन भएको थियो ।

एफडीएको सर्वेक्षणमा समेटिएका ई–चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरू बिरामी परेको बताएका थिए । उनीहरूले आफूहरूलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नुपरेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।

एकजना बिरामीको बेहोस भएका कारण अस्पतालमा भर्ना गरिएको र होस खुलेपछि उनको फोक्सो प्रत्यारोपण गर्नुपर्ने अवस्था देखिएको चिकित्सकले बताएका छन् ।

अमेरिकी रोग नियन्त्रण केन्द्रले ई–चुरोटको सेवन तत्काल बन्द गर्न मानिसलाई आग्रह गरेको छ । केन्द्रले यस चुरोटबारे अनुसन्धान थालिएको जनाएको छ । संयुक्त राज्य अमेरिकामा सन् २००६ देखि नै ई–चुरोट बजारमा देखिएको हो । परम्परागत सुर्तीसेवनको तुलनामा यसलाई निकै सुरक्षित मानिएको थियो । तर, विज्ञहरूले ई–चुरोट पनि स्वास्थ्यका लागि हानिकारक रहेको चेतावनी दिइरहेका थिए ।

परम्परागत चुरोटमा पाइने ७ हजार किसिमका रसायन ई–चुरोटमा नहुने भए पनि केही तत्वहरू निकै हानिकारक पाइएका छन् । ई–चुरोटको धुवाँमा धातुसमेत पाइएको अमेरिकी संसद कंग्रेसमा सन् २०१८ मा बुझाइएको एक प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य समस्या निम्त्याउन थालेको यस ई–चुरोटबारे अहिले अमेरिकी समाज र राजनीतिक नेताहरूले पनि चासो दिन थालेको पाइएको छ । राष्ट्रपति ट्रम्पको घोषणालाई अमेरिकाका दुबै दलले समर्थन जनाएका छन् । रिपब्लिकन पार्टीका प्रभावशाली नेता मिट रम्नी र डेमोक्य्राट पार्टीका सिनेट ह्विप डिक डरबिनसहित धेरै डेमोक्य्राट नेताले राष्ट्रपतिको कदमको स्वागत गरेका छन् ।

अमेरिकी अर्बपति व्यापारी एवं न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले मंगलबार ई–चुरोट प्रतिबन्ध लगाउने अभियानमा सघाउन १६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् । उनले यस चुरोटलाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् ।

अमेरिकी बजारमा प्रमुख ई–चुरोट उत्पादक कम्पनी जुलले गरिरहेको विज्ञापनप्रति पनि सर्वत्र आक्रोश व्यक्त गरिएको छ । जुलले सुर्तीसेवनभन्दा ई–चुरोट हानिकारक नरहेको जिकिर गर्दै विज्ञापन गरेको थियो ।

रासस–एएफपी