नेपालमा पर्यटन भित्र्याउन ‘मस्कट फेस्टिभल’मा नेपाली स्टल राखिने

नेपालमा पर्यटन भित्र्याउन ‘मस्कट फेस्टिभल’मा नेपाली स्टल राखिने


■ आरके श्रीवास्तव, ओमान

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको मस्कट नगरपालिकाका अध्यक्ष मोहसिन बिन मो. अल शेखबीच भेटवार्ता भएको छ । नगरअध्यक्षको कार्यकक्षमा भएको सौहार्द्धपूर्ण भेटमा मस्कटमा आयोजना हुने ‘मस्कट फेस्टिभल’लाई लक्षित गरि वार्तालाप भएको थियोे ।

बताइएअनुसार छलफलका क्रममा नगरअध्यक्ष मोहसिनले पछिल्लो पटक मस्कट फेस्टिभलमा नेपाली दुतावासको तर्फबाट सक्रिय र फलदायी सहभागिता जनाइएकोमा खुशी व्यक्त गर्दै आउँदो वर्ष ओमानको ५०औं राष्ट्रिय दिवसको अवसर परेकोले उक्त कार्यक्रम अझ भव्य रूपमा मनाइने जानकारी गराउनुभयो । उहाँले विभिन्न कार्यक्रमको बारेमा राजदूत ढकाललाई अवगत गराउँदै सो कार्यक्रम सफलताको लागि नेपाली दुतावासका तर्फबाट सहयोग पुग्ने अपेक्षा दर्शाउनुभयो ।

राजदूत ढकालले ठूलो समुदायको उपस्थिति रहने सो मेलामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गर्दै यसपालिको मेलामा भाग लिन नेपालबाट एक टोली आउने तयारी भइरहेको जानकारी गराउनुभएको थियोे ।

एक महिनासम्म चल्ने उक्त महोत्सवमा नेपालको अलग स्टल राख्ने तयारी भइरहेको छ । स्टलमार्फत नेपाली कला, संस्कृति, उत्पादन तथा अन्य उपयोगी सुचनाहरू प्रचारप्रसार गरिनेछ । यस्ता कार्यक्रमले नेपालले अगामी वर्ष मनाउन तय भएको नेपाल भ्रमण वर्ष २०२० सफलताको लागि थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।