ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते

ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते


नेपाल ओलम्पिक कमिटीको निर्वाचन यही भदौ २८ गते शनिबार हुने भएको छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन आउँदो शनिबार विहान ८ बजेदेखि सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको कार्यालयमा हुने जानकारी दिएका हुन् ।

यसअघि नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचनको मिति भदौ २० गतेका लागि तोकिएको थियो । उक्त निर्वाचन रोक्न कमलबहादुर चित्रकारले सर्वोच्चमा रिट दायर गरेपछि गत भदौ १७ गते सर्वोच्चले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । साथै अर्को सूचना जारी नभएसम्म निर्वाचन प्रक्रिया अगाडि नबढाउन नेपाल ओलम्पिक कमिटीलाई सर्वोच्चले निर्देशन समेत दिएको थियो ।

भदौ २२ गते दुवै पक्षको वहस सुनेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले ओलम्पिकको कार्यसमितिको निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने फैसला सुनाएपछि ओलम्पिक कमिटीको निर्वाचन गर्न बाटो खुलेको थियो ।

सर्वोच्चले ओलम्पिक कार्यसमितिको निर्वाचनको बाटो खोलेपछि निर्वाचन समितिको भदौ २४ गते मंगलवार बसेको वैठकले नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ २८ गते शनिबार गर्ने निर्णय गरेको थियो ।

नेपाल ओलम्पिक कमिटी कार्यसमितिको निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक कमिटी अफ एसिया (ओसिए) का प्रतिनिधिहरूको पर्यवेक्षणमा हुने अध्यक्ष जीवनराम श्रेष्ठले जनाएका छन् ।