काङ्ग्रेसले सिके आरजुबाट चुनाव जित्ने तरिका

काङ्ग्रेसले सिके आरजुबाट चुनाव जित्ने तरिका


आरजु राणाले निर्वाचन व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मज्जाले सुने, तर ‘सबभन्दा सुरक्षित निर्वाचन क्षेत्रबाट टिकट लिएर पनि तपाईं किन पराजित हुनुभयो’ भन्ने प्रश्न कसैले पनि गरेनन् । काङ्ग्रेसभित्र धर्मनिरपेक्षताको चार प्रमुख ठेकेदार मानिएकामध्ये एक विमलेन्द्र निधिले धर्मनिरपेक्षताबारे व्याख्या गरेको सुन्ने धैर्यचाहिँ महाधिवेशन प्रतिनिधिहरूले राखेनन् ।

आरजु राणालाई काङ्ग्रेसमा स्थापित गराउन केही सातायता महाधिवेशन प्रतिनिधिहरूलाई लक्षित गरी काङ्ग्रेसले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रदेश चार, पाँच र ६ मा कार्यक्रम सम्पन्न भइसकेपछि गत शुक्रबार र शनिबार (भदौ २० र २१) तीन नम्बर प्रदेशको केही जिल्लाका प्रतिनिधिहरूका लागि भक्तपुरमा प्रशिक्षण कार्यक्रम राखिएको थियो । बोडेस्थित कृषि विकास बैंकको सभाकक्षमा आयोजित प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्लाका प्रतिनिधिहरूले भाग लिएका र, त्यसको उद्घाटन शेरबहादुर देउवाले गरेका थिए ।

भक्तपुर काङ्ग्रेसका सभापति दुर्लभ थापाको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रशिक्षण प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले पार्टीको आन्तरिक विषयमा विवाद उत्पन्न हुने कुनै प्रकारको अभिव्यक्ति नदिन आग्रह गरेका थिए । तर, तनहुँका रामचन्द्र पौडेलले दाहालको भनाइप्रति आपत्ति जनाउँदै जवाफ फर्काएका थिए । तीन नम्बर प्रदेशलाई कर्मभूमि बनाएर राजनीतिमा क्रियाशील नेताहरू डा. रामशरण महत र अर्जुननरसिंह केसीलाई कार्यक्रममा सहभागी गराइएको थिएन । झापाका कृष्ण सिटौलादेखि तनहुँका रामचन्द्र पौडेलसम्मलाई बोलाइएको कार्यक्रममा डा. महत र केसीलाई नबोलाइनुले प्रशिक्षण कार्यक्रम नै एक षड्यन्त्रको उपज भएको महसुस सहभागीहरूले गरेका थिए ।

उद्घाटनपछि २० गते नै शुरु भएको प्रशिक्षण शिविरमा पुरुषोत्तम दाहालले प्रजातन्त्रको मूल्यमान्यताबारे चर्चा गर्दै आफूद्वारा लेखिएको पुस्तक र प्रजातान्त्रिक आन्दोलनमा आफूले पु¥याएको योगदानबारे सविस्तार जानकारी गराएका थिए । त्यसपछि शेरबहादुर देउवाकी पत्नी आरजुले निर्वाचनको व्यवस्थापनबारे प्रशिक्षण दिएकी थिइन् । यसरी आरजुले निर्वाचन व्यवस्थापनबारे प्रशिक्षण दिइरहँदा त्यहाँ उपस्थित कसैले पनि आरजुलाई ‘चुनावी व्यवस्थापनबारे यति धेरै जानकार तपार्इं आफैँ कसरी पराजित हुनुभयो’ भनी प्रश्न गरेनन् ।

ज्ञातव्य छ, आरजु राणालाई गत निर्वाचनमा काङ्ग्रेसले सबैभन्दा सुरक्षित ठानेको निर्वाचन क्षेत्र (कैलाली ५) बाट उम्मेदवार बनाएको थियो । आफूलाई ‘टुरिस्ट’का रूपमा सम्बोधन हुन थालेपछि आरजुले तत्काल पाँच करोड रुपैयाँमा घर खरिद गरेर रातारात ‘स्थानीय बन्ने’ प्रयास पनि गरेकी थिइन् । यिनै आरजुलाई पार्टीको आगामी महाधिवेशनमा कुनै एक पदाधिकारीका रूपमा उम्मेदवार बनाइने योजना देउवाले बनाएका छन् । त्यसनिम्ति आरजुलाई देशभरिका महाधिवेशन प्रतिनिधिहरूका माझ लैजानुपर्ने भएकोले यतिबेला प्रशिक्षक बनाएर उनलाई देश घुमाउने कार्य भइरहेको छ । आरजुपछि डा. प्रभु बुढाथोकीले प्रशिक्षण कलाबारे बोलेका थिए । बुढाथोकीले बोल्दा सभाकक्षमा बीस प्रतिशत मानिस पनि बसेनन्, सबैजसो सहभागी बाहिरिएपछि उनले आफू निकै अपमानित भएको महसुस गरेका थिए ।

भोलिपल्ट भदौ २१ गते शनिबार खिलनाथ दाहालले विधानका बारेमा, हरिहर विरहीले कम्युनिस्टको नकारात्मक पक्षका विषयमा र सरकारको असफलताका बारेमा प्युठानका गोविन्द पोखरेलले सहभागीहरूलाई दीक्षित गरेका थिए । त्यसपछि विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, सङ्घीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका विषयमा प्रशिक्षण दिन शुरु गरे । करिब दुई घन्टासम्म प्रशिक्षकका रूपमा उभिएका निधिले धर्मनिरपेक्षताको व्याख्या गर्न थालेपछि सहभागीको धैर्य टुट्यो । व्यापक विरोध र हुटिङ भयो, सहभागीहरूले निधि इसाईको दलाल भएको आरोप लगाए । महासमितिको बैठकका क्रममा हिन्दूराष्ट्रको मुद्दालाई लिएर दिएको निवेदनबारे किन छलफल गरिएन भन्ने प्रश्न उठाउँदै सहभागीहरूले निधिविरुद्ध हुटिङ गरेका थिए ।

त्यसपछि निधिले सशस्त्र प्रहरीका दुई हतियारधारीलाई मञ्चमा बोलाएर आफ्नो दायाँ र बायाँ राखे, निधिको यस्तो हर्कतको झन् ठूलो विरोध भयो । त्यसैबीच निधिले हिन्दू र बौद्ध धर्म छोडेर इसाई बनेका केही व्यक्तिहरूलाई आफ्नो मान्छेमार्फत ‘प्रोवोक’ गरे र हिन्दूराष्ट्र समर्थकविरुद्ध चिच्याउन लगाए । प्रशिक्षण शिविर तनावमय बन्यो र, झन्डै हात हालाहालको स्थिति उत्पन्न भयो । हिन्दूराष्ट्र समर्थक प्रतिनिधिहरूले आफूलाई सम्हालेका कारण अप्रिय स्थिति उत्पन्न हुन पाएन । निधिले राखेका दुई हतियारधारीलाई मञ्चबाट हटाउन लगाएर मात्र पुनः निधिलाई आफ्नो कुरा राख्न दिइयो । नरोत्तम वैद्य, राजुराज जोशी, कृष्णा अमात्य, ताराबहादुर कोइराला, लवश्री न्यौपाने र रामचन्द्र खड्कालगातका नेताहरू निधिका विरुद्ध सभाकक्षभित्र जोडदार रूपमा प्रस्तुत भएका थिए ।

यसरी तनावमय रूपमा सम्पन्न प्रशिक्षण शिविरबाट सहभागीहरूले के सिके होलान्, त्यसको अनुमान गर्न सकिन्छ । तीन नम्बर प्रदेशका रसुवा, नुवाकोट, धादिङ, चितवन र मकवानपुरका प्रतिनिधिको लागि हेटौँडामा प्रशिक्षण कार्यक्रम राखिने भएको छ । उक्त कार्यक्रममा सहभागी हुने हिन्दूराष्ट्र समर्थकहरूलाई कसरी तह लगाउने भन्ने विषयमा विमलेन्द्र निधि र आरजु राणाले आफ्नो धर्म छोडेर इसाई बनेका प्रतिनिधिहरूसँग अनौपचारिक तहमा परामर्श गरिरहेको जानकारी प्राप्त भएको छ । ज्ञातव्य छ, मकवानपुर, चितवन, रसुवा, धादिङ र नुवाकोटका कैयन हिन्दू तथा बौद्धमार्गीहरू आफ्नो धर्म छोडेर इसाई बनेका छन् । कसैले हिन्दूराष्ट्रका पक्षमा र विमलेन्द्र–आरजुका विरुद्ध बोलेमा ठाउँका ठाउँ ठेगाना लगाउन इसाई प्रतिनिधिहरूलाई विशेष निर्देशन दिइने तयारी प्रशिक्षण प्रतिष्ठानका दुई मुख्य अगुवा निधि र आरजुबाट भइरहेको बुझिएको छ ।