पूर्वाधार सम्मेलन : समस्याका बाबजुद नेपालमा ८० प्रतिशत लगानी निजी क्षेत्रको

पूर्वाधार सम्मेलन : समस्याका बाबजुद नेपालमा ८० प्रतिशत लगानी निजी क्षेत्रको


नेपाल पूर्वाधार सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको दुई दिने सम्मेलनमा स्वदेशी र विदेशी गरी ५०० भन्दा बढी लगानीकर्ताको सहभागिता छ । सम्मेलनमा विकास साझेदार संस्थाका प्रमुख एवं उपप्रमुखको सहभागिता छ । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा लगानीको वातावरण बनेकाले ढुक्क भएर काम गर्न आह्वान गरे ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराले पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता रहेको बताए । नेपालकै स्रोतले नभ्याउने भएकाले विदेशी लगानीकर्ताको समेत सहयोग लिन वातावरण गरिने उनको भनाई थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै भावना र भावुकतामा कुनै पनि योजना अघि नबढाइएको सुनाए । सरकार लगानीकर्ताको साथमै हुने उनको प्रतिबद्धता थियो ।

गणतन्त्र कोरियाका पूर्व प्रधानमन्त्री डा हान सेउङ सूले पूर्वाधार विकासमा विभिन्न देशका अनुभव आदानप्रदान गर्न सम्मेलन सहयोगी सिद्ध हुने बताए । भारतका नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहले मुख्य संरचना निर्माणका लागि पूर्वाधारमै जोड दिनुपर्ने बताए ।

सांसद विनोद चौधरीले विभिन्न समस्याका बाबजुद नेपालमा ८० प्रतिशत निजी क्षेत्रको लगानी रहेको सुनाए । कार्यक्रममा प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशं– ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आ–आफ्ना प्रदेशमा भइरहेका पूर्वाधार विकासका कामको जानकारी गराउँदै ढुक्क भएर लगानी गर्न आह्वान गरे ।

विश्व बैंकका उपाध्यक्ष जिङदोङ हुआले सगरमाथा र बुद्ध जन्मिएको देशमा पूर्वाधार विकास निर्माणको राम्रा सोच आउने विश्वास व्यक्त गरे । एशियाली विकास बैंकका महासचिव ऊचोङ उम्ले मेलम्ची खानेपानी आयोजना र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजना निर्माण जस्ता पूर्वाधारमा ऋण सहयोग गरेको उल्लेख गर्दै सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा परिसङ्घका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकास एवं समृद्धिको नारा पूरा गर्ने माध्यम भएकाले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन सफलताको कामना गर्दै पठाएको सन्देश उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले वाचन गरेर सुनाएका थिए ।