इप्रका गणेशपुरलाई मुद्धा दर्ताको स्वीकृति

इप्रका गणेशपुरलाई मुद्धा दर्ताको स्वीकृति


■ नारद कोहार, कपिलवस्तु

कपिलवस्तु जिल्लाभरमै पछि परेको विजयनगर गाउँपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गणेशपुरले मुद्धा दर्ता गर्ने कार्यको स्वीकृती पाएको छ । २०४५ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालय गणेशपुरले गृहमन्त्रालयबाट सो स्वीकृति पाएको हो ।

अहिले तीन दशक अर्थात ३१ वर्षपछि गणेशपुरमा मुद्धा दर्ता प्रक्रिया सञ्चालनमा आएको छ । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापासहित वडा अध्यक्षहरु तथा गाउँ कार्यपालिका सदस्य लगायतको टोलीले ज्ञापन पत्र बुझाए लगत्तै मुद्धा दर्ता गर्ने प्रक्रिया स्वीकृत भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिएका छन् । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको विशेष पहलमा ज्ञापनपत्र बुझाइएको हो ।

विजयनगर गाउँपालिकाभित्रकै सबैैभन्दा विकट क्षेत्र जवाबैराठका जनता तथा बिजयनगरवासी नागरिकका समस्यालाई मध्यनजर गर्दै अध्यक्ष थापाले ज्ञापनपत्र बुझाउनुभएको थियो । जवाबैराठ लगायतका जनताले मुद्धा दर्ता गर्न २५-३० किलो मिटर टाढाबाट कृष्णनगर जाने बाध्यता रही आएको थियो ।

सोही बमोजिम प्रहरी प्रधान कार्यालय एवम् अपराध अनुसन्धान विभागको मिति २०७६ भदौ २३ गतेको पत्रको चलानी नं. १४९४ अनुसार मुद्धा दर्ता गर्न स्वीकृती दिएको प्रहरी निरीक्षक नेपालले बताए । इलाका प्रहरी कार्यालयले मुद्धाहरु हेर्ने काम मात्र गर्ने गर्थ्यो, दर्ता गर्नुपर्ने मुद्धाहरु कृष्णनगरमा दर्ता गर्नका लागि पठाउने हुँदा विजयनगरका नागरिकहरुलाई सास्ती खेप्नु परेको थियो ।

‘अब मुद्धा हेर्ने र दर्ता गर्नुपर्ने मुद्धाहरु गणेशपुर कार्यालयमै हुन्छ, कृष्णनगर जान पर्दैन’, नेपालले भने । अहिलेसम्म मुद्धा दर्ता प्रक्रिया कृष्णनगरले हेर्ने गरेको हुँदा धेरै समस्या झेल्दै आएका यहाँका जनताहरु अबको दिनदेखि सहज रुपमा मुद्धा सञ्चालन इलाका प्रहरी कार्यालय गणेशपुरबाट गर्न पाउने भएका छन् ।