आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङको उम्मेदवारी

आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङको उम्मेदवारी


■ अर्जुन बराल, दक्षिण कोरिया

गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौको हायात होटलमा हुन गइरहेको नवौँ विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा एनआरएनए आईसीसीको विभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरूले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वयन परिषदले अधिवेशन गर्दै नयाँ नेतृत्व चुन्ने क्रम जारी नै छ ।

यसैक्रममा एनआरएनएको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयनका लागि हङकङमा सम्पन्न क्षेत्रिय भेलाको साथै अस्ट्रेलियामा सम्पन्न भएको ओसेनिया क्षेत्रीय भेलापश्चात सतही रूपमा आकांक्षीहरु बाहिर देखिन थालीसकेका छन् भने नेतृत्वका लागि दाबेदारीहरु बढेसँगै एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङले पनि आईसीसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

लामो समयदेखि दक्षिण कोरियामा रहेर सफल ब्यवसायिक महिलाका रुपमा आफूलाई चिनाइसकेकी जुनु गुरुङ ‘वुमन फर वुमन’ दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन् भने उनले दक्षिण कोरियाको नेपाली समाजमा छुट्टै समाजसेवीको पहिचान बनाएकी छन् । साथै उनी दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजनसीपबाट सम्मानित दक्षिण कोरियामा पहिलो नेपाली महिला समेत हुन् ।

दक्षिण कोरियामा रोजगार प्रक्रिया प्रणालीका माध्यमबाट आएका होउन् या विद्यार्थी भिषामै रहेका नेपाली किन नहुन्, आपतकालीन अबस्थामा जुनु प्रेरणाकी स्रोत बनेकी छिन् । उनले आठौँ बिश्व सम्मेलनपश्चात एनआरएनए एनसीसी गठन भएका सबै देशमा महिला फोरम संयोजकको हैसियतमा रहँदा महिला फोरम गठन गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै त्यसका निम्ति सबैप्रति आभार प्रकट गरेकी छिन् ।

यसैबीच गुरुङले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्वका मजदुर तथा महिलाहरुको दर्दनाक अवस्थाको न्युनीकरणसहित महिलाका आवाजलाई सशक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा ब्यवसायिक पाटोलाई सक्षम बनाउन प्रयाससँगै सबैतिर छरिएर रहेका महिलाहरुको सञ्जाललाई अझ विस्तार गरी फराकिलो बनाउने प्रतिबद्धतासहित एनआरएनएलाई अझ गतिशील र सबैको अपनवत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितताको लागि जोड दिन आग्रह गरेकी छिन् ।