जापानको मन्त्रिपरिषदमा हेरफेर, पूर्वप्रधानमन्त्रीका छोरा बने वातावरणमन्त्री

जापानको मन्त्रिपरिषदमा हेरफेर, पूर्वप्रधानमन्त्रीका छोरा बने वातावरणमन्त्री


जापानका प्रधानमन्त्री सिन्जो आबेले बुधबार मन्त्रिपरिषद हेरफेर गरेका छन् । उनले नयाँ विदेश र रक्षामन्त्रीमा नयाँ व्यक्तिलाई नियुक्त गरेका छन् । लोकप्रिय र उदाउँदो राजनीतिक व्यक्तित्वलाई बढुवा दिएको विज्ञहरूले निष्कर्ष निकालेका छन् ।

पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका ३८ वर्षीय छोरा सिन्जिरो कोइजुमीलाई वातावरणमन्त्रीको रूपमा नियुक्त गरिएको छ । उनी दोस्रो विश्वयुद्धको अन्त्यदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री बनेका छन् । उनी राजनीतिको वरिष्ठता क्रममा र अन्य थुप्रै क्षेत्रमा ख्यातिप्राप्त व्यक्ति मानिन्छन् ।

आगामी नोभेम्बरसम्ममा आबे जापानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री बन्नेछन् । तर, उनले २०२१ मा लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी) नेतृत्वको चुनावमा पद छाड्ने अपेक्षा गरिएको छ । यसैगरी जापानको नयाँ विदेशमन्त्रीमा तोसिमिट्सु मोटेगी नियुक्त भएका छन् । उनलाई संयुक्त राज्य अमेरिकासँगको व्यापार सम्झौतामा गरेको कामको इनामका रूपमा पदोन्नति गरेको बताइएको छ ।

निवर्तमान विदेशमन्त्री तारो कोनोलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । दक्षिण कोरियासँगको सम्बन्धमा आएको तिक्तताबीच उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिनुले जापानको कोरियाप्रतिको नीतिमा कुनै परिवर्तन नआउने संकेत गरेको छ । कोनो सामाजिक सञ्जालमा आमजनतासँग जोडिन रुचाउने व्यक्तिका रूपमा चिनिन्छन् । विदेशमन्त्री ६३ वर्षीय मोटेगी राजनीति र कूटनीतिमा निकै अनुभवी मानिन्छन् ।