मदिराविरोधी अभियानमा शहरीया महिला र पुरुषको खाँचो

मदिराविरोधी अभियानमा शहरीया महिला र पुरुषको खाँचो


मदिराविरोधी अभियानमा नेपालका ग्रामीण भेगका महिलाको सिको गर्दै शहरका महिला पनि जुर्मुराएर अघि बढ्नुपर्ने बेला आइसकेको भए तापनि अझै आउनचाहिँ सकिरहेका छैनन् । विदेशी रहनसहन, वेशभूषा आदिको तत्कालै नक्कल गर्ने र त्यसैको पछिल्तिर दौडँदै फुर्सद नपाउने बानी परेका शहरीया महिलाबाट यस किसिमको कार्यमा सक्रियता खोज्नुचाहिँ पक्कै पनि सन्दर्भहीन देखिन्छ होला ।

तर, नेपालका थुप्रै ग्रामीण भेगका महिलाले समूह बनाई यस किसिमको अभियान चलाउन थालेपछि व्यस्त ठाउँहरूमा यसको नियन्त्रणमा कमी आएको बुझिन्छ ।
त्यसप्रकारको अभियान सञ्चालन गर्ने महिलाले सर्वप्रथम आ–आफ्नो घरका सदस्यहरू जो यस्ता कार्यमा दिनहुँ संलग्न भएका छन् तिनलाई घरमै सम्झाउँदा पनि आफ्नो कुरा नखाएपछि उनीहरू बाध्य भई सङ्गठित भएर अघिबढेका हुन् । जसको प्रतिफलमा कैयौँ ठाउँमा सफलता देखिएको छ भने कतिपय ठाउँमा अझै प्रयास गर्नुपर्ने अवस्था पनि रहेको छ ।

उनीहरूको भावना बुझ्न खोज्दा महिला हकअधिकारको नाममा बाबुको सम्पत्तिमा छोरीको पनि समान सहभागिताको लागि आवाज नउठाई एउटा स्वच्छ, शिक्षित र मदिरारहित घरपरिवारको निर्माणका लागि धुम्रपान त्याग गरौँ, तास–जुवा बन्द गरौँ, जाँडरक्सी नखाऔँ र शान्तिसुरक्षा कायम गरौँ भनेर नाराजुलुस गरिरहेको बखत शहरका महिलाचाहिँ आफ्नो पुरुष मित्रलाई साथ दिँदै उनीहरूसँगै बसेर आधुनिक मदिरामा झुम्दै रातको त के कुरा दिउँसै मस्त देखिन्छन् । यस किसिमको क्रियाकलापले गर्दा शहरीया जीवन प्रतिकूल हुँदै गइरहेको देखिन्छ भने यस्ता गतिविधिबाट दिनहुँ झै–झगडादेखि विविध किसिमका अपराध पनि बढिरहेको कुरामा दुईमत नहोला ।

नेपालजस्तो गरिब राष्ट्रमा यसरी मदिराको बढ्दो उत्पादन र सेवनले गर्दा वर्षको ६ महिना खान पुग्ने अन्न जाँडरक्सी बनाउनमा मासिनुका साथै अधिकांश महिला र बालबालिकाको अधिकारसमेत हनन भइरहेको देख्दा पनि शहरका सभ्य महिला यसको नियन्त्रणमा अघिबढेको नदेख्दा ग्रामीण महिलाले प्रश्न गर्नु स्वाभाविक हुन आउँछ । श्रीमान् र श्रीमतीबीच हुने घरायसी झगडादेखि समाजमा घट्ने सबै प्रकारका घटनाको मुख्य कारकतत्व यही भएको हुँदा यसमा नियन्त्रण हुनेबित्तिकै २५ प्रतिशतजति अपराधहरूमा समेत नियन्त्रण हुन सक्ने देखिन्छ ।

यसलाई नियन्त्रण गर्न टोलटोलमा जथाभावी रूपमा खोलिएको भट्टीहरूमा बेच्न राखिएको अवैध मदिरादेखि लाइसेन्सप्राप्त उच्चकोटीका मदिराहरूलाई पनि आवश्यकताभन्दा बढी बिक्री गर्न नदिने, बेलुकी अबेरसम्म पसल खोल्नेहरूको बारेमा नजिकको प्रहरीमा खबर गरेर उनीहरूलाई पनि आफ्नो अभियानमा सक्रियता गराउने प्रयास गर्नुपर्छ ।
बदलिँदो परिस्थितिमा प्रहरी प्रशासनले मात्र यस्तो कार्यमा सक्रियता देखाउँदादेखाउँदै पनि समयसमयमा उनीहरूलाई पनि अप्ठ्यारो पर्ने भएकोले गर्दा समाजका सबै सचेत वर्ग विशेष गरी महिलाको नेतृत्वमा अघि बढ्नुपर्ने बेला आइसकेको देखिन्छ ।

प्रहरीलाई सबै पक्षले सहयोग पुऱ्याइसकेपछि यसलाई अभियानको रूपमा आ–आफ्नो टोल, समाजमा अघि बढाई सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने, घरका जहानपरिवारलाई दुःख दिने चाहे जोसुकै किन नहोस् त्यस्तालाई कारबाहीको लागि उजुरी दिने साहस गर्न सकेको खण्डमा पनि केही मात्रामा भए पनि उनीहरूको हकअधिकारको रक्षा गर्न सकिने थियो ।

अपितु मदिराविरोधी अभियानमा महिला सक्रियताको अन्य पक्षको भन्दा प्रमुख भूमिका हुने भए तापनि जबसम्म समाजका शिक्षित पुरुषले उनीहरूको यस अभियानमा सहयोग पुऱ्याउँदैनन् तबसम्म यसले सार्थक भूमिका खेल्न नसक्ने देखिन्छ । यदि यस किसिमको कार्यलाई सफलताका सिँढीसम्म पुऱ्याउने हो भने पुरुषको पनि उत्तिकै सहयोग लिई गाउँबाट मात्र होइन शहरबाट समेत अभियान चलाई अघि बढ्न सकेको खण्डमा मात्र सार्थकता देखिन्छ, नत्र यस किसिमको अभियान त्यसै हराएर जाने सम्भावना टड्कारो छ ।

(घटना र विचार साप्ताहिक, २०५७ जेठ ११ गते बुधबार)