यार्सागुम्बाले मूल्य नपाएपछि…

यार्सागुम्बाले मूल्य नपाएपछि…


बझाङमा संकलन गरिएको तीन महिना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुन सकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले संकलन गरेको यार्सागुम्बा थन्किएको छ । बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा संकलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा संकलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहँुदा अन्योलमा परेका छन् ।

तीन महिनाको कडा परिश्रमबाट संकलन गरिएको यर्सागुम्बाको मूल्य निर्धारण नभएपछि बिक्री–वितरण हुन नसकेको साइपाल गाउँपालिकाका उमेश बोहराले बताए । गत वर्ष प्रतिकेजी रु. १८ लाखका दरले खरिद–बिक्री भएको यार्सागुम्बा यस वर्ष मूल्य घटेको भन्दै ठेकेदारले प्रतिकेजी रु. आठ लाखभन्दा बढी तिर्न नमानेपछि र मूल्य निर्धारण नभएपछि संकलन गरेको यार्सागुम्बा घरमै थन्किएको बोहराले बताए ।

यार्सागुम्बा बिक्री गरी घरपरिवार चलाउँदै आएका जिल्लाका यार्सा संकलकहरू बजारमा उचित मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा कोठामा थन्क्याएर राख्न बाध्य छन् । हरेक वर्ष केही मात्रामा यार्सागुम्बा संकलन गर्दै आएका स्थानीय ठेकेदारले पनि मूल्य निर्धारण नभएको भन्दै यार्सागुम्बा किन्नमा कुनै चासो दिएका छैनन् । जिल्लाका साइपाल, सुर्मा, तल्कोट, बुंगललगायत उत्तरी भेगका बासिन्दा बर्सनि यार्सा संकलन गर्न जाने गरेका छन् ।

यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकसमेत यार्सा संकलन गर्न हिमाली क्षेत्र कालापानी, चाल्ला वन, श्याम वन, राइढुंगी, माझालगायतका ठाउँमा जिल्लाभित्र तथा जिल्लाबाहिरका मानिस जाने गरेका छन् । प्रत्येक वर्ष जथाभावी फोहोर तथा उत्खनन गर्ने र धेरै मानिस संकलन गर्न जाने भएकाले यार्सागुम्बामा समेत कमी हँुदा आगामी वर्षहरूमा यार्सागुम्बा संकलन कार्यलाई व्यवस्थित गर्दै लैजाने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।