उर्मिलाले गरिन् कांग्रेसलाई बाईबाई !

उर्मिलाले गरिन् कांग्रेसलाई बाईबाई !


चर्चित बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले भारतीय राष्ट्रिय कांग्रेस पार्टीबाट राजीनामा दिएकी छिन् । उर्मिलाले मुम्बई कांग्रेसभित्र बढ्दै गएको गुटबन्दीको आरोप लगाउँदै राजीनामा दिएको प्रष्टिकरण दिएकी छिन् ।

उर्मिला २७ मार्च २०१९ मा कांग्रेस प्रवेश गरेकी थिइन् । उर्मिला हालै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मुम्बईको उत्तर निर्वाचन क्षेत्रबाट कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । तर उनले हारको सामना गर्नुपरेको थियो । उर्मिला भारतीय जनता पार्टीका उम्मेदवार गोपाल सेट्टीसँग पराजित भएकी थिइन् ।

उर्मिलाले आफू राजनीतिमा प्रवेश गर्नुको कारण राजनीतिक र सामाजिक संवेदनशीलताका मुद्दा प्रमुख भए पनि मुम्बई कांग्रेसका केही नेताहरू आपसी लडाइँमा लिप्त रहेको, यस्तो अस्वस्थ खिचातानीले सामाजिक मुद्दाको सम्बोधन हुन नसक्ने र आफूलाई काङ्ग्रेसी नेतृत्वले ‘प्रयोग’ मात्र गरेको महसुस भएपछि राजीनामा दिन बाध्य भएको जनाएकी छिन् ।

त्यस्तै, आफ्नो ग्ल्यामरर्स छविलाई भजाएर राजनीतिक सिँढी चढ्ने उद्देश्यले नभई विचारधाराका कारण कांग्रेस प्रवेश गरेको तर कांग्रेस बारेको आफ्नो बुझाई भ्रामक रहेको बोध पछि मात्र भएको पनि उनले स्वीकार गरेकी छिन् ।