अमेरिकी सेनाविरुद्ध लडाइँ यथावत् : तालिवान

अमेरिकी सेनाविरुद्ध लडाइँ यथावत् : तालिवान


तालिवान लडाकु समूहले अफगानिस्तानमा अमेरिकी सेनाविरुद्धको लडाइँ जारी राख्ने चेतावनी दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिवानसँगको शान्तिवार्ता ‘मृततुल्य’ भएको बताएपछि तालिवानको सो भनाइ आएको हो ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा तालिवानको कब्जा अन्त्य गर्ने दुई तरिका भएका जिहाद लडाइँ र अर्को वार्ता भएको एएफपी समाचार समितिलाई बताएका छन् । ‘यदि ट्रम्प वार्ता रोक्न चाहन्छन् भने हामी पहिलो तरिका अपनाउँछौँ र उनीहरूले चाँडै नै पश्चाताप गर्नेछन्,’ मुजाहिदले बताएका छन् ।

तालिवानको उक्त विज्ञप्ति १८ वर्षभन्दा बढी समयदेखि जारी अफगान युद्धको अन्त्यका लागि हुने वार्ता अमेरिकी राष्ट्रपतिले रद्द गरेएपछि आएको हो । ट्रम्पले शनिबार ट्विटमार्फत क्याम्प डेभिडमा अफगानिस्तानका राष्ट्रपति र तालिवान नेताहरूसँग आइतबार हुने भनिएको गोप्य बैठक रद्द भएको घोषणा गरेका थिए ।

ट्रम्पले सोमबार ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिवानसँगको शान्तिवार्ता ‘मृततुल्य’ भएको बताएका थिए ।