हसन्टार मेयर कप फुटबल कार्तिक १ गतेदेखि

हसन्टार मेयर कप फुटबल कार्तिक १ गतेदेखि


हसन्टार युथ क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता कात्तिक १ गतेदेखि हुने भएको छ । प्रतियोगितामा २० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष विश्वकर लामाले जानकारी गराए ।

पहिलो हुने टिमले १ लाख ५ हजार तथा दोश्रोले ५५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वा्धिक गोलकर्तालाई समान १० हजार नगद पुरस्कार प्रदान गरिने छ । अनुशासित टिमलाई १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख ५९ हजार खर्च हुने बताइएको छ । त्यसमा नागर्जुन नगरपालिकाले ५० प्रतिशत खर्च ब्यहोर्ने र बाँकी रकम नागार्जुन नगरपालिका वडा नं. ७ र आयोजकले व्यवस्थापन गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले खेलकुदको विकास र विस्तारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिकास्थित हसन्टार फुटबल मैदानमा खेलाइने छ । फाइनल कात्तिक ९ गते हुने छ ।