१३औँ सागको लागि पौडी खेलाडीको छनोट हुँदै

१३औँ सागको लागि पौडी खेलाडीको छनोट हुँदै


नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पौडी खेलमा सहभागि हुने खेलाडीहरुको अन्तिम छनोट आज (भदौ २४ र २५) हुँदैछ । पौडी खेलाडीहरुको छनोट नवौं एनएसए कप पौडी प्रतियोगिताबाट हुनेछ । प्रतियोगिता सम्पन्न गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय ५० खेलाडीको सहभागिता रहने छ । पुरुष÷महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने संयोजक मुस्लिमले जनाएका छन् ।

उक्त प्रतियोगितामा पुरुष र महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टाइल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुनेछन् । खेलाडी छनोट फिना अंक आधारमा गरिने छ ।

छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुनेछ ।