भाइरल ज्वरोका बिरामीको चापले अस्पताल अस्तव्यस्त

भाइरल ज्वरोका बिरामीको चापले अस्पताल अस्तव्यस्त


■ सुरज घिमिरे, (सन्धिखर्क) अर्घाखाँची

केहीदिन यता अर्घाखाँचीको सदरमुकामस्थित जिल्ला अस्पताल अर्घाखाँचीमा भाइरल ज्वरोबाट प्रभावित बिरामीको चाप बढ्दै गएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीका अनुसार अस्पतालको ओपीडीमा अहिले दैनिक रुपमा दुई सयभन्दा बढी र इमर्जेन्सीमा दैनिक सय जनाको हाराहारीमा भाइरलका बिरामीहरू अस्पतालमा आउने गरेका छन् ।

१५ शैयाको जिल्ला अस्पतालमा बिरामी चाप ह्वात्तै बढेपछि बेडमा बिरामी राख्ने ठाउँ नभएर करिडोरमा राखेर उपचार गर्न बाध्य रहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

दैनिक बिरामीको संख्या दुई सयसम्म बढ्दै गएको र बेड खाली नभएपछि बिरामीको व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्न थालेको तिवारीले बताए ।

अरु बेला दैनिक ओपीडी र इमरजेन्सीमा ५० देखि ८० जना बिरामी उपचारका लागि आउने गरेका थिए, तर अहिले यो संख्यामा चार गुणाले बढेको हो । १५ सैयाको जिल्ला अस्पतालमा भुइमा र बेन्चमा गरी ४५ जना बिरामी भर्ना भएको उनले जानकारी दिए।

यस्तै जिल्लामा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या बढेकै कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ।

जिल्ला अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी र गाउँगाउँमा रहेका निजी क्लिनिकमा समेत भाइरल ज्वरोका बिरामी आइरहेका छन् ।

जिल्ला अस्पतालमा आउने बिरामी मध्ये करिब ७० प्रतिशत बिरामी भाइरल जवरोका रहेको जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले बताए ।

वर्षात र गर्मी मौसम हुनु, प्रदुषित पानी पिउनु, मौसम परिवर्तन र बर्षाको कारण बाढिले फोहोर बस्तु बगाउने र दुर्गन्ध फैलिने गरेको कारणले पनि अहिले भाइरलको प्रकोप बढी रहेको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।