अर्घाखाँचीमा जागरण अभियानको तयारी

अर्घाखाँचीमा जागरण अभियानको तयारी


  • सुरज घिमिरे, अर्घाखाँची

नेपाली कांग्रेसले भोलि (२३ भदौ) देखि राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम देशब्यापी रुपमा सुरु गर्दैछ । कांग्रेसले दोस्रो चरणको अभियान बीपी कोइरालाको जन्मजयन्ती पारेर सुरु गर्न लागेको हो ।

यस्तै अर्घाखाँचीमा भोलि पाणिनी गाउँपालिका वडा नम्बर १ पणेनाबाट जागरण अभियान सुरु गर्न लागिएको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनाल मुस्कानले जानकारी दिए ।

अभियानको पहिलो दिन कांग्रेसले देशैभर वृक्षारोपण गरेर पर्यावरण रक्षाका लागि नयाँ सन्देश पनि दिन लागेको छ । बिपी कोइरालाको १०६औँ जन्म जयन्तीका दिन पारेर अभियान सुरु गर्न थालिएको हो ।

जागरण अभियानको केन्द्रिय प्रतिनिधिको रुपमा नेपाली कांग्रेस गुल्मीका पुर्वसभापति चन्द्र केसी अर्घाखाँची आइसकेको नेपाली कांग्रेस अर्घाखाँचीका प्रकाशन तथा प्रचारप्रसार समितिका संयोजक माधवप्रसाद पौडेलले बताए ।

कार्यक्रममा सहभागिता जनाउन नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रिय सभापति सबैलार्इ र विभागका सबै सदस्यहरुलार्इ आआफ्नो वडामा हुने कार्यक्रममा सहभागिता जनाउन र आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि कांग्रेस अर्घाखाँचीले आग्रह गरेको प्रकाशन तथा प्रचारप्रसार समितिका सदस्य सचिव प्रेमनारायण आचार्यले जानकारी दिए ।