जोनसनलाई प्रधानमन्त्री पद ‘निल्नु न ओकल्नु’

जोनसनलाई प्रधानमन्त्री पद ‘निल्नु न ओकल्नु’


प्रधानमन्त्री बोरिस जोनसनलाई आफ्नो पद ‘निल्नु न ओकल्नु’ भएको छ । बेलायतमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरिदिएपछि उनि संकटमा परेका हुन् ।

समय अगावै निर्वाचन गराउन खोज्ने उनको चाहनालाई बुधबारको संसदले अस्वीकृत गरिदिएको छ । हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री असफल भएका हुन् ।

सरकारले ४३४ मत ल्याउनुपर्नेमा पक्षमा २९८ मत मात्र खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।

ब्रेक्जिटबाट बाहिरिने मिति अगाडि नै उनले निर्वाचन गराउन चाहन्थे । ब्रेक्जिटको अन्तिम मिति अक्टुबर १९ हो । यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए । बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो ।

मङ्गलवार जोनसनको ब्रेक्जिट नीतिले संसदमा पराजय बेहोरेको थियो । मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए ।