‘हिन्दूराष्ट्र’को सान्दर्भिकतामा काङ्ग्रेसको भूमिका





चौधौँ महाधिवेशनबारेका विविध सवालसँगै नेपाली काङ्ग्रेसभित्र हिन्दूराज्य स्थापनाको एजेण्डा स्थापित हुँदै गएको सो दलका शीर्ष पङ्क्तिका नेता एवम् अगुवा कार्यकर्तामाझ हुन थालेका चर्चा, छलफल तथा विचार–विमर्शले सङ्केत गरेको छ । तत्कालीन प्रभावशाली नेता खुमबहादुर खड्काले सशक्त रूपले हिन्दूराज्य स्थापनाको ‘महाअभियान’ नै शुरु गरेर हिन्दुत्वप्रति गर्व गर्ने तमाम नागरिकमा आशा जगाएका भए पनि उनको असामयिक देहावसानपछि सो अभियान सुषुप्तप्रायः बन्न पुगेको थियो । हिन्दूधर्मकै जगमा दल गठन गरेका र हिन्दुत्वको निम्ति जेसुकै गर्न तयार रहेको दाबी गर्ने विभिन्न पार्टी, सङ्घ–संस्था तथा समूह नै उद्देश्यअनुरूपको मार्गमा इमानदार देखिन नसकेका र ‘धर्म’लाई एक राजनीतिक हतियार तुल्याउन मात्र सबै उद्यत् देखिएको परिवेशमा काङ्ग्रेसभित्र हिन्दूराज्यको एजेण्डामा तर्क–वितर्क हुनु, बहस चर्कंदै जानुलाई महत्वपूर्ण मान्न सकिन्छ ।

यस एजेण्डालाई काङ्ग्रेस महामन्त्री शशांक कोइरालाले उठाउँदै आएका छन् । सार्वजनिक मञ्चहरूमा मौका पाउनेबित्तिकैै उनी सपाट भाषामा हिन्दूराष्ट्रको पक्षमा वकालत गर्छन् । पार्टी–बैठकमै औपचारिक प्रस्ताव उनले अहिलेसम्म राख्न नसक्नुको अन्तर्य खोजीको विषय हो तापनि हिन्दूराष्ट्रको मुद्दाप्रति उनले दर्शाएको झुकावका कारण यसको पक्षमा काङ्ग्रेसभित्र माहोल भने बढेर गएको छ ।

ध्यान पुऱ्या उनुपर्ने के छ भने काङ्ग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा कतिपय प्रभावशाली केन्द्रीय सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा आफ्ना दृष्टिकोण र तर्क राखेका छन् । यति मात्र होइन, गत पुसमा सम्पन्न महासमिति बैठकमा धर्मनिरपेक्षताबारे पार्टीको दृष्टिकोण बदल्न माग राख्दै पचास प्रतिशतभन्दा बढी सदस्यले हस्ताक्षर गरेर पेस गरेका थिए । केन्द्रीय कार्यसमितिमा तत्काल बहुमत नदेखिए पनि काङ्ग्रेसका तल्ला तहका अधिकांश नेता–कार्यकर्तामा हिन्दुत्वप्रति लगाव रहेको र हिन्दूराष्ट्रको मुद्दालाई पार्टीले मूल एजेण्डाकै रूपमा उठाउनुपर्ने धारणा उनीहरूले अघिसार्दै आएको जगजाहेर नै छ । मौलिक अस्तित्व नै मेटिने खतरातर्फ अग्रसर काङ्ग्रेस पार्टीलाई बचाउन र आमनेपालीमाझ पुनः सशक्त दलको रूपमा उभ्याउन काङ्ग्रेसका आमकार्यकर्ताको यस धारणाले सञ्जीवनी बुटीकै काम गर्छ भन्दा अतिशयोक्ति ठहरिँदैन ।

काङ्ग्रेसभित्रैका कतिपयले अरू कुनै एजेण्डा नपाएर काङ्ग्रेसले हिन्दुत्वको विषयलाई ‘पोलिटिकल कार्ड’को रूपमा प्रयोग गर्न खोजेको आरोप पनि लगाएका छन् । तर, एजेण्डाविहीनताबाट बच्ने हतियारको रूपमा मात्र यस मुद्दालाई सीमित तुल्याउन खोज्नु दूरदृष्टिको भयानक खडेरी हो । नेपाल हिन्दूराष्ट्र बन्नुपर्छ भन्ने सोच, अवधारणा या माग फगत एजेण्डा आपूर्तिको हतियार किमार्थ हुन सक्दैन, र यसरी बुझ्न खोज्नु यथार्थताबाट मुख मोड्ने कायरता मात्र हो । संविधानमा एकाएक लादिएको धर्मनिरपेक्षता नेपालीको चाहना नभएर पश्चिमाहरूले जबर्जस्ती लादेको विषय भन्ने आज छताछुल्ल भइसकेको विषय हो । आखिर सिङ्गै नेपाल र नेपालीलाई गुमराहमा पारेर ‘धर्मनिरपेक्षता’ किन लादियो होला ? तटस्थ भावका साथ यस सवालको जवाफ खोज्ने प्रयत्न गरिए ‘हिन्दूराष्ट्र’ हुँदा मुलुकलाई हासिल हुन सक्ने लाभ वा उपलब्धिबारे स्वतः जानकारी मिल्दछ । हिन्दूराष्ट्र वा धर्मनिरपेक्षताको मुद्दामा जनमतसङ्ग्रह हुनुपर्ने नेपालीको मागप्रति राज्य किन उदासीनता दर्शाउँछ र संविधान संशोधनमार्फत ‘धार्मिक स्वतन्त्रता’ कायम गर्न सकिने आवाजलाई पनि किन कुल्चिएर अघि बढ्न खोज्दै छ भन्ने कुराको जडमा पुग्दा देश पराया प्रभावको फन्दामा कसरी परिसकेको छ भन्ने छर्लङ्ग हुन्छ ।

हालै सुर्खेतको कटकुवा जङ्गलमा दर्जनौँ सङ्ख्यामा गौहत्या गरिएको सन्दर्भलाई यहाँनेर जोड्नैपर्ने हुन्छ । नेपालको ‘राष्ट्रिय जनावर’ भएकोले मात्र नभई वैज्ञानिक दृष्टिले समेत गाई एक गुणकारी प्राणी रहेको विभिन्न खोज–अन्वेषणले पुष्टि गरिसकेको छ । क्यान्सरजस्ता घातक रोगविरुद्धको उपचारमा समेत गौमूत्रको उपयोगिता पश्चिमा अन्वेषकहरूले नै सिद्ध गरिसकेका छन् । यस्ता असङ्ख्य गुणले भरिपूर्ण भएकैले पूर्वजहरूले हजारौँ वर्षअघिदेखि गाईलाई देवीसमान मानेर पूजा गर्नुपर्ने मान्यता स्थापित गरिदिएका हुन् । यसरी हिन्दू धर्मावलम्बीको एक अहम् आस्थामाथि कसले किन प्रहार गरिरहेको छ ? गौहत्याजस्तो जघन्य अपराध सिर्जना गरेर विधर्मीहरू कस्तो परिणाम हात पार्न खोज्दै छन् ? यस्ता ज्वलन्त प्रश्न हल गर्ने बाटो अङ्गीकार गर्नकै लागि पनि यतिबेला नेपाली काङ्ग्रेसले अग्रसरता लिनुपर्ने देखिन्छ । अर्थात्, राजनीतिक ‘कार्ड’को रूपमा नभई देशको अस्तित्व रक्षार्थको एक अचुक उपाय भन्ने मनन गरी काङ्ग्रेसले आफूलाई अब ‘हिन्दूराष्ट्र’को एजेण्डामा अग्रसर तुल्याउन सके विवेकसम्मत निर्णय साबित हुनेछ ।

प्रतिक्रिया