■ अर्जुनराज पन्त
भाइ मारेर नपुगेर गाइ नि मार्न थाल्यौ
एकैचिहान पर्ने गरी भीरैबाट फाल्यौ !
न त खा’थे तिम्रो बाली न त तिम्रो अन्न
कस्तो आत्मा तिम्रो कठै ‘जाओ मार’ भन्न ?
झर्दासम्म थुनबाट दुध दोही खायौ
भोको पेट लौरो लगाइ हलो तान्न लायौ
पूरा भयो आफ्नो स्वार्थ घाँडा भए तिनी
आमासरि पुजेका ती दुधैसमेत दिनी
अटेनन् ती कठै आज तिम्रा बस्तीमाझ
गौमाताको हत्या गर्ने आयो कस्तो राज ?
प्रकृतिको चक्र हो त्यो सबको आउँछ दिन
बेला तिम्रो नभइकन काल’नि आउन्न लिन
समयको गतिसङ्गै उमेर बढ्दै जाँदा
तिमी पनि घाँडै होउला बुढ्यौलीले खाँदा
बुढेसकालमा तिम्लाई पनि गाइलाई जस्तै गरी
बृद्धाश्रममा लान्छौँ भन्दै कोची ट्रकैभरि
घाँडो ठानी यसैगरी बीचबाटोमा फाल्दा
कृष्णभीरको बाटो लगि त्रिशुलीमा हाल्दा
कस्तो होला तिम्लाई पनि गाईलाई जस्तै गर्दा
मध्यरातमा घुसुल्टिएर खोलाभरि पर्दा
गाईको मात्रै के कुरा भो कुकुरैलाई पनि
मान्छे खटाइ चुट्दै मार्छौ तिन्लाई गनि-गनि
पक्रिएका कुकुरलाई ‘नि कठै छानि-छानि
चौबाटोमा कुटि मार्छौ चिर्पटले हानी
नाटक गर्दै पुज्ने अझ गाई र कुकुर दुवै
सनातनी धर्म भन्दै अर्थ लाँउदै खुबै
धर्म-निरपेक्ष हो कि शर्म-निरपेक्ष ?
गजबैको बाटो लियौ कहाँ हो पुग्ने लक्ष्य ?
प्रतिक्रिया