ओलम्पिक निर्वाचनमा जीवनरामको प्रभाव बढ्दो

ओलम्पिक निर्वाचनमा जीवनरामको प्रभाव बढ्दो



■ श्रीविक्रम भण्डारी

आउँदो भदौ २० गते शुक्रबार हुने नेपाल ओलम्पिक कमिटीको बहुचर्चित निर्वाचनमा अध्यक्ष पद सर्वसम्मतिबाट हुने सङ्केत देखिएको छ । निर्वाचनको माहोल तात्दै जाँदा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पल्ला भारी देखिएपछि यस्तो स्थितिको सिर्जना भएको हो । अध्यक्षका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले अहिलेसम्म त्यस्तो किसिमको कुनै सहमतिको खुलासा नगरे पनि उनका सहयोगीको मनस्थिति बुझ्दा ओलम्पिक कमिटीको निर्वाचन सर्वसम्मतिबाट हुने अनुमान लगाउन सकिन्छ । सर्वसम्मति अध्यक्ष पदका लागि हुन सक्ने देखिए पनि अन्य पदका लागि भने त्यस्तो स्थिति देखिएको छैन । प्राप्त जानकारीअनुसार वर्तमान नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्षसमेत रहेका उमेशलाल ओलम्पिक कमिटीको निर्वाचनमा पराजित भए त्यसको नकारात्मक परिणाम सङ्घमा पनि पर्न सक्ने निष्कर्ष निकाल्दै सहमति गर्ने मनस्थितिमा पुगेको बुझिएको छ । तर, अहिलेसम्म उनले कुनै आधिकारिक घोषणा नगरेकाले ओलम्पिकको निर्वाचन सर्वसम्मतिबाट हुन्छ या सबै पदमा निर्वाचन नै हुन्छ त्यसै भन्न सकिने अवस्थाचाहिँ छैन ।

यतिबेला नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई नजिकबाट नियाल्दै आएका विश्लेषकले वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठलाई अध्यक्षको प्रमुख दाबेदारको रूपमा प्रस्तुत गरेका छन् । यो कुरा जीवनरामको पक्षमा प्रचार गरिरहेका ओलम्पिक कमिटीका १५ जना पदाधिकारीको खुलापनले पनि प्रस्ट पार्छ । ओलम्पिक कमिटीको निर्वाचनको प्रतिनिधिसमेत रहेका ती पदाधिकारीले यसरी खुला रूपमा जीवनरामको जिताउन अपिल गरेपछि निर्वाचनको परिणाम जीवनरामतर्फ पूरै ढल्किएको छ । अध्यक्षमा निर्वाचित हुन मात्र १४ भोटको आवश्यकता पर्छ, अहिले १५ जनाले जीवनरामलाई जिताउन प्रचारको भूमिका निर्वाह गर्दा उनको जित सुनिश्चित देखिएको छ । जीवनरामको विजय सुनिश्चित देखिएपछि अब उनलाई सहयोग गर्ने सङ्ख्यामा वृद्धि हुने सम्भावना पनि उत्तिकै छ । प्राप्त जानकारीअनुसार यदि ओलम्पिकको अध्यक्षमा निर्वाचन भए जीवनरामले १९ देखि २४ भोटसम्म ल्याउन सक्ने बुझिएको छ । कहिलेकाहीँ अनुमान र अडकल गलत पनि साबित हुन सक्छन्, तर यतिबेला यो निर्वाचनमा जीवनरामको जुन लहर देखिएको छ त्यसको चर्चा गर्दा उनले गत संस्करणको निर्वाचनभन्दा बढी मत ल्याउने कुरालाई नकार्न मिल्दैन ।

अध्यक्षका प्रतिद्वन्द्वी उमेशलाल प्रधानको स्थितिलाई विश्लेषण गर्दा यतिबेला दुईजना ओलम्पिक कमिटीका पदाधिकारीहरू खुला रूपमा लागेको देखिन्छ । जसमा उपाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठ र महासचिवका उम्मेदवार पुरेन्द्रविक्रम लाखे छन् । अन्य कुनै पदाधिकारी उमेशलालको समर्थनमा खुलेर लागेको देखिँदैन । उनको समर्थनमा भनिएका व्यक्तिहरूले पनि मौनधारण गरेका छन् । जसले उमेशलालको रणनीति असफल हुँदा जीवनरामलाई जितको मार्ग प्रशस्त गरेको छ । यस्तो अवस्थामा उमेशलालले ‘सेभ ल्यान्डिङ’को रूपमा सहमतिलाई आफ्नो हतियार बनाउन सक्ने सम्भावना बढेको छ । तर, उनले अध्यक्ष पदमा उम्मेदवारी दिइसकेको हुँदा सहमति नगर्न पनि सक्छन् । हारजित जे भए पनि लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । अर्को कुरा आफूले सेभ ल्यान्डिङ गर्दा अरूलाई के गर्ने त्यो प्रमुख चुनौती पनि अहिले उमेशलालसामु खडा भएको छ । उनलाई सहयोग गर्दै आएका व्यक्तिहरूको पनि रणनीति होला, उनीहरू जीवनरामको अघि हतियार बिसाउने भए चुनावको मैदानमा कदापि उत्रिने थिएनन् । यो कुरा उमेशलालले पनि राम्रोसँग बुझेको छन् । यस्तो अवस्थामा ओलम्पिकको निर्वाचन आफैँमा रोचक बन्दै गएको छ ।

सर्वसम्मति हुनु राम्रो हो, यसले उत्कृष्ट उदाहरण पनि पेस गर्छ, जसलाई लोकतन्त्रको व्युटि पनि भन्छन् । तर, सर्वसम्मति हुनुपछिको जटिलता आफैँमा उदेकलाग्दो छ । सोझो अर्थमा भन्नुपर्दा सर्वसम्मतिको वातावरण तयार पार्ने व्यक्तिको निर्वाचनपछिको हैसियत के त ? उम्मेदवार भइसकेको व्यक्तिलाई मनोनयन गर्दा मानार्थभन्दा अर्को पद दिन नसक्ने कानुनी व्यवस्था छ । अर्को महत्वपूर्ण कुरा उमेशलाल यसअघि ओलम्पिक कमिटीको उपाध्यक्ष भएको नाताले उनलाई मानार्थ उपाध्यक्ष पद दिन मिल्ने भए पनि त्यसभन्दा माथिको पद दिन मिल्दैन । यस्तो अवस्थामा उमेशलाल मानार्थ पदमा बस्न राजी होलान् त ? प्रश्न उठ्नु स्वाभाविकै हो । मानौँ उमेशलाल मानार्थ पदमा बस्न राजी भए, अन्य उपाध्यक्ष र महासचिवका उम्मेदवारहरूका लागि कस्तो व्यवस्था गर्ने ? त्यो अर्को चुनौती छ । दुईजनासम्मलाई मानार्थ उपाध्यक्ष बनाउन सकिने भए पनि बिनाहैसियतको मानार्थ पदमा बस्नुको औचित्य के त्यो पनि प्रश्नचिह्नको घेरामा परेको छ ।

यदि नेपाल ओलम्पिक कमिटीमा अध्यक्षको निर्वाचन भए जीवनरामको पक्षमा कम्तीमा १९ र बढीमा २४ भोट पाउने देखिएको छ । त्यस्तै उमेशलालको पक्षमा कम्तीमा ३ देखि बढीमा ८ भोट देखिएको छ । यो निर्वाचनको हुनुअघिको अनुमान र अड्कल मात्रै हो । निर्वाचन हो, यो अनुमान र अड्कल गलत पनि साबित हुन सक्छ । दुवै पक्षले विजयको दाबी गरिरहेको अवस्थामा भोटको सङ्ख्या तलमाथि पनि हुन सक्छ । एउटा गुटसँग साँठगाँठ गर्नेले अर्को गुटसँग पनि गर्न सक्छ । वर्तमान अवस्थामा जीवनरामको बोलाएको बैठकमा उपस्थित हुने निर्वाचन प्रतिनिधिहरूको सङ्ख्या निकै बाक्लो छ । प्रायजसो उनले बोलाएको बैठकमा २१ जना प्रतिनिधिले सहभागिता जनाउँदै आएका स्रोतको दाबी छ । प्रत्येक बैठकमा उपस्थिति हुने सदस्यमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमिल्सिनाको नाम अग्रपङ्क्तिमा छ । स्मरण छ, गत निर्वाचनमा जीवनरामलाई हराउन तिमिल्सिनाले अहम् भूमिका निर्वाह गरे पनि असफल भएका थिए । तर, यसपटक उनले नुनको सोझो गरेका छन् । परिणाम, निर्वाचन हुनुअगावै निर्विरोध उपमहासचिव बनेका छन् । जसको प्रत्यक्ष असर अहिले उमेशलाललाई परेको छ ।

अहिलेको समीकरणले जस्तोसुकै तस्बिर देखाए पनि निर्वाचनमा जे पनि हुन सक्छ । हिजो जे देखिएको थियो त्यो नहुन पनि सक्छ । आज एउटा पक्षमा ऐक्यबद्धता जाहेर गर्नेले भोलि खुसुक्क अर्कोसँग साँठगाँठ गर्न पनि सक्छ । यो गोप्य निर्वाचनको पद्धतिको विशेषता हो । तर, ओलम्पिक कमिटीको निर्वाचनको दृश्य जसरी अगाडि आइरहेको छ त्यो अपत्यारिलोचाहिँ छैन । घात–अन्तर्घात नहुने हो भने जीवनरामको विजय रथलाई कसैले रोक्न सक्ने अवस्था छैन । किनकि उनको सेनामा अहिले थुप्रै महारथीको उपस्थिति छन् । अझ सारथिको रूपमा राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिना नै अगाडि आएपछि जीवनरामको लागि विजयको झण्डा फहराउन मात्र बाँकी छ भन्दा अतिसयोक्ति नहोला ।