पुटिन र मोदी वार्ता हुँदै, ऊर्जा र हतियार बिक्री छलफलका विषय

पुटिन र मोदी वार्ता हुँदै, ऊर्जा र हतियार बिक्री छलफलका विषय


रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारती प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज (बुधबार) रुसको पूर्वी शहर भ्लाडिभोस्टकमा लगानी र व्यापारका विषयमा वार्ता हुँदै छ । दुवै नेताबीच ऊर्जा र हतियार बिक्रीबारे पनि छलफल हुने बताइएको छ ।

रुसको भ्लाडिभोस्टक शहरमा आयोजना हुने पूर्वी आर्थिक मञ्च (इस्टर्न एकोनमिक फोरम) को बैठकमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी अहिले रुसमा रहेका छन् । रुसको आयोजनामा सन् २०१५ देखि भ्लाडिभोस्टकमा वर्षैपिच्छे आयोजना हुने यस सम्मेलनमा एसियाली मुलुकहरूबीच आर्थिक साझेदारी प्रवद्र्धनका विषयमा छलफल हुने गर्दछ ।

रुसले सन् २०१४ मा क्रिमियालाई कब्जा गरेपछि पश्चिमी राष्ट्रले आर्थिक प्रतिबन्ध लगाएसँगै रुसले यो मञ्च स्थापना गरेको थियो ।

राजनीतिक रूपमा रुस र भारतबीच कुनै मतभेद नरहेको बताउँदै वल्र्ड इकोनोमी इन्स्टिच्युटका विश्लेषक अलेक्सी कुप्रियानोभले दुवै नेताबीच आर्थिक विषयमा छलफल हुने बताए ।

उनले रुसको पूर्वतर्फ प्रशान्त क्षेत्रमा चीनबाहेकका मुलुकको पनि लगानी भित्र्याउन रुस इच्छुक देखिएको बताए । यस क्षेत्रमा भारतीय लगानीको सम्भावना पहिल्याउन दुवै नेताबीच छलफल हुन सक्ने उनको भनाइ छ । सम्मेलनअघि मोदी र पुटिनले जेज्दा शहरको भ्रमण गरी त्यहाँका उद्योगको स्थलगत जानकारी लिनेछन् ।

रुसी मिडियालाई दिएको अन्तर्वार्तामा भारतीय प्रधानमन्त्री मोदीले दुवै देशबीच विगत लामो समयदेखि विशेष सम्बन्ध रहेको बताएका छन् । दुवै मुलुकबीच सन् २०१८ मा करिब ११ अर्ब अमेरिकी डलरबराबरको व्यापार भएको थियो । भारतले गत वर्ष रुसबाट ५ अर्ब अमेरिकी डलरमा एस–४०० हवाई प्रतिरक्षा प्रणाली गरेको थियो ।