भीम रावलसँग स्पष्टीकरण लिइने !

भीम रावलसँग स्पष्टीकरण लिइने !


केपी ओली र प्रचण्ड ‘मिलेपछि’ नेकपाभित्र अनुशासन कायम गराउन नेतृत्वका विरुद्ध नकारात्मक टीका–टिप्पणी गर्न नपाउने उर्दी जारी भएलगत्तै केही नेताहरूलाई स्पष्टीकरण मागेर ‘डिमरलाइज्ड’ गर्ने योजना बनेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ ।

विभिन्न सन्दर्भमा विभिन्न नेताहरूलाई सार्वजनिक रूपमै नकारात्मक टीका–टिप्पणी गर्ने व्यक्तिहरूको खोजी नेकपाभित्र व्यापक रूपमा हुन थालेको छ । यस क्रममा जम्मा पाँचजना नेताहरूको नाम स्पष्टीकरण लिइनुपर्ने व्यक्तिका रूपमा सूचीबद्ध भएको बुझिएको छ । पार्टीमा फलामे अनुशासन कायम गर्नका निम्ति महासचिव विष्णु पौडेलले विशेष अग्रसरता लिएका छन् र, अनुशासनहीनहरूको सूची तयार गर्न पनि उनले नै तत्परता लिएको बताइन्छ ।

नेताहरू भीम रावल, जनार्दन शर्मा, सूर्य थापा, मेटमणि चौधरी र जगन्नाथ खतिवडामाथि पार्टीको नीति र नेताविरुद्ध गतिविधि गरेको आरोप लागेको छ । उनीहरूलाई अनुशासनमा राख्नका निम्ति तत्काल स्पष्टीकरण लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब हुँदै आएको र सिंगापुरबाट फर्किएपछि दबाब बढाइने सम्भावना देखिएको छ । भीम रावल पछिल्लो समयमा पार्टीभित्रको बेथिति, भ्रष्टाचार र राष्ट्रियताको मुद्दामा अलिक मुखरित हुँदै आएका छन् भने सूर्य थापाले नीतिगत, वैचारिक र व्यावहारिक कुराहरूलाई लिएर प्रचण्डहरूप्रति जोडदार ढङ्गले कटाक्ष गर्ने गरेका थिए । मेटमणि, जगन्नाथ र जनार्दनले पनि नेताहरूको बारेमा टिप्पणी गर्दा संयम गुमाउने गरेको ठानिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा रावलले निष्पक्ष छानबिनको माग गरेका थिए । अध्यक्ष केपी ओलीको स्वदेश आगमनपछि भीम रावललगायतका नेताहरूमाथि स्पष्टीकरण लिन ओलीमाथि दबाब बढ्ने बुझिएको छ । भदौ २० गते शुक्रबार प्रधानमन्त्री ओली स्वदेश फर्कने निश्चित भइसकेपछि पनि महासचिव विष्णु पौडेल अचानक सिंगापुर जानुले थप संसय पैदा गरेको छ ।