जुडोको भगौडा खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै, अध्यक्ष बज्राचार्यको तानाशाही

जुडोको भगौडा खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै, अध्यक्ष बज्राचार्यको तानाशाही


नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यको संघमा तानाशाही बढेपछि अहिले जुडो संघका पदाधिकारीबीच मतभेद बढेर गएको छ । जुडो संघका हरेक क्रियाकलापमा अध्यक्ष बज्राचार्यले हस्तक्षेप गर्दै आफुखुशी गैरकानुनी निर्णय गरेपछि संघका पदाधिकारीबीच मतभेद बढेको संघका एक वरिष्ठ पदाधिकारीले बताएका छन् ।

विगत १२ वर्षदेखि जुडोमा एकछत्र राज गर्दै आएका अध्यक्ष बज्राचार्यले जुडो संघमा गरेको हस्तक्षेप र अनियमित कार्यको बारेमा विगतमा पनि विरोधका स्वरहरू उठेका थिए । तर अध्यक्ष बज्राचार्यले शक्तिको आडमा सम्बन्धित निकायका पदाधिकारीहरूको चाकरी र चाप्लुसी गर्दै उनीहरूको आवाज दबाउन सफल भएका थिए ।

यतिबेला अध्यक्ष बज्राचार्य यस्तै गैरकानुनी र विवादास्पद कार्य गरेर पुनः विवादमा तानिएका छन् । विगत पाँच महिनाको समयमा बज्राचार्यले तीनवटा विवादास्पद कार्य गरेको प्रमाण खुृलासा भएको छ । आफुलाई जुडोको हिमायती सम्झिने बज्रचार्यले जुडो खेलाडीमाथि गरेको अन्याय यतिबेला छताछुल्ल भएको छ । बज्राचार्यले राष्ट्रिय च्याम्पियन भन्दा विदेश पलायन भएको भगौडा खेलाडी मोहन बमलाई राष्ट्रिय टीममा समावेस गर्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएपछि जुडोमा उनले गर्दै आएको तानशाही प्रवृत्तिको यथार्थ पर्दाफास भएको छ ।

प्रदेश ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको अहिले पाँच महिना भएको छ । यो अवधिमा जुडो खेलका खेलाडीहरुले विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पनि पाएका छन् । तर विडम्बना, आठौं राष्ट्रिय प्रतियोगितामा ६० केजी तौल समुहमा स्वर्णपदक जित्ने उमेश मगर भने राष्ट्रिय च्याम्पियन भएर पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनु परेको छ । उमेशलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नबाट वञ्चित गराउनमा अध्यक्ष बज्राचार्यको विशेष हात रहेको जुडो संघका पदाधिकारीले जानकारी गराएका छन् ।

सात वर्षअघि विदेश अष्ट्रेलिया पलायन भएका मोहन बमले खेलाडीको रुपमा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन छोडेको थुप्रै वर्ष भैसकेको छ । नेपाल नरहेको, विदेश पलायन भएको, राष्ट्रियस्तरका कुनै पनि जुडो खेलमा सहभागिता नजनाएको व्यक्ति मोहन बमलाई कुन खेलको नियम लगाएर अध्यक्ष बज्राचार्यले अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा सहभागी गराए, त्यो अहिले अहम चासोको विषय बनेको छ । जुडो संघ पूर्व कार्यालय सहायकसमेत रहेका बम र अध्यक्ष बज्राचार्यबीचको साँठगाँठ के हो ? त्यो अहिले पर्दाफास हुनु जरुरी भएको छ ।

प्राप्त जानकारीअनुसार मोहन वम विदेशमै बसेर विगत तीन महिनामा एसियन जुडो च्याम्पियनसीप युएई, ताईपेई एसियन ओपन जुडो ताईवान र वल्र्ड जुडो च्याम्पियनसीप जापानमा प्रतिस्पर्धा गरेको खुलासा भएको छ । ६० केजीमा प्रतिस्पर्धा गरेका बमले यी तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा एक अङ्क पनि नल्याएको समेत स्रोतले जनायो । यसरी अन्तर्राष्ट्रिय स्तरमा एक अङ्कसमेत बटुल्न नसक्ने खेलाडीलाई कुन स्वार्थ पूर्ति गर्न अन्तर्राष्ट्रिय प्रतियोगिता अध्यक्षले सहभागि गराइरहेका छन्, अहिले शङ्काको घेरामा परेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा वमले प्रतिस्पर्धा गरिरहेको तौल समुहको च्याम्पियन हुन्– उमेश मगर । मगरले हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यो तौल समुहमा स्वर्ण जितेका थिए । अहिले नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेका मगर छनोट चरणमा पनि सफल भएका थिए । यसरी एउटा उत्कृष्ट र च्याम्पियन खेलाडी हुँदाहुँदै कसरी विदेश पलायन भएको खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको छ ? त्यसको जवाफ अध्यक्ष बज्राचार्यले दिनुपर्ने छ ।

साथै, अध्यक्ष बज्राचार्यले जुडोमा यस्तो तानाशाही चलाउँदा समेत मौनता साध्ने सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद कहिलेसम्म मुकदर्शक बन्ने त्यो अहिले खेलकुदमा चर्चाको विषय बनेको छ ।