एनआरएनए बेल्जियम : स्थिति र सम्भावना !

एनआरएनए बेल्जियम : स्थिति र सम्भावना !


■ मदन दवाडी, बेल्जियम

एनआरएनए बेल्जियमको यही १८ अगस्ट २०१९ का दिन भएको सातौँ अधिवेशनबाट सारा विश्वलाई नै चकित पार्ने गरी सर्वसहमतिमा नयाँ नेतृत्व चयन भएको छ । बेल्जियममा यसरी सर्वसहमति हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिए होला, किनकि आमधारणा के छ भने बेल्जियममा सधैँ भाँडभैलो मात्र भइराख्छ, नेपालमा भन्दा पनि यहाँ बढी राजनीति हुन्छ भन्ने छ ।

जसरी आमधारणालाई ब्रेक थ्रु गरेर सहमति भयो त्यसरी नै एनआरएनएले केही गर्दैन, एनआरएनए भनेको राजनीति हो, एनआरएनएमा पद पाउन मात्रै हानथाप हुन्छ पद पाएपछि केही गर्दैन भने आमधारणालाई यो टिमले ब्रेक थ्रु गर्न सक्नुपर्छ ।

एनआरएन बेल्जियमको इतिहास र स्थिति हेर्ने हो भने केही काम गर्ने पहलकदमीको शुरुवात भएकै हुन्, तर कतिपय कार्यहरूको महत्व, ओझ, आवश्यकता तथा औचित्यको विश्लेषण नगरीकन जबर्जस्ती जसरी पनि गर्नैपर्छ भन्ने तरिकाले झारा टारिरहेको देखिन्छ । हरेक संस्थाले संस्थाको मुख्य उद्देश्य र लक्ष्य प्राप्तिका लागि विभिन्न कार्ययोजना तथा तिनको कार्यन्वयनका लागि कार्यसूची बनाएर सोही फ्रेमभित्र रहेर कार्यक्रम गरिनुपर्ने हो, त्यो गरिएको पाइन्न । कतिपय यसले गरेको कार्यक्रम संस्थाको उद्देश्यसँग नै बाझिने खालको पाइन्छ ।

संस्थाको महत्वपूर्ण निर्णय गर्दा नेतृत्वले निर्णय सही वा गलत भन्नुभन्दा पनि त्यो निर्णयबाट कुनै समुदाय वा व्यक्ति खुसी हुन्छ कि बेखुसी हुन्छ र त्यसले कस्तो प्रभाव पर्छ भनेर विश्लेषण गरेको पाइन्छ । ठीक–बेठीकभन्दा पनि विभिन्न झुण्डमध्ये अलि ठूलो झुण्डलाई खुसी पार्ने प्रयास गरिएको देखिन्छ । त्यस्तैगरी कुनै जिम्मेवारी बाँडफाँड गर्दा पनि त्यो व्यक्ति सक्षम छ वा छैन भन्दा पनि आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनेर सोचेको पाइन्छ । यसको उपज नै हो कार्यसमितिमा रहेको व्यक्तिहरू बैठकमा नै नआउने वा जिम्मेवारी निर्वाह नगर्ने । किनकि कसैले आफ्नो अनुकूलताको लागि जबर्जस्ती राखिदिएको हुन्छ ।

संस्थामा ४१ जना त निर्वाचित नै छन्, त्यसमा मनोनीत, सल्लाहकार र अनरी गर्दा एउटा जेट विमानमा पनि नअट्ने जम्बो टोली छ, तर एकदमै सीमित व्यक्ति मात्र सक्रिय रहेको पाइन्छ । यसो हुनुको कारण कार्यविभाजनको समस्या हो । एउटा अध्यक्ष मात्र जहाँ पनि र जस्तो कार्यक्रममा पनि अध्यक्षता गर्न दौडिएको पाइन्छ । त्यति मात्रै होइन, एनआरएनएले सहयोग गर्नुपर्ने कुनै सामातिना काममा पनि अध्यक्ष स्वयं उपस्थित भएको देखिन्छ जसले गर्दा अध्यक्षलाई संस्थाको रणनीतिक महत्वका नीति निर्माण गर्नेबारे सोच्ने फुर्सद नै हुँदैन । जे–जे चलिरहेको छ त्यसैमा समय दिन फुर्सद छैन भने नयाँ कुराबारे कसरी सोच्ने र एनआरएनएले नयाँ पन पाओस् ?

यसैले अहिलेको स्थितिमा हेर्दा एनआरएनए बेल्जियमा आडैमा रहेको हाइवे जहाँ १२० किलोमिटरका दरले कुद्न सकिन्छ त्यहाँ नगईकन सर्भिस रोडमा मात्रै १५–२० किलोमिटरको गतिमा कुदिरहेको छ जस्तो भान हुन्छ । हाइवेमा उक्लन गेयर घटाउन पर्छ याने कि परिवर्तनको जरुरत पर्दछ जुन कुराको लागि इच्छा, तत्परता मात्रै होइन क्षमता पनि नभएको देखिन्छ ।

सातौँ अधिवेशनबाट २०१९–२१ को लागि एक राम्रो टिमको निर्माण भएको छ । यो टिमले गेयर परिवर्तन गरेर हाइवेमा जाने क्षमता राख्छ, तर त्यहीअनुसारको नेतृत्वमा इच्छा र तत्परता पनि हुन जरुरी छ ।

भौतिकशास्त्री सर आइज्याक न्युटन २३ वर्षका थिए जब उनको टाउकोमा स्याउ खस्यो उनमा किन खस्यो, किन माथि गएन भनेर उत्सुकता जाग्यो र खोजतलास गरेर गुरुत्व आकर्षणको सिद्धान्त पत्ता लगाए । उनले २३ वर्षसम्म स्याउ खसेको नै नदेखेका होइनन्, तर जब उनको टाउकोमा नै खस्यो तब यसबारे सोचे । हो, त्यसरी नै अहिले एनआरएनएमा भएको सदस्यताको कमी, अधिवेशनमा भएको उपस्थितिको संख्या र कतिपय पदाधिकारी पदमा नै मनोनयन नहुनुले एनआरएनएप्रतिको विकर्षणको कारण खोजतलास गरिनुपर्छ ।

अहिलेसम्मको स्थिति हेर्दा कुनै कार्यक्रम गर्दा वा निर्णय गर्दा त्यो निर्णय सही वा गलतभन्दा पनि त्यो निर्णयले कुनै अमूक शक्तिशाली व्यक्ति वा समुदाय बेखुसी हुन्छ कि हुँदैन र यदि बेखुसी भयो भने उसले असहयोग गर्छ कि भनेर बढी सोच राखेको पाइन्छ । यसैको उपज कतिपय विवादास्पद कार्यक्रममा पनि एनआरएनएले प्रतिनिधित्व गरेको पाइयो । यस्ता कुराहरूमा नेतृत्व अलि निडर नै हुनुपर्छ । सत्य र तथ्य बोल्दा धेरैले दुःख पाएको इतिहास छ । पाइथागोरस, ग्यालिलीलगायत कैयौँ वैज्ञानिकलाई सत्य बोलेको र त्यो धर्मविरोधी भएको आधारमा जिउँदै जलाउने तथा जेलनेल गरियो, तर तिनीहरू अहिले अमर छन् । त्यसैले सत्य वा सही गर्दा भिड, मास वा शक्तिले साथ देला वा नदेला भन्नेतिर लाग्नुहुँदैन ।

यी त भए अहिलेको स्थिति अब चर्चा गरौँ आगामी कार्यकालमा एनआरएनएप्रति सबैको आकर्षण ल्याउन के–के गर्नुपर्छ भन्नेबारे ।

१) कार्यविभाजन :

माथि नै उल्लेख भइसकेको छ कि एनआरएनएमा कार्यविभाजन छैन याने कि सहभागीमूलक व्यवस्थापन छैन । संस्थामा सबैको अपनत्व जगाउन सबैको काम, कर्तव्य, अधिकार र दायित्वको बाँडफाँड गरिनुपर्छ ।

संस्थामा ६ जना त उपाध्यक्ष मात्रै भएको सन्दर्भमा यसले गर्नुपर्ने कामलाई ६ विभागमा विभाजन गर्ने र हरेकको क्षमता तथा विज्ञताको आधारमा विभागीय जिम्मा दिने र सोहीअनुसारको कार्यक्रममा सम्बन्धित विभाग प्रमुखले नै अध्यक्षता गर्ने । ठूला राष्ट्रिय स्तरको कार्यक्रमबाहेक अन्य सानातिना संघ–संस्थाले गर्ने साधारण कार्यक्रममा सम्बन्धित विभागका उपाध्यक्षलाई नै अध्यक्षता गर्न लगाएमा अध्यक्षको समयको बचत हुन्छ र संस्थागत नीति निर्माण गर्न समय बचत हुन्छ । यसैगरी तीनजना सचिवहरूको पनि कार्यविभाजन गरेर जिम्मेवारी दिनुपर्ने हुन्छ । कार्यविभाजन र जिम्मेवारी बाँडफाँड गर्नु संस्थाप्रति अपनत्व गराउने एक महत्वपूर्ण कडी हो ।

२) सबै संघसंस्थाको महासंघको रूपमा काम गर्ने :

बेल्जियमा लगभग ६० वटा नेपाली संघसंस्था छन् । ती संस्थाहरू जातीय, क्षेत्रीय, धार्मिक र राजनीतिक छन् । एनआरएनए सबैको साझा संस्था हो, यसमा सबै जाति, सबै राजनीति, सबै धार्मिक र सबै क्षेत्रका मानिस आबद्ध छन् । एनआरएनएलाई सहभागीमूलक व्यवस्थापन (participatory management) गर्न यी सबै संस्थाका अध्यक्षलाई एनआरएनएको पदेन सदस्य बनाउने र बैठकमा भाग लिन मिल्ने बनाउनुपर्छ । यद्यपि निर्णयमा उपस्थिति र कोरम संख्यालाई मध्यनजर गरी पदेन सदस्यको संख्याले कोरमलाई प्रभाव नपार्ने बनाउनुपर्छ ।

त्यस्तै हरेक संघसंस्थाको कार्यसमितिको नामावली, सम्पर्क इमेल, सम्पर्क नम्बर, कार्यालय ठेगाना र साधारणसभाको रिपोर्टलगायतको जानकारी एनआरएनएको वेबसाइटमा उपलब्ध गराउने जसले गर्दा खोजेको बेलामा सबै संघसंस्थाबारे जानकारी होस् । अहिले पनि विभिन्न संघसंस्थाको इमेलहरू राखिएको छ, तर अपडेट गरिएको छैन । चार वर्षअघि समिति परिवर्तन भइसकेको संस्थाको पुरानै इमेल भेटिन्छ । यसका लागि हरेक संस्थाले एनआरएनएलाई आफ्नो संस्थामा केही परिवर्तन हुनासाथ त्यसको जानकारी अनिवार्य गराउनैपर्ने व्यवस्था गर्नुपर्छ ।

३) तथ्यांक संकलन :

यो तथ्यांक संकलन धेरै पहिलादेखि उठान भएको विषय हो । तर, यसलाई गर्नै नसकिने गरी हाउगुजी बनाइएको छ । यसको लागि पहिला उमेर, लिंग, पेसा, जाति, क्षेत्र, धर्मलगायतमा वर्गीकरण गर्न मिल्ने गरी एउटा सफ्टवेयर बनाउनुपर्छ । यो काम एनआरएनएको एकल पहलमा सम्भव हुँदैन, त्यसैले बेल्जियममा अवस्थित सबै संस्थाहरूलाई आ–आफ्नो संस्थाको तथ्यांक संकलन गर्न लगाउने । जस्तो क्षत्री समाजलाई बेल्जियममा बसोवास गर्ने क्षत्रीहरू कति छन् त्यसको तथ्यांक पनि चाहिएको छ भने चितवन समाजलाई पनि चाहिएको छ । यसरी सबै संघसंस्थालाई आ–आफ्नो संस्थाको तथ्यांक संकलन गराउँदा कार्य विभाजन हुन्छ र कार्यभार कम पर्नुको साथै सहज हुन्छ । त्यस्तै एनआरएनएभन्दा यी संस्थासँग हरेक व्यक्ति निकट पनि हुने हुनाले सहज पनि हुन्छ । हरेक संस्थाले कम्तीमा कार्यसमितिको मात्र संकलन गऱ्यो भने ६० वटा संस्थाको २० जना औसत कार्यसमिति सदस्यको दरले १२०० परिवार भयो र हरेक परिवारको तीनजनाको दरले ३६०० जनाको तथ्यांक त यसै संकलन हुन्छ । यसरी संकलित तथ्यांकलाई एनआरएनएले केन्द्रीकृत गरेर आवश्यकताअनुसार वर्गीकृत गरी सुरक्षित राख्नुपर्छ । यसो गर्दा युरोपको नयाँ नियम न्म्एच् आकर्षित नहुने गरी आवश्यक प्रक्रिया पूरा गरिनुपर्छ ।

४) पुस्तकालय :

हालसम्मका हरेकजसो निर्वाचनको बेला नेपाली स्कुल, नेपाली कक्षा भनेर भन्दै आइयो, तर यसको लागि कहिल्यै पनि पहल भएन । यो समस्या बेल्जियमको हकमा नभईकन विश्वभरि नै छ जस्तो लागेको छ ।

तर, बच्चाको पहिलो पाठशाला भनेको घर हो र पहिलो शिक्षक भनेको नै बाबुआमा हो । बेल्जियममा रहने हरेक बाबुआमा आफ्ना बच्चालाई पढाउन सक्ने क्षमता छ । यसैले नेपाली स्कुल भनेर रटान गर्नुभन्दा बरु बाबुआमाले घरमा नै नेपाली पढाउन मिल्ने खालका सामग्रीहरू जस्तै अडियो, भिडियो, पुस्तक तथा भित्तामा टाँस्ने भाषिक ब्यानरहरू पुस्तकालयमार्फत उपलब्ध गराइयो भने उचित हुन सक्दछ । यहाँको नगरपालिकासँग समन्वय गरेर यहाँको पुस्तकालयमा नै ती पुस्तक तथा सामग्री हस्तान्तरण गर्न सकिन्छ जसले गर्दा सहज रूपमा पुस्तकालयमा गएर नेपाली किताब प्राप्त गर्न सकिन्छ ।

त्यस्तै गरी यहाँ मदिरापान गर्न तथा तास खेल्न प्रसस्तै नेपाली क्लब छन्, तर गएर पढ्न तथा अध्ययन गर्न कतै ठाउँ छैन । यसैले हामीले छुट्टै नेपाली पुस्तकालय बनाएर नेपाली साहित्य तथा अन्य भाषिक किताब, नेपाली धर्म–संस्कृति र कानुनसम्बन्धी किताब, यहाँको भाषा सिक्न उपयुक्त तथा सवारीचालक अनुमतिपत्र लिन किताबलगायत अन्य विभिन्न उपयोगी किताबहरू उक्त पुस्तकालयमा राख्न सकिन्छ । यसको लागि अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमसँग समन्वय गर्न सकिन्छ । यसले दीर्घकालमा नेपाली भाषा, साहित्य, धर्म संस्कृति जोगाउन ठूलो टेवा पुग्नेछ ।

५) नेपाली धर्म, संस्कार, संस्कृतिलाई यहाँको राज्यमा परिचित गराउन पहल गर्ने :

बेल्जियममा अहिले लगभग दश हजार नेपाली बस्छन्, तर हाम्रो समुदाय यहाँ परिचित हुन सकेको छैन । यहाँको सरकारी स्कुलमा चारवटा धर्मसम्बन्धी पढाइ हुन्छ । क्याथोलिक, इस्लाम, यहुदी र प्रोटेस्टेन्ट । हाम्रा बच्चाहरूले जबर्जस्ती अरू कसैको धर्मबारे पढिरहेका छन् । हामीले किन हाम्रो सनातन धर्म हिन्दू, बौद्ध तथा सम्भव भए र संख्या पुगेमा अन्य नेपालमा मानिने धर्मबारे पनि पढाउन पहल किन नगर्ने ? संख्या पुग्दैन भने यहाँको कुनैकुनै स्कुलमा ५० जनाभन्दा बढी नेपाली बच्चा पढ्छन्, त्यहाँ त संख्या पुग्छ नि त्यहाँ किन पहल नगर्ने ? यसैले सबै स्कुलमा नभए पनि केही स्कुलमा यो सम्भव छ ।

त्यसैगरी अहिले पढाइ भइरहेका यी चार धर्मसम्बन्धी मुख्य चाडहरूमा सम्बन्धित धर्म मान्ने बच्चाहरूलाई छुट्टी हुन्छ, तर हाम्रो दशैँ, तिहारलगायत अन्य चाडहरूमा हाम्रा बच्चाले छुट्टी पाउँदैनन् । मैले अघिल्लो वर्ष भाइटीकाको दिन मेरो छोरालाई बिरामी छ स्कुल आउन सक्दैन भनेर स्कुलमा फोन गर्दा छोराले किन ढाँटेको, म बिरामी छैन भनेर मलाई पटक–पटक प्रश्न सोध्यो, त्यसको जवाफ दिन सकिनँ । त्यसैगरी यहाँ पहिचानमा आएका धर्मसम्बन्धी चाडहरूमा सम्बन्धित धर्म मान्ने कामदारलाई बिदामा प्राथमिकता दिइएको हुन्छ । यस्ता कुरामा पहल गरियो भने एक हामी यहाँ परिचित हुन्छौँ भने अर्को हाम्रो पुस्तालाई हाम्रो संस्कार, रीति–रिवाज हस्तान्तरण गर्दै जान सक्छौँ ।

६) स्वयंसेवीविज्ञ टोली गठन गर्ने :

भाषा, कानुन, प्रविधि, चालचलनबारे ज्ञानको अभावले गर्दा कैयौँ नेपालीले विभिन्न दुःख पाइरहेका हुन्छन् । जस्तो कोही बिरामी पऱ्यो, हस्पिटल गएर भाषाको ज्ञानको कमीले गर्दा आफ्नो बिरामीबारे व्याख्या गर्न सक्दैन । घरको बाथरुममा पानी चुहियो भने त्यो इन्सुरेन्सले व्यहोर्छ, व्यहोर्दैन कैयौँलाई थाहा हुँदैन । यस्ता कैयौँ कुरा छन् जुन ज्ञानको अभावले कैयौँ पाउने सुविधा गुमेका छन् भने कैयौँ ठाउँमा अप्ठ्यारा र समस्या आइरहेका छन् । यसको समाधानका लागि भाषा, कानुन, प्रविधिलगायत अन्य विभिन्न क्षेत्रमा दक्षता भएका नेपाली तथा विदेशीलाई सामेल गरेर एउटा विज्ञ टोली गठन गर्ने र त्यही टोलीको माध्यमबाट नेपालीलाई परिआउने समस्याको समाधानका लागि पहल गर्न सकिन्छ । समस्याको प्रकृतिअनुसार निःशुल्क गर्ने सकिनेलाई निःशुल्क र शुल्क लिनुपर्नेलाई सशुल्क गर्न सकिन्छ । टोलीमा कानुनसम्बन्धी वकिलहरू, राम्रो भाषाका ज्ञान भएकाहरू, डक्टरहरू, एकाउन्टेन्टहरू, नोटरीका मान्छेहरू, रोजगार एजेन्सीका मान्छेहरू र बिमा कम्पनीका मान्छेलाई राख्नुपर्ने हुन्छ ।

एनआरएनएले कुनै एउटा एकाउन्टेन्ट, कुनै एउटा वकिलको कार्यालय, कुनै एउटा बिमा एजेन्सी, कुनै एउटा रोजगार एजेन्सीलाई आफ्नो सम्पर्कको रूपमा राख्न सक्दछ र एनआरएनएको माध्यमबाट त्यहाँ ग्राहक बन्नेलाई छुटको व्यवस्था गराउन सक्ने सम्भावना पनि रहन सक्छ ।

७) विभिन्न कार्यशालाहरूको आयोजना गर्ने :

माथि नै उल्लेख गरेअनुसार बेल्जियममा बसोवास गर्ने नेपालीलाई विभिन्न कुराको ज्ञानको अभाव छ र उक्त कारणले आइपर्ने विभिन्न समस्या समाधान गर्न विभिन्न किसिमका कार्यशालाको आयोजना गर्न सकिन्छ । जस्तो बिमासम्बन्धी तालिम, परिवर्तित कानुनसम्बन्धी ज्ञान दिन कार्यशाला, घर किनबेचसम्बन्धी ज्ञानको लागि नोटरीसम्बन्धी कार्यशाला, सामाजिक सुविधासम्बन्धी कार्यशाला, रोजगार र त्यससँग सम्बन्धित सुविधाको लागि कार्यशालालगायत अन्य विभिन्न कार्यक्रम गर्न सकिन्छ जसलाई सशुल्क गरेर एनआरएनएको लागि कोष संकलन गर्न सकिन्छ । सदाझैँ चन्दा मात्रै उठाउनुभन्दा उत्पादनमूलक काम गरेर कोष खडा गर्नु उपयुक्त हुन्छ ।

८) युवामैत्री कार्यक्रम :

अहिले युवाको नजरमा एनआरएनए भनेको सुड्डोहरूको राजनीति गर्ने ठाउँ भन्ने छ । कोही युवालाई एनआरएनमा जाने होइन भन्ने हो भने नजाने, अहिले राजनीति नगर्ने भन्छन् । केही समय पहिला युवाहरूको एउटा समूह एनआरएनएबारे कुरा गर्दै रहेछ । उनीहरूमध्येबाटै कोही युवा संयोजकमा आउन खोजेका रहेछन् । उनले एनआरएनएमा त पैसा तिरेर जानुपर्छ र त्यहाँ गएर सित्तैमा काम गर्नुपर्छ भनेछन् । अरूले यो कुरा पत्याएनछन् सित्तैमा काम पनि उल्टो पैसा तिरेर जानुपर्ने भनेर ? मलाई आएर सोधे यस्तो हो र भनेर । मैले हो भने त्यसपछि किन यस्तो भनेर सोधे । मैले जवाफ दिन सकिनँ । यसले के जनाउँछ भने युवा र एनआरएनएबीच ठूलो ग्याप छ । यो ग्यापलाई न्यूनीकरण गर्न अत्यन्तै जरुरी छ ।

युवाहरू एनआरएनएबीचको ग्याप न्यूनीकरण गर्न र युवाहरूलाई एनआरएनएप्रतिको अपनत्व महसुस गराउन युवामैत्री कार्यक्रमहरू ल्याउन आवश्यक हुन्छ । यसको लागि युवा संयोजकको नेतृत्वमा एउटा युवा समिति नै गठन गर्नुपर्ने हुन्छ र त्यो समितिले कम्तीमा हरेक दुई महिनामा एकपटक बैठक गरेर युवाहरूको चाहना र अपेक्षाहरूसँग नियमित रूपमा सञ्चारमा रहने र त्यहीअनुसारका कार्यक्रम तथा योजनाहरू ल्याइनुपर्छ ।

यी माथि उल्लिखितलगायत अन्य धेरै काम गर्ने प्रयास अबको एनआरएनए बेल्जियमले गर्नुपर्छ । प्रयास यस अर्थमा कि माथि उल्लिखित सबै काम शतप्रतिशत सम्पन्न गर्न सम्भव छ भन्ने होइन । एनआरएनएले एक–दुई मात्र राम्रा कामको शुरुवात गऱ्यो भने मानिसलाई सदस्य बन्न दबाब दिनैपर्दैन आफैँ खोज्दै आउँछन् । जस्तो नेपाली व्यवसायी संघ बेल्जियमले केही कामको शुरुवात गर्ना साथ सयौँ व्यवसायी पछि सदस्य बन्न आफैँले पहल गरेका थिए ।

(लेखक नेपाली व्यवसायी संघ बेल्जियमको महासचिव तथा नवनिर्वाचित गैरआवासीय नेपाली संघ बेल्जियमको कार्यसमिति सदस्य हुनुहुन्छ ।)