केपी र प्रचण्डको रोमाञ्चकारी खेल !





■ देवप्रकाश त्रिपाठी

छलनीतिमा अब्बल मानिएका प्रचण्ड र चातुर्यमा अग्रणी ठानिने केपी शर्मा ओलीबीचको सूक्ष्म खेलहरू बुझ्न सकियो भने यसले वर्तमानमा हामीले भोग्नु परिरहेको पीडा मात्र भुलाउँदैन, फुटबल या क्रिकेटका पारखीहरूले खेल हेरेर प्राप्त गर्ने तहको रमाइलो अनुभूति पनि गराउँछ, खेल बुझ्नचाहिँ सक्नुपर्छ । सत्ता–राजनीतिको माथिल्लो दर्जामा रहेका नेताहरूबीच जुन स्तरको मिलाप, विलाप र बेइमानी देखिन्छ, त्यसबाट मुलुक आहत बनेको कुरामा विमति नरहला, तर ‘राडीमा सातु मुछेपछि घिन मान्नुहुँदैन’, त्यसैमा आनन्द लिनुपर्छ भनेझैँ ‘यस्तै’लाई नेता बनाएपछि सुन्दर सपना देख्नुभन्दा यिनकै खेलमा रमाइलो मानेर बस्नु उचित हुने ठान्न थालिएको छ ।

वर्तमान राजनीतिमा मुख्य खेलाडी हुनुपर्थ्यो केपी शर्मा ओली र शेरबहादुर देउवा, तर देउवा मूल खेलाडी नबनेर च्याँखेदाउमै सीमित भएपछि खेलमा मुख्य पात्र बनेका छन् केपी र प्रचण्ड । यी दुईकै खेलबाट ०७४ को निर्वाचनमा दुई कम्युनिस्ट पार्टी एक भएर निर्वाचनको मैदानमा उत्रिएका हुन् र चुनावपछि एकीकृत पार्टी गठन भएको हो । संसदीय निर्वाचनमा तालमेल केपीका निम्ति बाध्यता थियो भने प्रचण्डका निम्ति अवसर । त्यसबेला शेरबहादुर देउवाको काङ्ग्रेस र माओवादीबीचको सम्भाव्य चुनावी एकतालाई असम्भव तुल्याउन मात्र केपीले प्रचण्डसँग चुनावी मोर्चा खडा गर्नुपरेको थियो । करिब सात स्थानमा मात्र विजय हासिल गर्न सक्ने स्थितिमा रहेको माओवादी सैंतीस स्थानमा विजयी बनेबाट चुनावी खेलमा प्रचण्ड ‘माथि परेका’ हुन् भनने बुझाउँछ ।

चुनाव परिणामपछि बलियो ‘बार्गेनिङ’को हैसियतमा रहेका प्रचण्ड पार्टी एकीकरण नगर्दा परिस्थिति आफ्नो निम्ति अनुकूल हुने देख्थे, त्यसैले एकीकरणमा उनले रुचि लिइरहेका थिएनन् । तर, प्रचण्डलाई पार्टीबाहिर राख्दा आफ्नो सरकारको निरन्तरतामा खतरा देखे केपीले, त्यसैले जसरी भए पनि प्रचण्डलाई पार्टीमा भित्र्याउने र उनको ‘बार्गेनिङ पावर’ नष्ट गरिदिने चालअन्तर्गत केपी पार्टी एकीकरण गराउन सफल भए । एकीकरणपछि पनि नेपालमा कसैले राजनीति गरिरहेका छन् भने त्यो केपी र प्रचण्डले मात्रै हो ।

आफ्नो स्वास्थ्य स्थिति खराब भएको सन्देशले प्रचण्डलाई खुसी तुल्याउँछ भन्ने केपीले बुझेका थिए । त्यसैले प्रचण्डलाई आफ्नो निवासस्थानमा बोलाएर आफू अस्वस्थ रहेको बताउँदै अब पार्टी र सरकार तपाईंले नै चलाउने हो भन्ने वाक्य कानमा पारिदिए ।

गत असार महिनासम्म केपीको काममा अड्चन पैदान गर्न, उनलाई बदनाम गर्न र एक्ल्याउन प्रचण्ड सफल भएका थिए । उनले वामदेव गौतम, झलनाथ खनाल, घनश्याम भुसाल र भीम रावलदेखि योगेश भट्टराईलाई समेत मोर्चाबद्ध गरेर शुरु गरेको खेल माधव नेपालको चरित्रका कारण अन्तिम समयमा आएर असफल भइदियो । सबभन्दा पहिले संसदीय दलको नेताबाट, त्यसपछि प्रधानमन्त्री र पार्टी अध्यक्षको जिम्मेवारीबाट समेत मुक्त गरिदिने प्रचण्डको योजना रातारात असफल तुल्याउन केपी सफल भए । केपीको यो सफलताबाट निराश बनेका प्रचण्डका निम्ति अर्को चाल शुरु गर्ने समय नआउँदासम्म मिलेर अघि बढ्नुको अर्को विकल्प थिएन । वास्तवमा केपी र प्रचण्ड भिड्दा मात्र होइन, मिल्दा पनि लडिरहेका हुन्छन् । माधव नेपाल, वामदेव र योगेशहरूको चरित्र देखेर चित खाएका प्रचण्ड पछिल्लो समयमा केपीको व्यवहार बदलिएको देखेर डबल चित परे !

पार्टीको आन्तरिक शक्ति सन्तुलनका आधारमा केपीबाट ‘एमाले’लाई एकीकृत तुल्याएर अघि बढ्ने प्रयास भएको बुझिन्छ । त्यसैले शक्तिहीन बनेका झलनाथ खनाल र वामदेव गौतमलाई भन्दा पार्टीभित्र आफूपछिको शक्तिशाली मानिएका नेता माधवकुमार नेपाललाई विश्वासमा लिएर केपी काम गर्न इच्छुक भएका थिए । वरीयताक्रममा झलनाथभन्दा माथि राख्नुको कारणलाई पनि माधवसँग मिलेर अघि बढ्ने इच्छाका रूपमा बुझ्न सकिन्छ । केपीले माधवकुमार नेपालसँग भएका गुप्त र एकल भेटवार्ताका क्रममा पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न नेपाललाई सहयोग गर्ने प्रतिबद्धता नजनाएका होइनन् ।

यति हुँदाहुँदै पनि तासको तुरूपझैँ ‘आफू दुवैतिर बार्गेनिङ गर्न सक्ने’ अवस्थामा रहेको ठान्ने माधव नेपाल सायद केपीको कृपाबाट भन्दा आफ्नै क्षमताबाट आर्जित हैसियतका साथ अघि बढ्न इच्छुक भए । प्रचण्ड र आफू दुवैसँग बार्गेनिङ गरिरहेको केपीलाई मन नपर्नु स्वाभाविक थियो । केपी ‘एक्स्ट्रिम क्यारेक्टर’का व्यक्ति हुन्, कोही पनि मानिस आफ्नो सच्चा मित्र बन्न सक्दैनन् भने बरु शत्रु भूमिकामै उभियून् भन्ने मानसिकता उनमा भेटिन्छ । प्रचण्ड त ‘शत्रु’ छँदै थिए, माधवको भूमिकासमेत शत्रुवत् देखिएपछि केपी एकपटक माधवलाई उनको आफ्नो औकात देखाइदिन अग्रसर भए । त्यसनिम्ति उनले सबैभन्दा पहिले पदप्यासले तड्पिरहेका वामदेव गौतमलाई आफूसँग मिलाए । माधवको निकट मानिने योगेश भट्टराईलाई सरकारमा सामेल गराए । माधव पक्षका भनिने र केही अन्य नेताहरूसँग छलफल गरी केपीले आफ्नो पक्षमा अनुकूल वातावरण बनाए । त्यसपछि प्रचण्डसँग समझदारी विकास गरे ।

कसलाई कसरी काबुमा लिन सकिन्छ भन्ने विषयमा केपी स्पष्ट थिए । त्यसैले जसले जे खोजेका छन् तिनलाई ‘त्यही’ दिएर आफ्नो पक्षमा ल्याउन केपी सफल भएका हुन् । प्रचण्डले खोजेको अध्यक्ष र प्रधानमन्त्री पद थियो, जुन केपी ओली दिन चाहँदैनन् ।

झलनाथ खनाल वरीयताक्रममा माधव नेपालभन्दा तल परेकोमा दुःखी थिए, उनलाई वरीयता मिलाउने वचन दिएर केपीले विश्वासमा लिए । संसद्मा प्रवेश गराउने र उपाध्यक्ष पद दिने वचनबद्धता मिलेपछि वामदेव गौतम पनि केपीकै पक्षमा उभिए । कसलाई कसरी काबुमा लिन सकिन्छ भन्ने विषयमा केपी स्पष्ट थिए । त्यसैले जसले जे खोजेका छन् तिनलाई ‘त्यही’ दिएर आफ्नो पक्षमा ल्याउन केपी सफल भएका हुन् । प्रचण्डले खोजेको अध्यक्ष र प्रधानमन्त्री पद थियो, जुन केपी ओली दिन चाहँदैनन् । जुन कुराले जसलाई खुसी तुल्याउँथ्यो त्यही दिएर योगेशदेखि वामदेवसम्मलाई खुसी तुल्याउने केपीले प्रचण्डलाई पनि ‘खुसी सन्देश’ थिए । आफ्नो स्वास्थ्य स्थिति खराब भएको सन्देशले प्रचण्डलाई खुसी तुल्याउँछ भन्ने केपीले बुझेका थिए । त्यसैले प्रचण्डलाई आफ्नो निवासस्थानमा बोलाएर केपीले आफू अस्वस्थ रहेको बताउँदै अब पार्टी र सरकार तपाईंले नै चलाउने हो भन्ने वाक्य कानमा पारिदिए । सधैँ आफ्नो स्वास्थ्य ठीकठाक रहेको बताइरहने केपीले प्रचण्डसमक्ष पहिलोपटक आफ्नो स्वास्थ्य खराब रहेको ‘सन्देश’ प्रकट गरेका थिए । केपीले दिएको यो ‘सन्देश’ले प्रचण्डलाई यति खुसी तुल्याइदियो कि पार्टी स्कुल विभागको जिम्मेवारी सुम्पन्न ईश्वर पोखरेललाई उनी सजिलै तयार भए ।

पार्टी सचिवालयको बैठक स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयलाई लिएर कैयन दिनदेखि अवरुद्धझैँ थियो । केपीले आफ्नो स्वास्थ्य बिग्रिएको ‘सन्देश’ दिएपछि प्रचण्ड ईश्वर पोखरेललाई स्कुल विभाग सुम्पने प्रस्ताव राख्न राजी भएका हुन् । केपी जसरी भए पनि स्कुल विभाग ईश्वर पोखरेललाई दिन चाहन्थे र, प्रचण्ड कुनै पनि हालतमा ईश्वरबाहेकलाई स्कुल विभागको जिम्मेवारी दिनुपर्छ भन्ने अडानमा थिए । केपीको ‘स्वास्थ्य सन्देश’पछि पैदा भएको खुसियालीमा प्रचण्ड स्कुल विभाग छोड्न मात्र तयार भएनन्, माधवकुमार नेपाललाई ‘कुखुराझैँ भुत्ल्याउने’ कार्यको पनि सहयोगी बनिदिए । केपीलाई पदमुक्त तुल्याउने आफ्नो योजनामा माधव इच्छाबमोजिम सहयोगी नबनेको पीडा शायद प्रचण्डमा हुँदो हो, त्यसैले प्रचण्ड माधवको हैसियत खसाल्ने कुराको साक्षी बनिदिए । अर्कोतिर ‘एमाले’ कित्ताभित्र पैदा हुने विवाद, तनाव र अन्तरसङ्घर्ष आफ्नो निम्ति उपयोगी हुने भएकोले पनि माधवलाई ‘रुझेको बिरालो’ बनाउने केपीको योजनामा प्रचण्ड मौन साक्षी बनिदिएका हुन सक्छन् ।

केपीको ‘स्वास्थ्य सन्देश’पछि पैदा भएको खुसियालीमा प्रचण्ड स्कुल विभाग छोड्न मात्र तयार भएनन्, माधवकुमार नेपाललाई ‘कुखुराझैँ भुत्ल्याउने’ कार्यको पनि सहयोगी बनिदिए । केपीलाई पदमुक्त तुल्याउने आफ्नो योजनामा माधव इच्छाबमोजिम सहयोगी नबनेको पीडा शायद प्रचण्डमा हुँदो हो, त्यसैले प्रचण्ड माधवको हैसियत खसाल्ने कुराको साक्षी बनिदिए ।

केपीले प्रचण्डलाई मात्र आफ्नो स्वास्थ्य खराब भएको बताएका होइनन्, वामदेवलगायत केपीनिकटका भनेर चिनिने प्रायः सबैले प्रचण्डलाई एकै प्रकारको सन्देश दिएका थिए । वामदेवले त तपाईं प्रधानमन्त्री बन्ने कि पार्टी अध्यक्ष भनेर प्रचण्डलाई रोजाउँदै दुईमध्ये एक पदमा आफू बस्ने बताउन थालेका थिए । यसरी धेरैतिरबाट केपीको स्वास्थ्यस्थिति कमजोर भएको सन्देश पाएपछि प्रचण्डले आफ्नो लगानीका र निकटका सञ्चारमाध्यममार्फत ओलीको स्वास्थ्यबारे नकारात्मक प्रचार गराउँदै आएका छन् । केपीले तत्कालका लागि प्रचण्डबाट सुरक्षित रहनका निम्ति प्रचण्डलाई आफ्नो स्वास्थ्य खराब भएको बताएका थिए, त्यही कुरा प्रचारमा ल्याएर प्रचण्डले अर्को राजनीतिक उद्देश्य पूरा गरिरहेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य खराब भएको सन्देशलाई व्यापक रूपमा विस्तार गरेपछि पार्टीका केन्द्रीय सदस्य, सांसद र अन्य कार्यकर्ताका साथै प्रहरी तथा प्रशासनसम्बद्ध व्यक्तिहरूसमेत आफूकहाँ लामबद्ध हुन आउँछन् भन्ने विश्वासका साथ प्रचण्ड यसप्रकारको प्रचारबाजीमा जुटेको बुझिन्छ ।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति कमजोर छ र, स्वास्थ्यले कुनै पनि बेला धोखा दिन सक्छ भन्ने जानकारी केपी स्वयम्लाई पनि हुनुपर्छ । उपचारार्थ सिङ्गापुर पुगेका ओली दुई साताको आसपासमा सकुशल स्वदेश फर्किने विश्वास उपचारमा संलग्न चिकित्सक तथा केपीका निकटवर्तीहरूले गरेका छन् । विश्वास गरेअनुसार केपी सकुशल स्वदेश फर्किएपछि प्रचण्डमा त्यसको कस्तो असर पर्ला, वर्तमानको सर्वाधिक तिक्त जिज्ञाशाको विषय यही बनेको छ । उपचारका निम्ति सिङ्गापुर जाने क्रममा केपीले आफ्नै सहकर्मीमाथि आफ्नो मृत्यु कामना गरेको आरोप लगाएका थिए, तर यो आरोप माधवतिर सोझ्याएर प्रचण्डतिर हानेको बुझ्नु कदापि गल्ती हुनेछैन । पार्टी एकीकरण भएको सवा एक वर्षपछि प्रचण्डले कुनै बैठकको अध्यक्षता गर्ने मौका पाएका छन्, एउटा बैठकको अध्यक्षता गर्ने अवसर पाउन त सवा एक वर्ष प्रतीक्षा गर्नुपर्ने प्रचण्डले केपीबाट अन्य मौका प्राप्त गर्न कति समय कुर्नुपर्ला, यो अर्को रोचक जिज्ञाशाको विषय हो । यसरी सानासाना मुद्दामा ठूला खेल खेल्ने कम्युनिस्ट नेताहरूले देशमा कुनै ठोस सकारात्मक योगदान पुऱ्याउन नसके पनि राजनीतिलाई रोमाञ्चक खेल बनाएर बौद्धिक समुदायलाई मनोरञ्जन दिइरहेका छन्, यसैमा चित्त बुझाएर नेपाली जनता दिन काट्न विवश छन् ।

प्रतिक्रिया