हरितालिका तीज पर्वको अवसरमा हेमाले गरिन् मोहक नृत्य

हरितालिका तीज पर्वको अवसरमा हेमाले गरिन् मोहक नृत्य


चर्चित अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी) की सांसद हेमा मालिनीले हरितालिका तीज पर्वको पूर्वसन्ध्यामा नृत्य प्रस्तुत गरेकी छिन् । ‘ड्रीम गर्ल्स’ हेमाले वृन्द्रावनमा आयोजित ‘झुलन उत्सव’ को उपलक्ष्यमा श्री राधा रमण मन्दिर परिसरमा मनमोहक नृत्य प्रदर्शन गरेकी हुन् । यो मन्दिर प्राचीन सप्तदेवालय मध्यमा एक मानिन्छ ।

हेमामालिनी एक कुशल क्लासिक नृत्याङ्गना हुन् । हेमाले ‘गोविन्द के यमुना तीरे धीर समीरे हसत खेल वनमाली’ गीतमा त्यहाँ क्लासिक नृत्य प्रदर्शन गरेकी थिइन् । हेमाको उक्त नृत्य हेर्न त्यहाँ हजारौँ दर्शकहरुको भीड लागेको थियो । हेमाले नृत्य प्रदर्शन गर्दा सुनको गहना, रंगीन चुरा र रातो लेहङ्गा लगाएकी थिइन् । वलिउडमा शुरुदेखि नै ड्रीम गर्ल्सको उपाधि पाएकी हेमा यो पहिरनमा निकै सुन्दर देखिएकी थिइन् ।

नेपालमा महिलाको महान् पर्वका रूपमा तीज मनाइए झैँ भारतमा पनि हरितालिका तीज पर्व मनाइन्छ । यो पर्वमा विवाहित महिला आफ्नो पतिको लामो आयुको लागि र अविवाहित महिलाहरू भगवान शिवजस्तै स्वामी पाउन सोह्र श्रृंङ्गार गर्दै ब्रत बस्छन् । यो पर्वमा सोह्र श्रृंङ्गार गर्दै भगवान शिव र माता पार्वतीको पूजाआजा गर्छन् ।