काङ्ग्रेस सच्चिने कि सिद्धिने ?

नेपाली काङ्ग्रेस सच्चिने कि सिद्धिने भन्ने काङ्ग्रेसका प्रमुख नेताहरू र युवा नेताहरूको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ ।





■ विजयसन्तोषी राई

नेपाली काङ्ग्रेस पार्टी फैलिएर मैलाउनुका साटो पार्टीभित्र गुटउपगुट मैलाउँदै झागिँदै गएको छ । नेताहरूचाहिँ बलियो बन्दै जानु पार्टीचाहिँ साँघुरिँदै र दुब्लाउँदै जानु सबैभन्दा विडम्बना भएको छ । परिवर्तनको हरेक आन्दोलनको सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेस इतिहासको अहिलेसम्मकै अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । यतिवेला काङ्ग्रेसले आफूलाई उचित ढङ्गले व्यवस्थापन गरी समाल्न सकेन भने स्वयम् काङ्ग्रेस र राष्ट्रको लागि अपूरणीय क्षति हुने खतरा बढेको छ । काङ्ग्रेस अहिलेको अवस्थामा आइपुग्ने मुख्य कारण स्थायी रूपमा गुट–उपगुटले संस्थागत रूप धारण गरी क्रियाशील भइरहनु नै हो । गुटउपगुट दह्रो हुनु पार्टीचाहिँ दिन प्रतिदिन कमजोर बन्दै जानु नै हो । यस अवस्थामा पुगेको काङ्ग्रेसलाई अब मार्ने कि बचाउन नेताहरूको हतमा छ, त्यसमा पनि बढी तन्नेरी युवा नेताहरूमा छ ।

जबसम्म काङ्ग्रेसमा स्थायी रूपमा रहेको गुटउपगुटलाई ध्वस्त बनाइँदैन तबसम्म काङ्ग्रेस कमजोर मात्र होइन गुटउपगुटले गर्दा सिद्धिन पनि सक्छ । काङ्ग्रेसलाई दह्रो बनाउन पहिलो चरणको जागरण अभियानले केही भूमिका निर्वाह गरेको छ । अब काङ्ग्रेसका तीनै तहका पुस्ताका नेताहरू मिलेर पार्टीभित्र शल्याक्रिया गरेर काङ्ग्रेसभित्र रहेको ठूलो रोग गुट–उपगुटलाई सदाका लागि काङ्ग्रेसले सम्पन्न गरेको पहिलो चरणको जनजागरण अभियानले पत्ता लगाएकाले अब हुने दोस्रो र तेस्रो चरणको जनजागरण अभियानमार्फत फाल्नुपर्छ । सिद्धिँदै साघुरिँदै मर्दै गएको पार्टीलाई जीवन्तता प्रदान गर्न सबै काङ्ग्रेसजनले अब हुने दोस्रो र तेस्रो चरणको जनजागरण अभियानलाई महत्वपूर्ण अवसरको रूपमा दिनुपर्छ । यसले मात्र काङ्ग्रेसको जागरण अभियानको औचित्य र सार्थकता हुने र पूर्णता पाउँछ ।

गुट–उपगुटको स्वार्थका कारण काङ्ग्रेसले आफूलाई रूपान्तरण गर्न र गति दिन नसकेको, हारको पीडालाई शक्तिमा बदल्न नसकेको र पार्टीमा आन्तरिक एकतासमेत कायम गर्न नसक्दा सडकदेखि सदनसम्म काङ्ग्रेस इतिहासमा नै कजमोर भएको देखिन्छ ।

पार्टीका नेताहरूमा व्यवस्था परिवर्तन भए पनि व्यवहार परिवर्तन नहुनु, नीति र नियम परिवर्तन भए पनि नियत र नेतृत्व परिवर्तन हुन नसक्नु, सरकार परिवर्तन भए पनि संस्कार र संस्कृति परिवर्तन नहुनु नै काङ्ग्रेसभित्रको अर्को मूल समस्या हो । 

नेपाली काङ्ग्रेस अब सच्चिने कि सिद्धिने भन्ने काङ्ग्रेसका प्रमुख नेताहरू र युवा नेताहरूको अबको कार्यशैली र सोच अनि भूमिकामा निर्भर रहन्छ । अहिलेको पहिलो पुस्ता र युवा पुस्ताले काङ्ग्रेस कमजोर भएका कारणहरूलाई विश्लेषण गरेर बीपीको जस्तो विचार र दूरदर्शिता, सुवर्णशमशेरको जस्तो मन, गणेशमानको जस्तो त्याग र समर्पण, कृष्णप्रसाद भट्टराईको जस्तो सादगी र निस्वार्थीपन र गिरिजाप्रसाद कोइरालाको जस्तो क्रान्तिकारितापन व्यवहारमा उतार्दै सबैभन्दा पहिला म बदलिन्छु, हामी बदलिन्छौँ र काङ्ग्रेसलाई बदल्छौँ भन्ने नयाँ सोच, चिन्तन र विचारका साथ काम गर्दै अगाडि बढ्नुपर्छ ।

विधानकै कार्यान्वयनस्वरूप नेपाली काङ्ग्रेसकै नेतृत्वमा पार्टीका सभापति शेरबहादुर देउवाको नेतृत्वमा २०७४ सालमा सङ्घीय प्रतिनिसभा, प्रदेश सभा र स्थानीय तहको पनि निर्वाचन सफलतापूर्वक र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरेको सफल इतिहास पनि काङ्ग्रेससँग छ ।
राणाले र राजाले मास्न नसकेको काङ्ग्रेस र माओवादीले घाँटी रेट्दा पनि नसिद्धिएका काङ्ग्रेस एकपटक निर्वाचन हार्दैमा सिद्धियो भन्नु मूर्खता मात्र हो ।

काङ्ग्रेसलाई मुलुकै सबैभन्दा ठूलो शक्तिशाली र जनताको प्रिय पार्टी बनाउन काङ्ग्रेसभित्र तीव्र रूपमा मौलाउँदै संस्थागत रूपमा रहेको स्थायी गुट–उपगुटलाई अन्त्य गर्न १४औँ महाधिवेशनमा गुटउपगुटरहित सर्वसम्मत नेतृत्व केन्द्रदेखि प्रदेश, जिल्ला स्थानीय तह र वडा तहसम्म चयन गर्नुपर्छ । त्यसका लागि पहिलो विकल्प काङ्ग्रेसभित्र रहनुभएका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान श्रेष्ठ पहिलो पुस्ता अनि बीचको पुस्ता शशांक कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, रामशरण महत, प्रकाशशरण महत, बालकृष्ण खाण, रमेश लेखकलगायतका पुस्ता र तेस्रो तन्नेरी पुस्ता चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगन थापा, शंकर भण्डारी, गुरुराज घिमिरे, प्रदीप पौडेललगायतको तीनै पुस्तालाई मिलाएर पदाधिकारीमा बाँडफाँड गरी महत्वपूर्ण जिम्मेवारीहरू प्रदान गर्नुपर्छ ।

अहिले राजावादीदेखि कम्युनिस्टहरूसम्म काङ्ग्रेसले हिँडेको बीपीले तय गर्नुभएको लोकतान्त्रिक बाटो ठीक छ भनी निर्विकल्प रूपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अत्य भई संविधानको कार्यान्वयनका साथ नयाँ राजनीतिक युगको आरम्भसँगै आर्थिक क्रान्तिको शुभारम्भ भएको छ ।

दोस्रो विकल्प दोस्रो र तेस्रो तन्नेरी पुस्तालाई नेतृत्व गर्न दिएर अहिलेको पहिलो पुस्ता पार्टी र देशका लागि अभिभावक भएर प्रधानमन्त्री होइन राष्ट्रपति हुने सपना देख्नुपर्छ । अन्तिम विकल्प अहिलेको तन्नेरी पुस्ता जो पार्टीमा तेस्रो पुस्ताको रूपमा चर्चित छन् उनीहरूलाई पार्टीको नेतृत्व सर्वसम्मत रूपमा केन्द्रदेखि वडा तहसम्म सुम्पिने अनि केन्द्रदेखि स्थानीय तहसम्मको सरकारको समेत नेतृत्व एकपटकका लागि दिने घोषणा गर्ने र पहिलो तथा दोस्रो पुस्ताका नेताहरू एकपटक अभिभावक भएर अभिभावकत्व ग्रहण गर्ने र उहाँहरूलाई आगामी राष्ट्रपतिको रूपमा घोषणा गरी नयाँ ढङ्गबाट पार्टी सङ्गठनमा सशक्त र सक्रियपूर्वक लाग्नुपर्छ ।

काङ्ग्रेसले यस्तो महत्वपूर्ण र ऐतिहासिक निर्णय गर्ने साहस गरेमा राजनीतिभन्दा बाहिर रहेका ठूलो पङ्क्ति काङ्ग्रेसतर्फ आकर्षित हुने र काङ्ग्रेसबाहेक अन्य पार्टीहरूलाई मतदान गरिरहेका मतदाताले पनि विकल्प सोच्न बाध्य हुने अनि पहिलोपटक मतदान गर्न लागेका तन्नेरी मतदाताले पनि तन्नेरीहरूले नेतृत्व गरेको पार्टीलाई देशको पनि नेतृत्व दिन मतदान गर्न उत्साहित हुनेछन् । गौरवपूर्ण इतिहास भएको काङ्ग्रेसको सफल वर्तमान बन्छ र भविष्य पनि सुनिश्चित हुने भएकोले काङ्ग्रेसका यी विकल्पहरूबाट काङ्ग्रेस सिद्धिने होइन, सच्चिन सक्छ । जागरण अभियानमार्फत यी विकल्पहरूबारे पनि व्यापक छलफल गरी १४औँ महाधिवेशनमा ती विकल्पमध्ये उचित विकल्पलाई प्रयोग गर्नसमेत मेचीदेखि महाकालीसम्मका र हिमाल, पहाड, मधेस र तराईसम्मका काङ्ग्रेसजनलाई तयार बनाउनुपर्छ । महासागर भएको काङ्ग्रेस नदी हुँदै खोला हुन लागेकोले अब काङ्ग्रेसलाई खोलाबाट महासागर बनाउन सबै काङ्ग्रेसी एकजुट भएर लागौँ ।

यसका लागि नयाँ परिवेशमा पार्टीको सङ्घीय विधान पारितसँगै राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, समाजवादको सन्दर्भमा समेत २१औँ शताब्दीअनुसारको नयाँ युगका लागि पुनव्र्याख्याका साथ पुनर्लेखन गर्नुपर्छ । आर्थिक, सामाजिक र छिमेकी मित्रदेशहरूको सम्बन्धबारे पार्टीको सबै विषयमा सैद्धान्तिक तथा वैचारिक दस्तावेज अहिलेको युग र पुस्तालाई सुहाउँदो पुनर्लेखन गरी नयाँ ढङ्गबाट पार्टीलाई पुनर्सङ्गठित गरी आगामी निर्वाचनमा देशकै पहिलो, ठूलो र शक्तिशाली जनताको प्रिय आधुनिक काङ्ग्रेस पार्टी बनाउन सकिन्छ ।

नेपाली काङ्ग्रेसलाई अगाडि बढाउन र सशक्त बनाउन अब अभिभावकहरूको अनुभव तथा सल्लाह र आशीर्वादबाट मात्र सम्भव हुन्छ । युवा तन्नेरी, मध्यम र पाका अभिभावकहरू गरी तीनै पुस्तालाई मिलाएर र आदिवासी जनजाति महिला दलित अपाङ्गहरूलाई पनि पार्टी नेतृत्वमा समायोजन गरी पार्टीका पदाधिकारी तहसम्म निर्णायक ढङ्गबाट सहभागी गराई पार्टीलाई पूरै रूपान्तरण गर्नुपर्छ । अहिले राजावादीदेखि कम्युनिस्टहरूसम्म काङ्ग्रेसले हिँडेको बीपीले तय गर्नुभएको लोकतान्त्रिक बाटो ठीक छ भनी निर्विकल्प रूपमा स्वीकार गरिसकेको अहिलेको अवस्थामा नेपालमा पुरानो युगको अत्य भई संविधानको कार्यान्वयनका साथ नयाँ राजनीतिक युगको आरम्भसँगै आर्थिक क्रान्तिको शुभारम्भ भएको छ ।

विशेषगरी युवा नेताहरूले पनि पार्टी नेतृत्वलाई खबरदारी गरी गलत निर्णयहरूलाई सुधार्न लगाउनुभन्दा पनि त्रय नेताहरूकै चाकडी तथा चाप्लुसी गरी विभिन्न गुट तथा उपगुटहरूमा विभाजित भई नेतृत्वमा जाने, टिकट लिने, सत्तामा जाने मात्र प्रमुख ध्यान राखेका कारण पनि पार्टीले अहिलेको हविगत व्यहोर्नुपऱ्यो। त्यसले गर्दा युवा नेताहरूले पनि हारको दोष र जिम्मेवारी दिँदै अब पार्टीलाई पहिलो बनाउन युवा पुस्ता बढी जिम्मेवार र सक्रिय हुनुपर्छ ।

त्यसैले युग परिवर्तनसँगै अब नेपाली काङ्ग्रेसका नेताहरूले सबैभन्दा पहिले आफू सच्चिएर काङ्ग्रेसलाई सच्याउन सङ्कल्पका साथ नयाँ नीति र कार्यक्रमका साथ आफ्नो सिद्धान्तको पुनर्व्याख्या गर्दै सङ्गठनको पुनर्निर्माण गरी २१औँ शताब्दीको भारी बोक्न सक्ने आधुनिक काङ्ग्रेसको निर्माण गर्न पहिलो कर्तव्य हो । पहिलो चरणको जनजागरण अभियानबाट पत्तो लागेको काङ्ग्रेसको रोग गुट-उगुटलाई काङ्ग्रेसले दोस्रो र तेस्रो चरणको अब हुने जनजागरण अभियानमार्फत जरैदेखि फालेर काङ्ग्रेसीहरूले काङ्ग्रेसलाई नबदल्ने हो भने काङ्ग्रेस प्रजापरिषद् र गोर्खा परिषद्जस्तै इतिहासमा मात्र सीमित हुन सक्छ, त्यसैले नेतृत्वमा रहनुभएका सबै नेता र तन्नेरी युवा नेतासमेत बेलैमा यसतर्फ अविलम्ब ध्यान पुऱ्याउनुपर्छ ।

पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला र युवा तथा तन्नेरी नेताहरूले अब हुने दोस्रो र तेस्रो जनजागरण अभियानमार्फत माथिका तीन विकल्पहरूमध्ये कुनै एक विकल्प प्रयोग गरेर अगाडि बढी काङ्ग्रेस बाँच्न सक्छ नत्र काङ्ग्रेसलाई यही यथास्थितिमा राखिराख्ने हो भने काङ्ग्रेस सशक्त हुनुको साटो आफैँ समाप्त भएर जान सक्छ । अब काङ्ग्रेसलाई मार्ने कि बचाउने र काङ्ग्रेस अनि काङ्ग्रेस सच्चिने कि सिद्धिन भन्ने पहिलो पुस्ता र युवा तन्नेरी पुस्ताको हातमा छ ।
[email protected]

(लेखक धनकुटा काङ्ग्रेसका जिल्ला सचिव तथा सहिद स्मृति प्रतिष्ठानका महासचिव हुन् ।)

प्रतिक्रिया