नेतृत्वको खस्किँदो मनोबल

जागृत जनता !





खास घटना–सन्दर्भका कारण पछिल्लो सात दिनको अवधि आन्तरिक राजनीतिको दृष्टिले विशेष अर्थपूर्ण बनेका छन् । शासकीय कमजोरीसँगै आमनागरिकमा बढ्दो असन्तुष्टिले दिनहुँ केही न केही घटना–परिघटना त पैदा गर्ने गरेकै छ, यस अलावा विशेष बन्न पुग्यो सञ्चारकर्मी रवि लामिछानेको समर्थनमा देशव्यापी रूपमा उर्लिएको जनलहर र त्यसको परिणतिस्वरूप भएको उनको रिहाइ । यस्तै, रवि–प्रकरणका कारण ओझेलमा परेको अर्को महत्वपूर्ण प्रसङ्ग थियो– सत्तारुढ नेकपानिकट एक संस्थाद्वारा गत शुक्रबार (भदौ ६ गते) आयोजित कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्ति, जहाँ उनले दिएको अभिव्यक्तिको सार थियो– ‘कम्युनिस्टहरू पनि राजा–महाराजा हुन खोजेका छन्, राजा लखेटेका जनताले अब कम्युनिस्ट लखट्नेछन् ।’ यी दुवै सन्दर्भ वर्तमान राजनीतिक परिवेशमा अर्थपूर्ण छन् ।

रविको गिरफ्तारी र रिहाइले गरेको सङ्केतबाट शुरु गरौँ । पूर्वसहकर्मीद्वारा कथित आत्महत्याअघि दिइएको अभिव्यक्तिका आधारमा जुन शैलीबाट रवि लामिछानेलाई पक्राउ गरिएको थियो, त्यसमा शासन–सत्ताका शक्तिशाली पात्रविशेषको दुराशयी आकाङ्क्षाको गन्ध मिसिएको अनुभूति सर्वत्र गरियो । निरङ्कुशतालाई शासनको हतियार तुल्याउन खोज्नेले आफ्ना आलोचक तथा जनप्रिय व्यक्ति–व्यक्तित्वलाई जालझेल तथा यावत् प्रपञ्च रचेर फसाउन खोज्ने, दुःख दिने र भौतिक रूपमै नष्ट गर्न खोज्ने दुष्प्रवृत्ति विश्वमा नदेखिएको–नसुनिएको विषय होइन । विडम्बनाका साथ स्वीकार गर्नैपर्छ कि यस्तै खतरनाक प्रवृत्ति बेलाबखत हामी आफ्नै परिवेशमा महसुस गर्न अभिशप्त छौँ । गरिब, शोषित, उत्पीडितको नाममा राजनीतिक खुड्किला उक्लिएर सत्ताको शिखर चढेका सीमित पात्रविशेष आज समस्त नेपालीले लाज मान्नुपर्ने गरी जनघाती/देशघाती चरित्र चरितार्थ गर्दै छन् । हिजोका सामन्त बिर्साउने गरी महासामन्तको रूपमा ती आफूलाई स्थापित गर्न तल्लीन छन् । अतीतका राजा–महाराजाका किस्सा नै ओझेल पार्ने ढङ्गले ‘महासामन्त’मा रूपान्तरण हुँदै गरेका पात्रहरूलाई लामिछानेजस्ता आमतप्काबाट सह्राइएका व्यक्तिको जनमैत्री कर्म एवम् तिनको लोकप्रियता स्वभावतः असैह्य विषय बन्न पुग्छ । लामिछानेको गिरफ्तारीलाई निकै हदसम्म यही शासकीय प्रवृत्तिसँग जोडेर अथ्र्याउँदा अनर्थ ठहरिने छैन ।

आफूलाई सर्वशक्तिमान ठान्ने नेतृत्वमा थोरै मात्र पनि विवेक बाँकी छ भने पक्कै महसुस गर्न सक्छन् कि व्यवस्था सही चलिरहेको छैन, अवस्था साँच्चै बिग्रिसकेको छ, जनता कुनै पनि बेला विद्रोहमा उत्रिन सक्छन् ।

हो, कानुनी दायरामा प्रवेश गरेको कुनै पनि घटना–सन्दर्भलाई कानुनी बाटोबाटै टुङ्ग्याइनुपर्ने लोकतान्त्रिक अभ्यासविपरीत अराजक ढङ्गले समाधान खोज्ने प्रवृत्ति अत्यन्त घातक हुन सक्छ, जो लामिछाने–प्रकरणका क्रममा पैदा भएको आक्रोशित जनउभारमार्फत महसुस गर्न सकिन्छ । तर, यसको अर्को पाटोचाहिँ महत्वपूर्ण छ, त्यो हो– जनताको हितमा काम गर्न नसक्ने शासकहरूकोे मन–मुटु थर्काउनु ! जनताले चाहे कस्तै शासक वा शासन व्यवस्था पनि उल्टाइदिन सक्छन् र वर्तमान सरकार वा शासन पनि यस्तै नियतिको हकदार बनिसकेको छ, राजनीतिक दलहरूप्रति जनताको आस्था एवम् विश्वास रसातल पुग्ने गरी खस्केको छ र आफूलाई गणतन्त्रका मसिहा ठान्ने नेताहरू अलोकप्रियताको उत्कर्षमा पुगेका छन् भन्ने स्पष्ट सन्देश दिएको छ यस प्रकरणले ।

यसै प्रकरणसँग जोड्न सकिन्छ उपर्युल्लिखित प्रचण्ड–अभिव्यक्तिको प्रसङ्गलाई पनि । दुई साताअघिसम्म ‘राजा–महाराजा’लाई चुनौती दिने प्रचण्डको मनोबल खर्लप्पै उल्टिएको छ । आफूलाई सर्वशक्तिमान ठान्न थालेका उनी एक्कासि सपनाबाट ब्युँझिएजस्ता प्रतीत हुँदै छन् । सिङ्गै नेपाल र नेपाली आफ्नै मुट्ठीमा रहेको अभिमानबाट उनी एकाएक थचारिएका छन् । र, आफूलाई सर्वशक्तिमान ठान्ने नेतृत्वमा थोरै मात्र पनि विवेक बाँकी छ भने पक्कै महसुस गर्न सक्छन् कि व्यवस्था सही चलिरहेको छैन, अवस्था साँच्चै बिग्रिसकेको छ, जनता कुनै पनि बेला विद्रोहमा उत्रिन सक्छन् । सम्भवतः प्रचण्डमा पनि यथार्थप्रतिकोे चेत र विवेक थोरै बाँकी नै छ, र त उनी अभिव्यक्त हुन थालेका छन्– ‘राजा–महाराजा फाल्ने जनताले कम्युनिस्टलाई पनि लखेट्न सक्छन् ।’

पक्कै हो, समय त धेरै खेर गइसकेको छ र पनि सच्चिएर देश र जनताको पक्षमा कर्म गर्ने थोरै मौका अझै बाँकी नै छ । फरक विचार राख्ने पनि नेपाली नै हुन्, कुनै पनि सरकारले आफ्ना नागरिकलाई आस्था वा विचारको आधारमा पनपक्षी व्यवहार गर्न मिल्दैन । मुलुकको ऐतिहासिक सम्पदा, धर्म–संस्कृति, रीति–रिवाजको समुचित कदरका साथ जनताको विश्वास जित्दै भरोसाको केन्द्र बन्न सक्नु वर्तमान शासक तथा सरकारको निम्ति निर्विकल्प कर्तव्य हो । यत्ति महसुस गरेर कर्म बदल्न नसक्ने हो भने जनताबाट साँच्चै लखेटिने दिन अब कुनै पनि बेला आइपर्छ, हेक्का रहोस् ।

प्रतिक्रिया