किन बढ्दै छ आत्महत्या ?

किन बढ्दै छ आत्महत्या ?


■ बबिता बस्नेत

यदि मृत्यु नहुँदो हो त मानवबस्ती कस्तो हुने थियो होला ? अनुमान मात्र गर्न सकिन्छ । मृत्युबिनाको जीवन कल्पना मात्र गर्दा पनि कुरूप घनाबस्ती आँखाअगाडि आउँछ । मैले एक दिन मर्नुपर्छ भन्ने जानकारी हुँदा त मानिसहरूबीच तँछाड–मछाड यस्तो छ, मर्नै नपर्ने भए त झन् के हुन्थ्यो होला ? हरेक मानिसको जीवनमा मृत्यु अपरिहार्य छ, त्यसैले त मृत्युलाई जिन्दगीको अन्तिम सत्य पनि भनिन्छ । अघिपछिको कुरा मात्र हो, मृत्युले कसैलाई छोड्दैन । मृत्यु निश्चित हुँदाहुँदै पनि कहिले हुन्छ भन्ने अनिश्चित भएकाले जिउँदोजाग्दो अवस्थामै मरूँ भन्ने सोच राख्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । जीवनदेखि हैरान भएर आत्महत्या गर्नेहरूको सङ्ख्या हामीकहाँ दिन प्रतिदिन बढिरहेको छ । हामीकहाँ मात्र होइन, आत्महत्या विश्वव्यापी रूपमै बढ्दै गएको तथ्याङ्कहरूले देखाएका छन् ।

आत्महत्यालाई पनि महिलामाथि हुने हिंसालाई झैं विश्वव्यापी आश्चर्यको रूपमा लिने गरिएको छ । यो जता पनि छ, धनी, गरिब, शिक्षित, अशिक्षित, कुनै पनि जात, क्षेत्र, वर्ग, समुदाय, जहाँ पनि र कुनै पनि बेला । युरोप, अमेरिका, एसिया, दक्षिण एसिया सबैतिर नै आत्महत्याका घटना बढिरहेका छन् । आश्चर्यजनक कुरा त के छ भने विश्वको खुसीको सूचीमा एसियामै पहिलो नम्बरमा रहेको भुटानमा समेत यो वर्ष आत्महत्या बढेको देखिएको छ । आर्थिक रूपले सम्पन्न मानिने फिनल्यान्ड, नर्वे, डेनमार्कमा आत्महत्याको ग्राफ बढ्दो छ । आत्महत्या किन हुन्छ ? किन बढिरहेको छ भनेर विश्वमा धेरै अनुसन्धान भएका छन । ती रिसर्चले यसै कारणले हो भन्ने स्पष्ट निर्क्योल भने निकाल्न सकेका छैनन् । तर, एकपल्ट आत्महत्या गर्न खोजेको व्यक्तिले फेरि पनि कोसिस गर्ने गरेको भेटिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनदेखि स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा युनिभर्सिटीहरूले आत्महत्यालाई लिएर रिसर्च गरेका छन् । रिसर्चका क्रममा डिप्रेसन आत्महत्याको मुख्य कारण भेटिएको छ । डिप्रेसन के कारणले हुन्छ त ? भन्दा डिप्रेसनको मुख्य कारण तनावलाई मानिएको छ । जीवनमा गढेर रहेको पुरानो घाउ जस्तो यौनहिंसा, बलात्कार, युद्धको दृश्य देखेकाहरू, युद्धमा आँखैअगाडि बाबुआमा या छोराछोरीको मृत्यु व्यहोरेकाहरू, लागूऔषध, मदिरा, सम्बन्धमा खटपट, आर्थिक लेनदेन या गरिबीलगायतका कुराले मानिसलाई डिप्रेसनतर्फ धकेल्छ । यी विविध कारणले जीवनमा आशा हराउँदै गएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

जीवनको कुनै न कुनै मोडमा आत्महत्या गरूँ कि के हो भन्ने सोच आउँछ भनिन्छ । मानिस हो, सोचहरू अनेक आउँछन्, कहिलेकाहीँ त्यसै पनि जिन्दगी बिर्सन गरूँ गरूँ जस्तो हुन्छ । सम्हाल्ने त आफूले आफैँलाई नै हो ।

कतिपय मानिस भन्छन्– आत्महत्याको कारण गरिबी हो, तर अध्ययनले गरिबभन्दा धनी मुलुकहरूमा बढी आत्महत्या हुने गरेको देखाएको छ । सन् २००७ मा नर्वे गएका बेला एकजना साथीले यो पङ्क्तिकारलाई साँझको खानामा बोलाएका थिए । उनकी पत्नी त्यहाँ हेल्थ म्यागेजिनकी सम्पादक रहिछिन् । उनले हातमा दिएको मोटो साप्ताहिक पत्रिका पल्टाउँदै मैले यस्तो पत्रिका चलाउँदा तपाईंहरूलाई आइपर्ने समस्या के हो भनेर सोधेँ । उनले हामीकहाँ यति धेरै विज्ञापन आउँछ कि सबै विज्ञापन हामी छाप्न सक्दैनौँ, विज्ञापनको व्यवस्थापन नै हाम्रो समस्या हो भनिन् ।

यता पत्रिकाका लागि विज्ञापन नपाएर आर्थिक समस्या भोगिरहेका हाम्रा लागि त्यो रोचक समस्या थियो । नर्वेजियन भाषाको पत्रिका हेर्दै मैले भनेँ– खास विज्ञापनचाहिँ केको आउँछ नि ? उनले भनिन्– डिप्रेसनको औषधिको । डिप्रेसनका रोगी बढेसँगै नर्वेमा डिप्रेसनका औषधि उद्योगहरू धमाधम खुल्न थालेछन् । औषधि उत्पादन गरेपछि त्यहाँ अखबारमा विज्ञापन छपाएर तिनका राम्रा र नराम्रा पक्षबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने सरकारी नियम रहेछ । औषधि केले बनेको छ, कसरी काम गर्छ र यसका साइडइफेक्टहरू के–के हुन् जस्ता कुरा जनताको सूचनाको हकअन्तर्गत पर्दा रहेछन् । त्यसैले कम्पनीले आफ्नो उत्पादनहरूको विज्ञापन अनिवार्य रूपले गर्नुपर्दो रहेछ । नर्वेमा मानिसलाई यति धेरै डिप्रेसनचाहिँ किन भएको ? भनेर सोधेकी थिएँ । उनले आर्थिक समस्या छैन, सबै कुरा पुगेको छ, त्यसैले रिलेसनसीपलगायतका समस्या बढेका छन् भनिन् । त्यसपछि मलाई ओहो जिन्दगी धान्नका लागि दौडधुप गर्दागर्दै अरू कुरा सोच्नै नपाउने हाम्रै अवस्था ठीक भन्ने लागेको थियो ।

अशिक्षितमा भन्दा शिक्षितमा यो सङ्ख्या बढी छ । मानिसको जीवन सपनाहरूले भरिएको हुन्छ । यो गरूँ, त्यो गरूँ, यहाँपछि त्यहाँ जाऊँ, यति भएपछि अब मलाई पुग्यो भन्ने मानिसहरू कमै देखिएका, भेटिएका छन् । चाहे त्यो पैसाका सन्दर्भमा होस् या नाम वा पदका सन्दर्भमा । पैसा नहुँदा मसँग पैसा भए हुन्थ्यो जस्तो लाग्ने र पैसा भएपछि नाम–सम्मान चाहिने शायद मानवीय प्रवृत्ति नै हो । ठूलाठूला व्यापारीहरूको मिडियामा लगानी या राजनीति प्रवेशको कारण यही नाम, मान सम्मानको चाहनासँग जोडिएको छ ।

पत्रिकाका लागि विज्ञापन नपाएर आर्थिक समस्या भोगिरहेका हाम्रा लागि त्यो रोचक समस्या थियो । नर्वेजियन भाषाको पत्रिका हेर्दै मैले भनेँ– खास विज्ञापनचाहिँ केको आउँछ नि ? उनले भनिन्– डिप्रेसनको औषधिको ।

मानवीय आकाङ्क्षाहरूको व्यवस्थापन गर्न त्यति सहज छैन । गौतम बुद्धले आफ्ना चेलाहरूलाई सन्न्यास लिने बेलामा तीन महिना घाटमा बस्न लगाउनुहुन्थ्यो रे । तीन महिनासम्म मानिसका लास हेरेर, चितामा लास जलेको देखेर जीवनको सत्य उनीहरूले थाहा पाउन् भनी उनीहरूलाई त्यसरी घाटमा पठाइने गरिन्थ्यो । तीन महिनासम्म घाटमा बसेर महत्वाकाङ्क्षा शून्यमा झरेपछि बल्ल उनीहरू सन्न्यास लिनका लागि योग्य हुन्थे रे । महत्वाकाङ्क्षा र जीवनको वास्तविकताबीच ठूलो अन्तर छ ।

धेरैजसो घटनामा आफ्ना महत्वाकाङ्क्षाको व्यवस्थापन गर्न नसकेर मानिसले आत्महत्या गरेका छन् । आफूवरिपरिको वातावरण जब सही लाग्न छोड्छ त्यसपछि मानिसमा विरक्ति छाउने गर्छ । जीवनको कुनै न कुनै मोडमा आत्महत्या गरूँ कि के हो भन्ने सोच आउँछ भनिन्छ । मानिस हो, सोचहरू अनेक आउँछन्, कहिलेकाहीँ त्यसै पनि जिन्दगी बिर्सन गरूँ गरूँ जस्तो हुन्छ । सम्हाल्ने त आफूले आफैँलाई नै हो । आफूले आफैँलाई सम्हाल्नु जिन्दगीमा ठूलो कुरा हो । आफूले आफैँलाई अन्त्य गर्ने कुरालाई आत्महत्या नाम दिइए पनि आत्माको मात्र नभएर शरीरको पनि हत्या हुने गर्छ । आत्महत्या र बाँच्ने चाहनाबीचको अन्तरविरोधचाहिँ के हो भने मानिसमा धेरै कुरामा असमानता भए पनि बाँच्न चाहने कुरामा प्रायः समानता नै देखिन्छ । हरेक मान्छे सकेसम्म जिन्दगीको अन्तिम सास फेर्दासम्म पनि बाँच्न चाहन्छ । वृद्धावस्था हुँदै गएपछि बाँच्ने चाहना झन् बढ्छ भनिन्छ । यस अर्थमा आत्महत्या आमकुरा भने होइन ।

पछिल्लो आँकडालाई हेर्दा धेरैजसो मानिसले मूलतः दुई कारणले आत्महत्या गरेको देखिन्छ, आर्थिक अभाव र सम्बन्धमा समस्या । यी दुई कुराले धेरै मानिसको ज्यान लिएको छ । नेपालमा आत्महत्याको कारणबारे अनुसन्धान गर्ने कानुन थिएन । अहिले मुलुकी संहिताले आत्महत्या दुरुत्सानका लागि भनेर कानुन ल्यायो जसअनुरूप दोषी प्रमाणित भएमा पाँच वर्षसम्म जेल सजाय हुन सक्छ । कानुन आफैँमा नराम्रो छैन, तर यसको अभ्यासमा बदलाको भावना भयो भने निर्दोष मानिस फस्ने सम्भावना पनि त्यत्तिकै छ ।

कानुनको प्रयोग कसैलाई फसाउन नभएर पीडितलाई न्याय दिनका लागि हुनुपर्छ । अहिले सामाजिक सञ्जाल र प्रविधिले मानिसलाई जुरुक्क उठ्दै रिसले मुर्मुरिँदै उठ्ने बनाइरहेको छ । ओछ्यानमै बसेर फेसबुक, ट्विटर, युटुबलगायतका सोसियल मिडिया हेरेर मुस्कुराउनेभन्दा इरिटेट हुने नै बढी देखिन्छन्/भेटिन्छन् । समयक्रममा सोसियल मिडिया र प्रविधि पनि आत्महत्याको कारण बन्दै छ, बनिरहेको छ ।